Advertisement

पूर्व मन्त्री अफताब आलमलाई जन्मकैद सजाय

0 22

Advertisement

१३ वैशाख, काठमाडाैं । पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ।

जिल्ला अदालत, रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलमलाई जन्मकैदको सजाय सुनाएको हो। २०६४ चैतमा भएको विस्फोटको घटनामा घाइतेलाई इटाभट्टामा ज्यूँदै जलाएको अभियोग लागेको थियो।

यसमा दोषी ठहर भएको आलमलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार उद्धव ढोडारीले बताए। आलमसँगै चार जनालाई जन्मकैदको सजाय भएको हो।

श्रेस्तेदार ढोडारीका अनुसार महताब आलम, शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई जन्मकैदको सजाय तोकिएको हो। महताब पूर्व मन्त्री आलमका भाइ हुन्।

यो मुद्दामा मुक्ति साहले सफाइ पाएका छन्। त्यस्तै, मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मालाकारको हकमा मुद्दा मुल्तबीमा राखिएको छ। उनीहरु फरार रहेका छन्।

के थियो घटना?

२०६४ सालको संविधानसभा चुनावको अघिल्लो साँझ रौतहटको राजापुरस्थित फरहदवामा बम बनाउँदा बनाउँदै विस्फोट भएको थियो। आलमको गोठमा भएको विस्फोटमा घाइते भएका ओसी अख्तर र त्रिलोकप्रताप सिंहलाई आलमकै इँटाभट्टामा हालेर मारिएको अभियोग छ।

अन्य भारतीय नागरिक समेत मारिएको बताइए पनि अख्तर र सिंहको परिवारले मात्रै जाहेरी दिएका थिए। आलमका अंगरक्षक शेख सारजले सल्काएको चुरोट खसेर आगो सल्किँदा यो घटना भएको प्रहरी अनुसन्धानमा खुलेको थियो। भोलिपल्ट हुने चुनावमा ती बम पड्काएर बूथ कब्जा गर्ने आलमको योजना रहेको प्रहरीको भनाइ थियो।

यस घटनामा प्रहरीले त्यति वेला जाहेरी नै लिन मानेको थिएन। जिल्लास्थित नेपाल बार एशोसिएशनको सहयोगमा हुलाकबाट सरकारी वकीलको कार्यालय मार्फत बल्लतल्ल जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता भएपछि २०६५ असारमा आलमलाई पक्राउ गर्न अदालतले अनुमति दिएको थियो। तर सरकारी वकीलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरिदियो।

यस निर्णय विरुद्ध मृतकका परिवार महान्यायाधिवक्ताको कार्यालयलाई गुहार्न पुगेका थिए। तर महान्यायाधिवक्ताको कार्यालयले जिल्लाकै निर्णय सदर गरिदिएको थियो। त्यसपछि भने उनीहरू सर्वोच्च अदालत पुगेका थिए।

२०६९ सालमा सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयको निर्णय खारेज गरेर थप अनुसन्धान गर्ने बाटो खोलिदियो। तर ६ वर्षसम्म रौतहट प्रहरीले यो मामिलातिर फर्केर हेरेन।

२०७६ असोजमा भने प्रहरीले आलमलाई राजापुर क्षेत्रबाट पक्राउ गरेको थियो, जति वेला रौतहट प्रहरी प्रमुख थिए, भूपेन्द्रबहादुर खत्री। खत्री हाल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छन्। आलम पक्राउपछि उनका समर्थकले जिल्ला प्रहरी कार्यालय अगाडि दैनिक प्रदर्शन गरेका थिए।

अनुसन्धानपछि २०७६ कात्तिक १८ गते विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसूरमा अदालतमा मुद्दा दायर भएको थियो। आलमलाई थुनामा पठाउने आदेश दिएपछि न्यायाधीश बिदा लिएर काठमाडौं आएका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.