२३ असाेज, काठमाडौँ । बूढानीलकण्ठमा २१ किलो सुन बरामद गर्नुपहिले प्रहरीले १० दिनदेखि निरन्तर निगरानी गरेको खुलेको छ । विशेष सूचना प्राप्त भएपछि खटिएको टोलीले एक साताभन्दा लामो निगरानीपछि सुन बरामद गरेको अनुसन्धानमा खटिएका एक अधिकृतले बताए । ‘हाम्रो उद्देश्य सुन मात्र समात्नु थिएन, त्यसका मालिक पनि समात्नु थियो,’ ती अधिकृतले भने, ‘त्यसैले लामो पर्खाइपछि बरामद गरिएको हो ।’
बरामद गरेपछि प्रहरीले त्यो सुनमा जोडिएका तीन चिनियाँ नागरिकबारे जानकारी पाएको थियो भने घरधनीको नालीबेली पहिल्यै निकालिसकेको थियो । त्यसक्रममा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । तर, उनीहरुको नाम खुलाइएको छैन ।
प्रहरी टोली जब चिनियाँ नागरिकसमेत भएको घरभित्र प्रवेश गर्यो, त्यसपछि उनीहरुले प्रहरीलाई नै उल्टै आक्रमण गर्न खोजेका थिए । अपरेशनमा खटिएका एक अधिकारीका अनुसार, प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजे पनि उनीहरु सफल भएनन् ।
प्रहरीले तयारी अवस्थामा रहेको १० किलो सुन र प्रशोधन गर्न बाँकी ११ किलो सुन बरामद गर्यो । त्यहींबाट सुनको ढिक्का बनाउन प्रयोग गर्ने उपकरणसमेत प्रहरीले बरामद गरेको छ । ‘प्रहरीले गरेको पछिल्लो केही वर्षयताकै सुनसम्बन्धी यो ठूलो अपरेशन हो,’ ती अधिकृतले भने, ‘आज (शुक्रबार) उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने तयारी छ ।’
स्रोतका अनुसार, सुन ल्याएर भण्डारण गरेर राखिएको विषयमा गृहमन्त्री सुधन गुरुङसँग समेत सूचना पुगेको थियो । बरामद सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको प्रारम्भिक आशंका छ । ढिक्का बनाएको सुन भारततर्फ तस्करी हुने गरेको ती अधिकृतको भनाइ छ । ‘पक्राउ परेका व्यक्तिसँग सोधपुछ गर्ने काम भइरहेको छ, सबै नेक्ससबारे चाँडै थाहा हुन्छ,’ उनले भने ।
चीनबाट हवाई मार्गसँगै रसुवा, तातोपानीलगायतका नाकाबाट समेत सुन आउने गरेको थियो । तर, पछिल्लो समय चीनसँगको सबै नाका बन्द छन् । विमानस्थलबाट चाहिँ सुनलाई पगालेर विभिन्न स्वरुपमा ल्याउने गरिएका छन् । यसअघि २०८० साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पारगरिसकेको अवस्थामा ‘ब्रेक सु’भित्र ६० किलो सुन बरामद भएको थियो ।


+ There are no comments
Add yours