Advertisement

तमोर नदीमा बन्न लागेको पुल १२ वर्षदेखि अलपत्र

0 8

Advertisement

०२ पुस, म्याङलुङ । तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न तमोर नदीमाथि लुबुघाटमा पुल बनाउन सुरु गरेको १२ वर्ष भयो। तर अझै निर्माण सम्पन्न हुने सकेको छैन।

पुलको एउटा छेउबाट पिलर निर्माण गरेर ढलान पनि गरिएको छ। तर नदीको बीच भागमा बनाउनुपर्ने पिलर बनेको छैन। उक्त पुल बन्न कति समय लाग्छ केही टुङ्गो छैन।

पुल निर्माण नहुँदा पाँचथरको कुम्मायकवासीले हप्तैपिच्छे पिठ्युँमा सामग्री बोकेर ७/८ घण्टाको बाटो हिँडेर तेह्रथुमको म्याङलुङस्थित शुक्रबारे हटिया पुग्नुपर्ने बाध्यता छ। तेह्रथुमको म्याङलुङदेखि धरान जान वसन्तपुर, सिधुवा, हिले, धनकुटा हुँदै घुमेर एक सय १६ किलोमिटर पहाडै पहाडको यात्रा गर्नुपर्ने अवस्था छ। पुल बनेपछि सिधै तमोर करिडोरको बाटोबाट त्यसको आधा समयमै धरान पुग्न सकिन्छ।

पाँचथरको कुम्मायक गाँउपालिकाको नजिकको हटिया तेह्रथुमको म्याङलुङ हो। गाउँमा उत्पादित वस्तु म्याङलुङको शुक्रबारे हटियामा बेच्न लगिन्छ। म्याङलुङबाट साबुन, नुन, तेल, लत्ताकपडालगायत पिठ्युँमा बोकेरै घर फर्किनु पर्छ। कुम्मायकका बिजुवापानी, यासोक, खाल्डे, सिम्ले, स्यावरुम्बा, भुल्केलगायत गाउँबाट दाल, बदाम, मकै, कुखुरा तथा सुगुरका पाठा लुबुघाटदेखि बिजुवापानी, सिकारीथुम्काको उकालो हिँडेर म्याङलुङ पुग्नुपर्ने बाध्यता छ।

‘पुल बने उकालोमा भारी बोक्नुपर्दैन भन्ने सोचेका थियौँ, त्यो अनुभूति हुनै सकेन,’ कुम्मायक गाउँपालिका बिजुवापानीदेखि म्याङलुङ शुक्रबारे हटियामा बदाम बेच्न आएका रमेश थापाले भने।

२०६८ असारमा स्वच्छन्द निर्माण सेवा कम्पनीसित १३ करोडमा पुल निर्माणको सम्झौता भएको थियो। पुल २०७२ असारसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो। ३ मिटर चौडाइ तथा १५७ मिटर लम्बाइको उक्त पुलको अहिलेसम्म ५० प्रतिशत मात्र काम सकिएको सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख रामकुमार देवले बताए। ‘५ वटा पिलर बन्नुपर्नेमा ४ वटा मात्र निर्माण गरिएका छन्। विसं २०८१ असार मसान्तसम्मका लागि निर्माणको म्याद थप गर्दैछौँ,’ उनले भने।

पुल निर्माण थाल्दा म्याङलुङदेखि पुलसम्म पुग्ने सडक नभएको र सडक खन्न समय लागेको, भूकम्प, कोरोना महामारीलगायत समस्याले पुल निर्माणले गति लिन नसकेको स्वच्छन्द निर्माण कम्पनीका प्रतिनिधि अजय लामिछानेले बताए। पटक–पटक म्याद थप्दा पनि पुल निर्माण सम्पन्न नभएको भन्दै म्याङलुङका अर्जन ढुङ्गाना र लालीगुराँस नगरपालिकाका डिकबहादुर कार्कीले अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए।

म्याङलुङवासीले तमोरको पुल बनाउनका लागि दबाब दिन समिति निर्माण गरी म्याङलुङ नगरपालिका र जिल्ला प्रशासन कार्यालय तेह्रथुमलाई दबाब दिँदै आएका छन्। पुल निर्माणका लागि दबाब दिन सरोकारवालाले प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललाई समेत ध्यानाकर्षण पत्र बुझाएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.