नयाँ नेतृत्व, नयाँ कूटनीति : प्रधानमन्त्री बालेनको भारत भ्रमण किन महत्त्वपूर्ण?

०७ मंसिर, नयाँ दिल्ली । प्रधानमन्त्री बालेन शाह भारत पुगेका छन्। उनको यो भारत भ्रमण करिब २५ घण्टाको छ। दुई देशको आपसी सम्बन्धको आयाम हेर्दा यो समयावधि छोटो लागे पनि विज्ञहरूले यस भ्रमणलाई निकै महत्त्वपूर्ण मानेका छन्।

नेपालमा जेनजी आन्दोलन पछि यसै वर्ष सत्तामा आएका बालेन शाह आफ्नो पहिलो द्विपक्षीय विदेश भ्रमणका क्रममा भारत पुगेका हुन्। यसअघि उनले न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गरिसकेका छन्।

नेपालको आन्दोलनपछि उदाएका नयाँ राजनीतिक शक्तिहरूमा अधिकांश व्यावसायिक राजनीतिज्ञ नभएका कारण पनि शाहको यो भ्रमण आपसी समझदारी बढाउन महत्त्वपूर्ण अवसर बन्ने विज्ञहरूको भनाइ छ।

भ्रमणका क्रममा द्विपक्षीय व्यापार, जलवायु परिवर्तन, हवाई सञ्जाल (एयर कनेक्टिभिटी), पर्यटन, ऊर्जा तथा सीमा विवादमा समेत छलफल हुन सक्नेछ।

  • बालेन शाहको भारत भ्रमणको महत्त्व

केन्द्रीय राज्यमन्त्री जितिन प्रसादले नयाँ दिल्लीस्थित विमानस्थलमा बालेन शाहको स्वागत गरे। सोमबार बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नेछन्।

‘हैदराबाद हाउस’ मा दुई देशका नेताहरूबिच द्विपक्षीय वार्ता हुनेछ र औपचारिक वार्तापछि केही सम्झौताहरूमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ।

भारत र नेपालबिच करिब १,७५० किलोमिटर लामो खुला सीमा रहेको छ, जुन भारतका उत्तराखण्ड, उत्तर प्रदेश, बिहार, सिक्किम र पश्चिम बङ्गालसँग जोडिन्छ। खुला सिमाना रहेको यो सम्बन्धका कारण यस भ्रमणलाई लिएर दुवै देशमा निकै चासो र उत्सुकता देखिएको छ।

नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित राय भन्छन्, ‘यस भ्रमणमा भारतका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा नयाँ नेतालाई बुझ्नु हो, किनभने उनीसँग हाम्रो त्यति धेरै चिनजान छैन। यद्यपि पछिल्ला सात–आठ महिनामा धेरै भ्रमणहरू भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत आए, त्यसपछि उनका परराष्ट्रमन्त्री शिशिर खनाल भारत आए। यसकारण कुराकानी त निरन्तर चलिरहेकै छ। तर दुई देशका प्रधानमन्त्रीबिचको यो पहिलो प्रत्यक्ष भेट भएकाले निकै अर्थपूर्ण छ।’

हुन त सत्ता सम्हालेयता विदेशी नेताहरूसँग नभेट्ने शाहको नीति थियो, तर अहिले परिस्थिति बदलिएको विश्लेषकहरूको ठम्याइ छ।

इरानसँग अमेरिका–इजरायल तनावपछि इन्धनको बढ्दो मूल्य, रासायनिक मलको अभाव र नेपालको भोटेकोशीमा आएको आकस्मिक बाढीका कारण शाहले धेरै चुनौतीहरूको सामना गरिरहेका छन्।

यस विषयमा भारतका लागि नेपालका पूर्वराजदूत शङ्कर शर्माका अनुसार शाह यसअघि विदेश भ्रमणमा गएका थिएनन् र विदेशी नेताहरूसँग धेरै संवाद पनि गरिरहेका थिएनन्। दुई देशका अधिकारीहरूले यस भ्रमणको तयारीमा निकै मिहिनेत गरेको उनी बताउँछन्।

उनी भन्छन्, ‘नेपालका लागि अन्य मुलुकहरूसँग, विशेषगरी भारतसँग बलियो सम्बन्ध अपरिहार्य रहेको आन्तरिक दबाब र वातावरण बनिसकेको थियो। त्यसै पनि दुवै देशका राजदूत र नेताहरूबीचको भेटघाटबाट मात्रै सन्देश आदानप्रदान हुन सक्छ। त्यसैले नेपालभित्रै बनेको यस्तो माहोलले गर्दा शाहले आफ्नो सोच बदलेका हुन्।’

  • हवाई क्षेत्र (एयर स्पेस) को मुद्दा

भारतले नेपाललाई दुई अर्ब डलर बराबरको अनुदान तथा ‘लाइन अफ क्रेडिट’ (सहुलियतपूर्ण ऋण) दिने प्रस्तावमा सकारात्मक सङ्केत गरेको छ। दुई देशबिच यस विषयमा अन्तिम चरणको छलफल चलिरहेको छ।

समाचार अनुसार नेपालले भारतसँग २ अर्ब डलर (करिब १ खर्ब ७० अर्ब भारु) को अनुदान र ऋण सहायता प्याकेजका साथै भारतीय हवाई क्षेत्रबाट थप एउटा ‘एयर इन्ट्री रुट’ (प्रवेश विन्दु) माग गरिरहेको छ।

अधिकारीहरूका अनुसार भारतले आर्थिक सहयोगको प्रस्तावमा सकारात्मक दृष्टिकोण देखाए पनि अतिरिक्त हवाई रुटको विषयमा दुई देशबिच अहिलेसम्म सहमति जुट्न सकेको छैन।

यसमा शङ्कर शर्मा भन्छन्, ‘पहिले पनि करिब ८० करोड डलरको लाइन अफ क्रेडिट थियो, तर त्यसको पूर्ण सदुपयोग हुन सकेन। नेपाल यस सुविधालाई थप विस्तार गर्न चाहन्छ। अनुदान र ऋण दुवै समावेश भएको दुई अर्ब डलरको नयाँ वित्तीय प्याकेज नेपालको अपेक्षा हो।’

उनी थप्छन्, ‘भोटेकोशीको बाढीले ठुलो क्षति पुर्‍याएको हुनाले यो रकम पुनर्निर्माणमा पनि उपयोगी हुनेछ। तर यो सहायता बाढीका लागि मात्र नभई भारत–नेपाल सहकार्यमा बन्दै गरेका अन्य आयोजनाहरूसँग पनि सम्बन्धित छ।’

यसबाहेक दुई देशबिच हवाई क्षेत्रको विषयमा पनि घनीभूत छलफल भइरहेको छ।

नेपालको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल राजधानी काठमाडौँमा छ। यसबाहेक भैरहवा र पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माण गरिएका छन्। यी दुवैको उद्देश्य आन्तरिक कनेक्टिभिटी बढाउनुका साथै विदेशी पर्यटक भित्र्याउनु हो। तर वर्तमान हवाई प्रवेश विन्दुको व्यवस्थाले गर्दा समस्या भइरहेको नेपालको भनाइ छ।

भारतीय हवाई क्षेत्र हुँदै नेपाल भित्रिने अन्तर्राष्ट्रिय उडानका लागि प्रवेश विन्दुहरू अत्यन्त सीमित छन्। जसले गर्दा केही विमानहरूले लामो दूरी घुमेर आउनुपर्ने र उडान खर्च बढ्ने अवस्था छ।

यस विषयमा पूर्वराजदूत रञ्जित राय भन्छन्, ‘वास्तवमा यी विमानस्थलहरूमा उडान सङ्ख्या निकै कम छ। केही आन्तरिक उडान र निकै थोरै विदेशी उडान मात्र सञ्चालनमा छन्। भैरहवा विमानस्थल एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा बनेको हो र त्यसको ठेकेदार चिनियाँ कम्पनी थियो। त्यस्तै पोखरा विमानस्थलमा चीनले लगानी गरेको छ र निर्माण पनि चिनियाँ कम्पनीले नै गरेको हो।’

उनी अगाडि भन्छन्, ‘यी दुवै विमानस्थललाई सफल र आर्थिक रूपमा धानिन सक्ने बनाउन भारतको सहमति आवश्यक छ, किनभने यहाँबाट उड्ने र अवतरण गर्ने विमानले भारतीय हवाई क्षेत्र नै प्रयोग गर्नुपर्ने हुन्छ।’

भैरहवा उत्तर प्रदेश नजिकै रुपन्देही जिल्लामा अवस्थित छ, जहाँ भगवान् बुद्धको जन्मस्थल लुम्बिनी पर्छ। उता पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो।

अधिकांश अन्तर्राष्ट्रिय विमानहरूले दक्षिण-मध्य नेपालको सिमरा रुटबाट मात्र नेपाल प्रवेश गर्नुपर्ने बाध्यता छ, चाहे उनीहरूको गन्तव्य देशको पश्चिमी भाग नै किन नहोस्। यसले उडानको दूरी लम्ब्याउनुका साथै हवाई ट्राफिकमा थप चाप पारेको छ।

राय भन्छन्, ‘यी दुई विमानस्थलबाट उडान भर्ने वा अवतरण गर्ने कुनै पनि जहाज भारतीय हवाई क्षेत्र हुँदै जानुपर्छ। एयर स्पेसको अनुमति प्राविधिक तथा सुरक्षासँग जोडिएको संवेदनशील विषय हो। तर नेपालले ऋण लिएर यी विमानस्थल बनाएको हुनाले उडान राम्रोसँग सञ्चालन नभए ती नेपालका लागि आर्थिक बोझ बन्न सक्छन्। यसको समाधान नेपालले खोज्नुपर्छ र भारतले सहयोग गर्न सके राम्रो हुनेछ।’

उनी थप स्पष्ट पार्दै भन्छन्, ‘तर नेपालका लागि यहाँ एउटा सन्देश पनि छ, भविष्यमा यस्ता पूर्वाधार आयोजनाहरू अघि बढाउँदा पहिले नै सल्लाह-परामर्श गरिनुपर्छ। पहिले नै भारतसँग छलफल गरेर सहमति जुटाएको भए यस्तो समस्या आउने नै थिएन।’

  • सीमा विवादको प्रश्न

सीमा विवाद यस्तो विषय हो, जसबारे यो भ्रमण अगाडिदेखि नै दुवै देशमा चर्चा चलिरहेको छ।

यसै वर्ष नेपालको सत्ता सम्हालेपछि बालेन शाहले दिएको एउटा अभिव्यक्ति निकै चर्चामा आएको थियो। उनले नेपाल र भारत दुवैले एकअर्काको जमिन अतिक्रमण गरेको बताएका थिए। यद्यपि उक्त भनाइपछि नेपालको परराष्ट्र मन्त्रालयले स्पष्टीकरण जारी गरेको थियो। प्रधानमन्त्रीको भनाइ कुनै भूभागीय दाबीका रूपमा नभएर नेपाल–भारत सीमा क्षेत्रमा अतिक्रमण र जमिनको प्रयोगका विषयमा केन्द्रित रहेको मन्त्रालयले स्पष्ट पारेको थियो।

सन् २०१९ मा भारतले आफ्नो नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई भारतीय भूभागमा देखाइएको थियो। त्यसपछि नेपालले संविधान संशोधन गर्दै देशको राजनीतिक नक्सा अद्यावधिक गर्‍यो। संशोधनमार्फत रणनीतिक रूपमा महत्त्वपूर्ण तीन क्षेत्र—लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालको नक्साभित्र समेटियो। भारतले नेपालको यो कदमलाई अस्वीकार्य भनेको थियो।

अहिले बालेन शाह नेपालको प्रधानमन्त्री रहेका बेला सीमा विवादमा नयाँ शिराबाट वार्ता हुने अपेक्षा गरिएको छ। के उनको यस भ्रमणले सीमा समाधानको दिशामा सकारात्मक पहल गर्न सक्ला?

बीबीसी न्युजसँगको कुराकानीमा नेपालका वरिष्ठ राजनीतिक विश्लेषक कनक मणि दीक्षितले भनेका थिए, ‘यसपटक नेपालका प्रधानमन्त्रीले दिल्लीसँग सीमा विवादको विषय उठाउनेछन् भन्ने मेरो विश्वास छ। यसको तुरुन्तै समाधान ननिस्किए पनि समस्या समाधानका लागि वार्ताको ढोका भने खुल्नुपर्छ।’

यता नेपालका पूर्वराजदूत शङ्कर शर्मा भन्छन्, ‘क्रस-बोर्डर होल्डिङबारे एउटा समितिले काम गरिरहेको छ र यसको उद्देश्य तीन वर्षभित्र यो प्रक्रिया पूरा गर्नु हो। तर सुस्ता, लिपुलेक, लिम्पियाधुरा र कालापानीसँग सम्बन्धित विवादका हकमा पहिले परराष्ट्र सचिवस्तरीय संयन्त्रमार्फत वार्ता सुरु गर्ने सहमति बनेको थियो। तर त्यसपछि कुनै बैठक बस्न सकेन।’

प्रधानमन्त्री तहको वार्तामा यो विषय उठ्न सक्ने भए पनि संयुक्त वक्तव्यमा यसको उल्लेख हुने सम्भावना न्यून रहेको शर्माको भनाइ छ। यद्यपि दुई प्रधानमन्त्रीबिचको कुराकानीबाट कुनै सकारात्मक सङ्केत मिल्न सक्ने देखिन्छ।

  • जलवायु परिवर्तन पनि महत्त्वपूर्ण एजेन्डा

यसबाहेक दुई देशबिचको वार्तामा जलवायु परिवर्तन अर्को प्रमुख मुद्दा बनेको छ।

नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित राय दुई देशबिचको संवादमा अब जलवायु परिवर्तन पनि निकै महत्त्वपूर्ण विषय भएको बताउँछन्।

प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दा भारत, चीन र नेपालको नेतृत्वमा ‘हिमाली जलवायु सङ्कट समाधानको साझा संयन्त्र’ बनाउने प्रस्ताव अघि सारेका थिए।

राय भन्छन्, ‘जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिले हिमालय क्षेत्रमा तीव्र असर पारिरहेको छ। हिमालयलाई ‘तेस्रो ध्रुव’ (थर्ड पोल) र ‘वाटर टावर’ भनिन्छ, जसको पानीमा दुई अर्ब मानिस निर्भर छन्। तापमान वृद्धिका कारण हिमनदी पग्लिने र चट्टान फुट्ने क्रम बढ्दा यसको असर नेपालमा मात्र होइन, चीन र भारतमा पनि प्रत्यक्ष पर्नेछ।’

उनी थप्छन्, ‘भोटेकोशीको बाढीले हामीलाई जलवायु परिवर्तनको मुद्दा बहुपक्षीय मात्र नभएर द्विपक्षीय पनि हो भन्ने स्पष्ट देखाएको छ। यस हिसाबले जलवायुको एजेन्डा अत्यन्त महत्त्वपूर्ण छ।’

(बीबीसीका लागि ‘कलेक्टिभ न्युजरुम’ द्वारा प्रकाशित सामग्रीमा आधारित)

You May Also Like

More From Author

+ There are no comments

Add yours