Advertisement

कात्तिक नाचको दोस्रो दिन आज बाथ :प्याखँ मञ्चन गरिने

0 784

Advertisement

२५ कातिक, ललितपुर । पाटनको कृष्ण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’ मा आज कात्तिक नाचको दोस्रो दिन बाथः प्याखँ मञ्चन हुने भएको छ । हरेक वर्ष पाटनमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार आज साँझ सो नृृत्य प्रदर्शन गर्न लागिएकोे हो ।

आज ‘बाथः प्याखँ –च्वले खुँदा दाँ खुदाँ’ अर्थात छ दाम पैसामा सोझासँग किनेको सानो बाख्रासमेत बाठाले त्यसैमा जोडेर १२ दाममा भनी अर्काे ठूलो बाख्रा किनेको कथामा आधारित नाटक मञ्चन गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यस कथामा तीन बाठा मान्छे हुन्छन् ।

उनीहरु व्यापार गर्दै जाने सिलसिलामा घुम्दै जाँदा बाटोमा भोक लागेपछि खानेकुरा खान्छन् तर भोक नमेटिएपछि फेरि केही खोजेर खान खोज्दा सुनसान ठाउँमा पुग्छन् जहाँ एक महिलाले ठूलो र सानो दुई बाख्रा बेचिरहेकी हुन्छिन् ।

उनीहरु त्यही बाख्रा भए पनि किन्न जान्छन् जस्मा ठूलोको मूल्य १२ र सानोको मूल्य छ दाम तोकिएको हुन्छ । उनीहरु तीनैजना मिलेर पहिला सानो बाख्रा किनेर लैजान्छ । खानका लागि सानो बाख्राले पुग्दैन भन्ने लागेर उनीहरूले ठूलो बाख्रा साटेर लाने जुक्ति निकाल्छन् । अघि किन्दा दिएको छ दाम र सानो बाख्राको समेत छ दाम जोडी १२ दाममा बाख्रा लग्याँै भन्दै व्यापारी महिलालाई झुक्याएर ठूलै बाख्रा लिएर भाग्छन् ।”

बाख्रा व्यापारीका पति त्यहाँ आएर बाख्रा बेचेको पैसा माग्दा उनले छ दाम मात्र दिन्छिन् । “किन छ दाम मात्रै ?” भनी पतिले प्रश्न गर्दा ती महिलाले भनिन् “उनीहरुले पहिला छ दाम दिएर सानो बाख्रा लगे पछि सानो बाख्रा पनि दिएर १२ दामको ठूलो बाख्रा लगे”, भन्ने जवाफ बुढालाई दिइन् । श्रीमानले त्यसो भए “तलाई ठगेर तिनीहरु गए । अब खोज्नुपर्छ भनेर जान्छन् । बाटोमा ती तीनजना भेटिएपछि उनीहरुबीच बाख्राको मूल्यको विषयमा झगडा हुन्छ । सो क्रममा न्याय निसाफका लागि बाख्रा साहुले ‘कृष्णद्धार’ अर्थात न्याय निसाफ मिल्ने ठाउँमा जाने कुरा गर्छन् ।

ती चार पुरुषमध्ये दुईले एक–एक र एकजना सबैभन्दा बाठोले साहुसँगै खास्टो ओढेर कृष्णद्वार पुग्छन् । कृष्णले न्याय निसाफका लागि ‘कोतवाल’ अर्थात न्यायधीशलाई पठाउछन् । ती तीन बाथःमध्ये सबैभन्दा बाठो अनि चलाख ‘एल किजा’ले बाख्रा साहुलाई बोल्न नदिएर पहिल्यै आफूले “हामी तीन जान व्यापार गर्न टाढाबाट यस ठाउँमा आयौँ ।

थाकेर बाटोमै भए पनि खास्टो ओढेर सुतेका थियाँै । यो मानिसले हामी निदाएको ठानेर हाम्रो खास्टो चोर्न खोज्यो । हामीले हाम्रो खास्टो दिँदैनौँ भनेकाले हामी चारबीच झगडा भयो । त्यसैले हामी न्याय निसाफ माग्न आयौँ”, भन्छन् ।

बाख्रा व्यापारीले “यो उनीहरुको होइन, मेरो खास्टो हो” भनेर मत राख्छन् । सो कोतवालले “यदि यो खास्टो तिम्रो हो भने प्रमाण देखाउ”, भन्छन् । ती तीन बाठामध्ये दुईले आफूले ओढेको खास्टोको चिन्ह देखाउछन् र एल किजाले पनि उस्तै चिन्ह देखाउन सफल हुन्छन् तर बाख्रा साहुले देखाउन सक्दैनन् ।

सो आधारमा कोतवालले “यो तिम्रो होइन, एल किजा अर्थात बाथः किजाकै हो”, भनेर न्याय गरिदिन्छन् । बाख्रा साहुले आफ्नो पीडा राख्न नपाइ सो निसाफ सकिन्छ र उ नै आरोपी ठहर हुन्छ । “हाम्रो देशको न्याय निसाफ यस्तै हो ।

न्याय माग्न आएको ठाउँमा उल्टै पीडामा परियो । बाख्रा ठगेको न्याय माग्न आउदा उल्टै खास्टो समेत गुमाएर दोषीसमेत प्रमाणित भइयो भन्ने आधारमा कथा मञ्चन गरेर यो संसार बाठाकै हातमा छ, सोझासिधा व्यक्तिले गरेर खान सक्दैनन् भन्ने सन्देश नृत्यमार्फत दिन खोजिएको चित्रकारले जानकारी गराउनुभयो ।

यसैगरी बुधबार राति ‘सुदामा प्याखँ’ नाच भव्यताका साथ ठूलै जमघटमा सम्पन्न गरिएको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताउनुभयो । विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । यस गरिमायम नाचको सर्जक श्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षा गुरु पण्डित हरिवंश उपाध्याय र दिक्षा गुरु विश्वनाथ उपाध्यायलाई दिइन्छ । कात्तिक नाचको माध्यमद्घारा देशमा आउने विध्नबाधा हटेर शान्ति र सु–व्यवस्था कायम रहने विश्वास गरिन्छ ।

यस नाचले सुरुआती चरणदेखि नै जनतालाई एउटै सुत्रमा बाँधेर मनोरञ्जन दिनाका साथै धार्मिक, नैतिक, सामाजिक ज्ञानसमेत प्रदान गर्ने रहेको छ । कात्तिक महिनाभर विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो ।

सत्ताइस दिनसम्म यस नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु नै ठूलो विशेषता हो । यो नाच प्रथम पटक पाँच दिन प्रदर्शन गरिएकामा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लको पालादेखि ‘बाथःप्याखँ’ अर्थात ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर्र १५ दिनसम्म सञ्चालन गरिएको जानकार बताउछन् ।

यसैगरी श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीला पछि थपेर २७ दिन सञ्चालन गरेका बताइन्छ । मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्काे दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको थियो ।

यो ललितपुरको मात्र नभइ सिङ्गो मुलुककै राष्ट्रिय अमूर्त सम्पदा हुनाका साथै परम्परागत संस्कृति जगेर्ना गर्ने माध्यम पनि बनिरहेको छ । हिन्दूका साथै बौद्धधर्मावलम्बीका लागि पनि अति महत्वपूर्ण सो नाट्य महोत्सव यो वर्ष आठ दिन मञ्चन गरिने भएको छ ।गतवर्ष मुलुकमा कोरोना महामारी बढेकाले दुई दिन मात्रै देखाइएको थियो ।

यो नाच विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा सम्पूर्ण नेपाली सामु रहन सफल भएकोे छ । ऐतिहासिक तथा सांस्कृतिक एवं तान्त्रिक मूल्य र मान्यता बोकेको यस नाचको गरिमा आज पनि उच्च रहेको समितिका प्रचार विभाग संयोजक सञ्जय शर्मा राजोपाध्यायले सुनाउनुभयो ।

विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार सङ्ग्रहालय परिसरमा सो नाच देखाइन्छ । कात्तिक नाच देखाउने पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्र घोषणा गरिसकेको छ । नाच प्रदर्शन गरिने पाटन क्षेत्र धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरै मन्दिरका रुपमा परिचित काठमाडौँ उपत्यकाको प्राचीन र महत्वपूर्ण तीन सहरमध्ये सबैभन्दा पुरानो मानिन्छ । सो नाचका अलावा पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि पनि मनाइन्छन् ।

पाटनमा काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री निमाण भई विदेशी मुलुकमा समेत निर्यात हुने गरेको पाटन दरबार सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताउनुभयोे ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.