Advertisement

हेपेर बोली व्यवहार गर्ने गरेकाे भन्दै छाेरा पर्ने लाेकबहादुरले गरे ६ जनाकाे हत्या

0 925

Advertisement

२७ भाद्र, संखुवासभा । मादी–१ उमलिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएपछि २५ वर्षीय लोकबहादुर कार्की अनुसन्धान टोलीलाई खाना पकाउन सघाइरहेका थिए। उनले उक्त घटना आफूले पहिले देखेको भन्दै त्यसको प्रकृतिबारे सुनाइरहेका थिए। उनले बडाबाबु (तेजबहादुर कार्की)सहित ६ आफन्त गुमाउनुपरेकोमा बिलौना गर्ने गरेका थिए। तेजबहादुरको कोहीसँग रिसइबी नभएको, मिलनसार भएको बताउने गरेका थिए। सामाजिक काममा अग्रसर भएर काम गर्ने व्यक्ति रहेको उनको भनाइ थियो।

तर, उनका भाइ घटनाका बेला लगाएको सर्ट लगाएर बाहिर निस्किएपछि अनुसन्धान उनको परिवारमै केन्द्रित भयो। उक्त कपडा धोए पनि रगतको टाटा देखिएपछि गोप्य रूपमा अनुसन्धान गर्दा सफलता मिलेको स्रोत बताउँछ। उक्त कपडासहित घटनामा हत्यामा प्रयोग गरेका सामान प्रहरीले बरामद गरेको छ। संखुवासभाका डीएसपी लालध्वज सुवेदीले भने थप अनुसन्धान भइरहेकाले आज (आइतबार) इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी घटना विवरण सार्वजनिक गरिने जानकारी दिएका छन्।

लोकबहादुरले बौदमान कार्कीको परिवारका चार पुस्ताको हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन्। उनी बौदमानका जेठो दाजुका नाति हुन्। उनको घर घटनास्थलबाट करिब डेढ–दुई सय मिटर दूरीमा छ।

तेजबहादुर सोमबार बिहान खेताला खोज्न निस्किएका बेला बाटो ढुकेर आक्रमण गरी हत्या गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीको दाबी छ। उक्त घटना देखेपछि बडीआमा कमला, भाउजू रञ्जना, हजुरआमा पार्वता, भतिज दीपेन र भतिजी गोमा कार्कीको हत्या गरेको बयान दिएको अधिकारी बताउँछन्। तेजबहादुरले हेपेर बोली व्यवहार गर्ने गरेकाले उनको ज्यान लिएको बताएको जनाइएको छ।

रणबहादुरका अनुसार छोरा (लोकबहादुर)ले ‘हजुरआमा (पार्वता) बिरामी हुनुहुन्छ अरे, हेर्न जाऊँ’ भनेका थिए। त्यसपछि जाने क्रममा लोकबहादुर एक्कासि ‘मेरो बडीबुबा’ भनेर चिच्याए।

छोराले तेजबहादुर सडकको भित्तामा मृत अवस्थामा देखेको रणबहादुरले प्रहरीसँग बताएका थिए। त्यसपछि लोकबहादुरले नै बडीआमा कमला र भाउजू रञ्जनाको शव देखेको बताएको जनाइएको छ। उनीहरू बाबुछोराले नै तेजबहादुर, कमला र रञ्जना मृत भेटिएको खबर गाउँलेलाई गरेका थिए।

अरूको शव देख्नुभन्दा पहिले छिमेकीले पार्वतालार्ई मुच्र्छा परेको होला भनेर घरमा लगेर राखेको जनाइएको छ। उनमा बेला–बेला बेहोस भइरहने समस्या थियो। प्रहरी पुग्दा उनको शव ओछ्यानमै थियो। उनका पति बौदमानले घटनाबारे चाल नपाएको बताए। बौदमान कान कम सुन्ने, आँखा मधुरो देख्ने जनाइएको छ। तेजबहादुरको शव सडकछेउ घोप्टो परेको, कमला र रञ्जना घरनजिक खोल्सीमा अनि दीपेन र गोमा घरमाथि खरबारीमा मृत भेटिएका थिए । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, संघीय प्रहरी इकाइ धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरोबाट डीएसपी रुगम कुँवर र संखुवासभाका डीएसपी लालध्वज सुवेदीसहितका अधिकारी अनुसन्धानमा खटिएका थिए।

यत्रो नरसंहार एक्लै ?
एकै परिवारका ६ जनाको हत्या सोमबार बिहान एकै समयमा भयो। उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार आफन्त लोकबहादुलाई पक्राउ गरेको छ। तर, एक जनाबाट बिहान यस्तो घटना कसरी सम्भव भयो भन्ने प्रश्न उब्जिएको छ। घटनामा कुनै धारिलो तयार प्रयोगसमेत भएको छैन। मृतकको टाउकोमा सामान्य चोट देखिन्छ। ६ जनाको शव चार स्थानमा करिब सय मिटर आसपास भेटिएको थियो।

घटना बिहान भए पनि कसैले देखेको र कराएको आवाजसमेत नसुनेको बयान स्थानीयले दिएका थिए। छरछिमेक पनि काममा निस्किने समयमा एक्लै लोकबहादुरले कसरी गरे ६ जनाको हत्या ? एक्लै छोटो समयमा यस्तो घटना गर्न नसक्ने अनुसन्धानले देखाउँछ। अन्य व्यक्ति पनि संलग्न भएको आशंकामा अनुसन्धानलाई जारी राखिने प्रहरीले जनाएको छ।

के गर्थे लोकबहादुर ?
लोकबहादुर दुईपटक वैदेशिक रोजगारीमा गएका थिए। फर्किएर खेती किसानीमा लागे। कक्षा ८ सम्म पढेका उनी ६ वर्षअघि मलेसिया गए। त्यहाँबाट १० महिनामा घर फर्केर डेढ वर्षपछि कतारतिर उडे। त्यहाँबाट पनि नौ महिना नपुग्दै फर्किए। आमाको गत चैत २६ गते निधन भएपछि बुवा र भाइसहित तीन जना बस्दै आएका थिए। अन्नपूर्ण



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.