०१ जेठ, तनहुँ । पृथ्वी राजमार्ग सडक विस्तारसँगै तनहुँ खण्डमा पर्ने राजमार्ग किनार क्षेत्रका ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण भइरहेको छ । सडक विस्तार सम्पन्न भएसँगै आयोजनाले अहिले सडक सीमाभित्र परेका ऐतिहासिक सम्पदा, मठमन्दिर र पाटीपौवाहरूको पुनर्निर्माणलाई तीव्रता दिइएको हो ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारको पूर्वी खण्ड (आँबुखैरेनी–जामुने)को सडक निर्माण सकिएसँगै सम्पदा निर्माणमा तीव्रता दिइएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । एसियाली विकास बैंक (एडिबी)को करिब छ अर्ब ३१ करोड रुपैयाँ लागतमा स्तरोन्नति भएको ४१ किलोमिटर सडकखण्डको निर्माण पूरा भइसकेको छ ।
“सडक विस्तारका क्रममा विस्थापित भएका धार्मिक तथा सांस्कृतिक संरचनाको मौलिकता जोगाउन आयोजनाले करिब दुई करोड रुपैयाँ विनियोजन गरेको थियो । विनियोजित बजेटबाट अधिकांश मठमन्दिर र पाटीपौवाको पुनर्निर्माण धमाधम भइरहेको छ”, उनले भने, “व्यास नगरपालिका–१२ घाँसीकुवामा रहेको ऐतिहासिक भानु–घाँसी पार्क र कुवाको पुनर्निर्माणका लागि समेत विशेष तयारी भइरहेको छ ।”
भानु–घाँसी पार्क संरक्षण समितिले तयार पारेको तीन करोड रुपैयाँको बृहत् गुरुयोजनाअनुसार पार्क निर्माणको प्रक्रिया अघि बढाइएको छ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य र घाँसीको ऐतिहासिक प्रसङ्ग जोडिएको यस स्थललाई पर्यटकीय र सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
सडक कालोपत्रे, लेन मार्किङ र अन्य प्राविधिक काम सकिएसँगै अब सडक किनारका संरचना र सांस्कृतिक सम्पदालाई व्यवस्थित बनाउने काम भइरहेको हो । आयोजनाले भौतिक विकाससँगै ऐतिहासिक सम्पदाको संरक्षणलाई स्थानीय समितिको सहकार्यमा निर्माण कार्य धमाधम भइरहेको छ । विसं २०७७ माघमा ठेक्का सम्झौता भएर सुरु भएको यो आयोजना नेपालको लाइफ लाइन मानिने राजमार्गको नमुना विस्तारका रूपमा हेरिएको छ ।


+ There are no comments
Add yours