एनपीएल तेस्रो सिजनको विजेता सुदूरपश्चिम रोयल्स, दीपेन्द्र भन्छन्, सपना पूरा भएको छ

लगातार दुई फाइनलमा पराजित भएपछि तेस्रो सिजनमा उपाधि जितेकोमा कप्तान ऐरीले खेलाडी, समर्थक र सबै सहयोगीलाई धन्यवाद दिए।

०५ मंसिर, काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको विजेता सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले आफूहरू सबैको सपना पूरा भएको बताएका छन्। लगातार दुई फाइनलमा असफल भएपछि यसपटक उपाधि जितेकोमा उनले सबैलाई धन्यवाद दिएका छन्।

खेलपछि उनले भने, ‘सुरुमै गाह्रो थियो, तर टिम राम्रो भएकोमा विश्वास थियो। दुई वर्षदेखि उपाधि जित्ने सपना पूरा भएको छ। यो उपाधि जित्ने सपना थियो। आज पूरा भएको छ। यसका लागि सबैलाई धन्यवाद दिनैपर्छ।’

‘प्रतियोगितामा मेरो प्रदर्शन पनि राम्रो रह्यो। सबै साथी खेलाडीले सहयोग गरे। समर्थकप्रति पनि धन्यवाद। समर्थकले जसरी हामीलाई विश्वास गरिरहे, त्यसका लागि हामी सबै आभारी छौँ,’ उनले थपे, ‘आउने दिनमा अझ राम्रो गर्नेछौँ, हामीलाई समर्थन गरिरहनु।’

मलाई विश्वास गरेकोमा धन्यवाद : मुन्सी

कीर्तिपुरमा भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदा मुन्सीले प्रतियोगिताकै सर्वाधिक व्यक्तिगत स्कोर बनाए।

सुदूरपश्चिम रोयल्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो उपाधि दिलाउन निर्णायक भूमिका खेलेका जर्ज मुन्सीले आफूलाई विश्वास गरेकोमा धन्यवाद दिएका छन्। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई सजिलै १० विकेटले हरायो।

लुम्बिनीले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो। जवाफमा सुदूरपश्चिमले विना विकेटको क्षति १ सय ५८ रन बनायो। त्यसमा मुन्सीले १ सय २५ रन बनाए। यो नै प्रतियोगिताको इतिहासमा उच्च व्यक्तिगत स्कोर रह्यो।

मुन्सीले भने, ‘आज मलाई भाग्यले पनि साथ दियो। टिमले हात पारेको सफलताका लागि म खुसी छु। सुदूरपश्चिमले केही दिनअघि एक्कासि कल गरेको थियो र खेल्ने प्रस्ताव राखेको थियो। त्यसलाई स्वीकार्दै म नेपाल आएँ।’

उनी प्लेअफ चरणका खेलका लागि मात्र नेपाल आएका थिए। स्कटल्यान्डका अर्का खेलाडी ब्रान्डन म्याकमुलेन घर फर्केपछि उनको स्थानमा सुदूरपश्चिमले मुन्सीलाई ल्याएको थियो। गत सिजन खराब प्रदर्शन गरेका मुन्सीले यसपटक भने सानदार प्रदर्शन गरे।

अन्ततः उनी नै फाइनलका निर्णायक खेलाडी साबित भए। उनले एनपीएलको पनि प्रशंसा गरे। उनले भने, ‘सबैभन्दा पहिले नेपाली क्रिकेटका समर्थकलाई धन्यवाद दिन चाहन्छु। नेपाली क्रिकेटको वातावरण नै जादुमयी छ। यो प्रतियोगिता आफैँमा उच्च छ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours