व्यायामबाट दमको उपचार

०६ मंसिर, काठमाडौँ । दम तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोगबाट पीडित बिरामीको शारीरिक क्षमता र जीवनस्तर सुधार गर्ने उद्देश्यले नेसनल चेस्ट सेन्टरले नेपालमै पहिलो पटक फोक्सो पुनर्स्थापना सेवा सुरु गरेको छ ।

औषधी कम्पनी सिप्लासँगको सहकार्यमा सुरु गरिएको सेवामार्फत दमका कारण सामान्य हिँडडुल र दैनिक काम गर्नसमेत कठिनाइ भएका बिरामीलाई शारीरिक रूपमा सक्रिय तथा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको बताइएको छ । सेवा अन्तर्गत बिरामीको स्वास्थ्य अवस्था र फोक्सोको कार्यक्षमता मूल्याङ्कन गरी श्वासप्रश्वास अभ्यास, शारीरिक व्यायाम तथा फिजियोथेरापी गराइन्छ । हाल सेन्टरले यो सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

सेन्टरकी फिजियोथेरापिस्ट डा. दीक्षा गौतमले बिरामीको रक्तचाप, नाडीको गति र रगतमा अक्सिजनको मात्रा जाँच गरेपछि मात्र अभ्यास सुरु गरिने जानकारी दिनुभयो । उहाँले दमका बिरामीलाई रिह्याबले धेरै सजिलो गरेको जानकारी दिनुभयो । उहाँले छाती फैलाउने अभ्यास, शारीरिक व्यायाम र खकार निकाल्न सहयोग गर्ने विभिन्न प्रविधि यसमा समेटिने जानकारी दिँदै सुरुमा अस्पतालमै अभ्यास सिकेपछि बिरामीले आवश्यक निर्देशन अनुसार घरमै पनि निरन्तरता दिन सकिने बताउनुभयो ।

वरिष्ठ छातीरोग विशेषज्ञ डा. राजु पङ्गेनीले सास फेर्न गाह्रो हुने डरले दमका बिरामीले शारीरिक गतिविधि कम गर्दा फोक्सोको कार्यक्षमता थप कमजोर हुँदै जाने बताउनुभयो । उहाँले यस्तो अवस्था सुधार गर्न फोक्सो पुनस्र्थापना प्रभावकारी हुने बताउनुभयो ।

श्वासप्रश्वास रोग विशेषज्ञ डा. पङ्कज देवले दमको समस्या नेपालमा उल्लेख्य रहेको बताउनुभयो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको सर्वेक्षण अनुसार करिब १३ प्रतिशत जनसङ्ख्यामा दमसम्बन्धी समस्या देखिएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours