लुम्बिनी र सुदूरपश्चिम फेरि आमनेसामने, कसले उचाल्ला एनपीएलको ट्रफी ?

०५ मंसिर, काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि सुरु हुने फाइनलमा दुवै टोलीको लक्ष्य उपाधि उचाल्नु हुनेछ।

यसपटकको फाइनल अघिल्लो संस्करणको पुनरावृत्ति पनि हो। गत संस्करणको उपाधि भिडन्तमा लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो। त्यसैले यसपटक लुम्बिनी लगातार दोस्रोपटक च्याम्पियन बन्ने लक्ष्यमा छ भने सुदूरपश्चिम अघिल्लो फाइनलको हारको बदला लिँदै पहिलोपटक उपाधि जित्ने दाउमा हुनेछ।

यस संस्करणमा यी दुई टोलीबीच यो तेस्रो प्रतिस्पर्धा हो। लिग चरणको पहिलो भेटमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो। त्यसपछि पहिलो क्वालिफायरमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै सिधै फाइनलमा स्थान बनाएको थियो। अब उपाधि भिडन्तमा सुदूरपश्चिमसँग लुम्बिनीविरुद्ध जारी हारको शृङ्खला तोड्ने अवसर छ।

लुम्बिनीका कप्तान रोहित पौडेल लगातार दुईपटक एनपीएल उपाधि जित्ने पहिलो कप्तान बन्ने लक्ष्यमा छन्। उनले फाइनलअघि टोलीले राम्रो तयारी गरेको र उपाधि जित्ने आत्मविश्वास रहेको बताएका छन्। पछिल्ला खेलमा टोलीले जुनसुकै परिस्थितिबाट पनि जित निकाल्न सक्ने आत्मविश्वास हासिल गरेको उनको भनाइ छ।

यता सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि टोली फाइनलका लागि तयार रहेको बताएका छन्। पछिल्ला खेलहरू नै फाइनलको तयारीजस्तै भएकाले टोली आत्मविश्वासका साथ मैदान उत्रिने उनको भनाइ छ।

लुम्बिनी प्रतियोगिताको सुरुवातदेखि नै स्थिर प्रदर्शन गर्दै आएको टोली हो। लिग चरणमा सातमध्ये पाँच खेल जितेर शीर्ष स्थानमा रहेको लुम्बिनीले पहिलो क्वालिफायरमा पनि सुदूरपश्चिमलाई हराएको थियो। ब्याटिङ र बलिङ दुवैमा सन्तुलित देखिएको टोली फाइनलमा पनि आफ्नो लय कायम राख्ने योजनामा हुनेछ।

सुदूरपश्चिमको यात्रा भने केही उतारचढावपूर्ण रह्यो। लिग चरणमा दोस्रो स्थान हासिल गरेको टोलीले पहिलो क्वालिफायरमा लुम्बिनीसँग हार बेहोरेपछि दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। लगातार दुई खेल जितेर फाइनल पुगेको सुदूरपश्चिम तेस्रोपटक उपाधि भिडन्तमा पुगेको छ।

एनपीएल इतिहासमा यी दुई टोलीबीच अहिलेसम्म पाँच खेल भएका छन्। जसमा लुम्बिनीले तीन र सुदूरपश्चिमले दुई खेल जितेका छन्। पछिल्ला तीन भेटमा भने लुम्बिनी लगातार विजयी भएको छ। यसले फाइनलमा सुदूरपश्चिममाथि दबाब थप्ने देखिए पनि उपाधि भिडन्तमा दुवै टोली नयाँ रणनीतिसहित मैदान उत्रिनेछन्।

लुम्बिनीको ब्याटिङमा डार्सी सर्ट, निरोशन डिक्वेला, कप्तान रोहित पौडेल र सन्दीप जोरा महत्त्वपूर्ण हुनेछन्। विशेषगरी डिक्वेलाले पहिलो क्वालिफायरमा सुदूरपश्चिमविरुद्ध अर्धशतक बनाएका थिए। बलिङमा रुबेन ट्रम्पलमन र शेर मल्लको प्रदर्शन निर्णायक हुन सक्छ। ट्रम्पलमनले पावरप्लेमा विकेट लिँदै आएका छन् भने शेर मल्लको स्पिन सुदूरपश्चिमका ब्याटरका लागि चुनौती बन्न सक्छ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी, जर्ज मन्से, इशान पान्डे र थरिन्दु रत्नायकेको ब्याटिङ महत्त्वपूर्ण हुनेछ। दोस्रो क्वालिफायरमा चितवनविरुद्ध अविजित अर्धशतक बनाएका थरिन्दुबाट फाइनलमा पनि राम्रो प्रदर्शनको अपेक्षा हुनेछ। बलिङमा स्कट कुग्लेइन, हेमन्त धामी र थरिन्दुको भूमिका निर्णायक हुन सक्नेछ।

आजको फाइनलले लुम्बिनीलाई उपाधि रक्षा गर्दै इतिहास रच्ने अवसर दिएको छ भने सुदूरपश्चिमलाई पुरानो हारको बदला लिँदै नयाँ इतिहास बनाउने मौका दिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours