फिफा वरीयता : शीर्ष स्थानमा स्पेन यथावत्, पोर्चुगलको छलाङ, नेपाल एक स्थान खस्कियो

२३ असाेज, काठमाडौँ । फिफा विश्व वरीयता सार्वजनिक नयाँ सूचीमा पोर्चुगल दुई स्थान सुधार गर्दै पाँचौँ स्थानमा उक्लिएको छ । शीर्ष १० भित्र वरीयता सुधार गर्ने पोर्चुगल एक्लो टोली बनेको हो । पछिल्लो अन्तर्राष्ट्रिय विन्डोमा पोर्चुगलले युईएफए नेसन्स लिगका चारवटै खेल जितेको थियो । उसले नर्वेलाई दुईपटक तथा वेल्स र डेनमार्कलाई एक-एकपटक पराजित गरेको थियो । यही प्रदर्शनका कारण पोर्चुगलले वरीयतामा उल्लेख्य सुधार गरेको हो ।

शीर्ष १० मा पोर्चुगलसँगै ब्राजिल र मोरक्कोको वरीयता भने घटेको छ । पछिल्लो अन्तर्राष्ट्रिय विन्डोमा दुवै टोलीले मैत्रीपूर्ण खेल बराबरी खेलेपछि एक-एक स्थान तल झरेका हुन् । स्पेन शीर्ष स्थानमा यथावत् रहँदा दोस्रो स्थानमा रहेको अर्जेन्टिनामाथिको आफ्नो अग्रता थप फराकिलो बनाएको छ । स्पेनले नेसन्स लिगका सुरुवाती चारवटै खेल जितेको थियो । उसले इंग्ल्याण्डलाई ३-२ तथा क्रोएसिया र चेक गणतन्त्रलाई पराजित गरेको थियो ।

लियोनल मेसीको अन्तिम अन्तर्राष्ट्रिय खेलमा मंगलबार बेनिनलाई ३-० ले पराजित गरेको अर्जेन्टिना दोस्रो स्थानमा यथावत् छ । फ्रान्स तेस्रो तथा इंग्ल्याण्ड चौथो स्थानमा छन् । बेल्जियम, नेदरल्याण्ड्स र मेक्सिको शीर्ष १० मा रहेका अन्य टोली हुन् ।

अमेरिका १६औँ स्थानमा यथावत् छ । पछिल्लो अन्तर्राष्ट्रिय विन्डोमा उसले चारवटै खेल जितेको थियो । अमेरिकाले पेरुलाई ४-१, चिलीलाई ४-२, मेक्सिकोलाई ३-० र क्यानडालाई १-० ले पराजित गरेको थियो । वरीयतामा सबैभन्दा ठूलो सुधार गर्ने टोली रुवाण्डा बनेको छ । रुवाण्डा नौ स्थान माथि उक्लिँदै ११९औँ स्थानमा पुगेको छ । अफ्रिका कप अफ नेसन्स छनोटमा सेप्टेम्बर २९ मा केप भर्डेलाई २-१ ले हराउनु उसको वरीयता सुधारको प्रमुख कारणमध्ये एक हो ।

यसपटकको वरीयतामा नेपाल पनि एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपाल यसअघि १७७औँ स्थानमा रहेकामा नयाँ सूचीमा १७८औँ स्थानमा पुगेको हो । दक्षिण एसियामा भने नेपाल तेस्रो स्थानमा यथावत् छ । १३८औँ स्थानमा रहेको भारत क्षेत्रीय वरीयतामा नेपालभन्दा अघि छ भने १७३औँ स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा छ ।

नेपालपछि बंगलादेश १८२औँ स्थानमा छ । श्रीलंका भने तीन स्थान सुधार गर्दै १८४औँ स्थानमा पुगेको छ । दक्षिण एसियाको वरीयतामा भुटान १९२औँ स्थानमा छ भने पाकिस्तान एक स्थान सुधार गर्दै १९७औँ स्थानमा पुगेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours