एउटा बैंक खाताबाट खुल्यो २० करोड लुटिएको घटनाको रहस्य

२१ कात्तिक, काठमाडौँ। फेब्रुअरी २८, २०२५। बिहानीपखको समय थियो।

पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित ओथल क्षेत्रको नेसनल बैंक अफ पाकिस्तानमा एउटा गाडी आइपुग्यो। गाडीबाट सुरक्षा बलको पोसाक लगाएका केही व्यक्ति ओर्लिए।

उनीहरू हतियारसहित बैंकभित्र छिरे।

बैंकका कर्मचारीलाई उनीहरूले आफूहरू एउटा कारोबारको जाँच गर्न आएको बताए। त्यसपछि बैंकका ब्रान्च म्यानेजरलाई बोलाउन लगाए।

सुरक्षा बलकै पोसाकमा आएका व्यक्तिले जाँच गर्न खोजेपछि कर्मचारीले पनि उनीहरूमाथि धेरै प्रश्न गरेनन्। शंका पनि पनि गरेनन्।

केही बेरमै घटनाले अर्को मोड लियो।

सुरक्षाकर्मीको भेसमा आएका उनीहरूले बैंकका कर्मचारी र सुरक्षाकर्मीलाई नियन्त्रमा लिए। प्रतिरोध गर्न खोज्ने कर्मचारीलाई राइफलको कुन्दाले हिर्काए। बैंकका सुरक्षाकर्मीसँग भएको जी–३ राइफलसमेत खोसे।

त्यसपछि थाहा भयो उनीहरू सरकारी जाँचका लागि आएका थिएनन्। बैंक लुट्ने योजनासहित आएका रहेछन्।

उनीहरू त्यसपछि बैंकको नगद राखिएको स्थानमा पुगे।

त्यहाँ रहेको २० करोड २० लाख पाकिस्तानी रुपैयाँ ६ वटा बोरामा भरे। नोटले भरिएका बोराहरू गाडीको डिक्कीमा राखे। बैंकका कर्मचारीलाई नगद राख्ने भल्टभित्र थुने र त्यहाँबाट फरार भए।

बलुचिस्तान प्रान्तको लसबेला जिल्लास्थित ओथल क्षेत्रमा बैंक लुटिएको सूचना पाएपछि तत्कालीन प्रहरी चौकी प्रमुख यार मोहम्मद प्रहरी टोलीसहित घटनास्थल पुगे।

त्यतिबेलासम्म लुटेराहरू भागिसकेका थिए।

प्रारम्भिक सूचनाका आधारमा उनीहरू पुरानो मोडलको गाडीमा आरसिडी राजमार्ग हुँदै गएको प्रहरीले थाहा पायो। पछि गाडी बलुच गोठतर्फ गएको सूचना प्राप्त भयो।

त्यसपछि प्रहरीले गाडी पछ्याउन थाल्यो। तर, लुटेराहरूले प्रहरी टोली नजिक आएको थाहा पाएपछि गोली चलाउन थाले।

बिबिसीसँग कुरा गर्दै यार मोहम्मदले आफूलाई दुई गोली लागेको बताएका छन्। एउटा गोली खुट्टामा र अर्को आँखानजिक लागेको थियो। उक्त घटनामा उनले एउटा आँखाको ज्योति गुमाए।

प्रहरी प्रमुख घाइते भएपछि लुटेराहरू पहाडी क्षेत्रतर्फ भागे।

भाग्नुअघि उनीहरूले प्रयोग गरेको गाडीमा आगो लगाए। गाडीसँगै लुटपाटमा प्रयोग गरिएका दुईवटा हतियारसमेत जलाए।

उनीहरूले गाडी किन जलाए भन्ने प्रश्नको जवाफ पनि अनुसन्धानका क्रममा खुल्यो।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार गाडी प्रहरीको हातमा परेको भए त्यसबाट औँठाछाप र अन्य फरेन्सिक प्रमाण प्राप्त हुन सक्थ्यो। त्यसैले प्रमाण मेटाउन उनीहरूले गाडी नै जलाएका थिए।

यसले लुटपाटमा संलग्न उनीहरूले भाग्ने बाटोदेखि प्रमाण मेटाउने उपायसम्म सोचिसकेका थिए भन्ने प्रष्ट हुन्छ। यति योजनाबद्ध ढंगले गरिएको अपराधमा प्रहरी कहिल्यै आफूहरूसम्म पुग्न सक्ने छैन भन्ने उनीहरूलाई लागेको हुन सक्छ।

तर, उनीहरूको योजनामा एउटा कुरा छुटेको थियो—बैंक खाता।

घटना भएको करिब डेढ वर्षपछि त्यही बैंक खातामा भएको अस्वाभाविक कारोबारले उनीहरूको पहिचान खोलिदियो।

विश्वविद्यालयका विद्यार्थी थिए लुटेरा

लुटपाटपछि प्रहरीले लामो समयसम्म अभियुक्तको पहिचान गर्न सकेन। योजनाबद्ध ढंगले प्रमाण नष्ट गरिएकाले अनुसन्धान चुनौतीपूर्ण बनेको थियो।

तर, अनुसन्धान गर्दै जाँदा प्रहरी एउटा अनौठो निष्कर्षमा पुग्यो।

बैंक लुट्ने गिरोहमा संलग्न पाँच जना लसबेला युनिभर्सिटी अफ मरीन साइन्सेजका वर्तमान तथा पूर्वविद्यार्थी थिए।

लसबेला प्रहरी प्रमुख एसएसपी नजीबुल्लाह पन्दरानीका अनुसार पक्राउ परेका मुख्य योजनाकार विश्वविद्यालयमै अध्ययनरत थिए। अन्य केही अभियुक्त पनि अध्ययनरत थिए भने केहीले पढाइ पूरा गरिसकेका थिए। उनीहरू २५ देखि २६ वर्ष उमेर समूहका थिए।

प्रहरीका अनुसार मुख्य अभियुक्तले नै साथीहरूसँग मिलेर बैंक लुट्ने योजना बनाएका थिए।

उनीहरूमध्ये एक जनाले यसअघि तुरबतस्थित एउटा बैंकमा काम गरिसकेका थिए। उनलाई बैंकभित्र नगद कहाँ राखिन्छ, बैंकको काम गर्ने तरिका कस्तो हुन्छ र कसरी ठूलो रकमसम्म पुग्न सकिन्छ भन्ने जानकारी थियो।

यही जानकारीलाई आधार बनाएर उनीहरूले बैंक लुट्ने योजना बनाएको अनुसन्धानमा संलग्न एक अधिकारीले बिबिसीलाई बताएका छन्।

उनीहरूले सुरक्षा बलको पोसाकसमेत आफैँ सिलाउन लगाएनन्। एउटा कम्पनीबाट अनलाइनमार्फत तयारी पोसाक मगाएका थिए। प्रहरीका अनुसार ती पोसाक सन् २०२४ डिसेम्बरमै मगाइएको थियो।

अर्थात्, लुटपाट हुनुभन्दा दुई महिनाअघिदेखि नै उनीहरूले तयारी थालेका थिए।

करोडौँको कारोबारले खोल्यो पोल

लुटपाट भएको डेढ वर्षसम्म अभियुक्तहरू प्रहरीको पहुँचबाहिर रहे। तर, मुख्य अभियुक्तको बैंक खातामा भएको कारोबारले अनुसन्धानलाई नयाँ दिशा दियो।

लसबेलाका प्रहरी प्रमुख पन्दरानीका अनुसार लुटपाटअघि मुख्य अभियुक्तको बैंक खातामा केही हजारको मात्रै कारोबार हुने गरेको थियो। तर, घटनापछि त्यही खातामा करोडौँ रुपैयाँको कारोबार हुन थाल्यो।

प्रहरीले खाताको कारोबार विश्लेषण गर्दा पछिल्लो डेढ वर्षमा १७ करोड पाकिस्तानी रुपैयाँ बराबरको रकम ओहोरदोहोर भएको पत्ता लगायो।

सामान्य रूपमा सानो रकमको कारोबार हुने खातामा अचानक करोडौँ रुपैयाँको कारोबार हुन थालेपछि प्रहरीले शंका गरेको थियो। त्यसपछि रकमको स्रोत र कारोबारमा संलग्न व्यक्तिबारे अनुसन्धान अघि बढाइयो।

अन्ततः प्रहरीले मुख्य अभियुक्तलाई पक्राउ गर्‍यो। उनको बयान र सूचनाका आधारमा थप दुई जनालाई पनि पक्राउ गर्न सफल भयो।

एसएसपी पन्दरानीले पत्रकार सम्मेलन गरेर तीन जना पक्राउ परेको जानकारी दिएका छन्। अन्य अभियुक्तको खोजी भइरहेको छ।

लुटेको पैसाले किने चार करोडभन्दा बढीका गाडी

प्रहरीको अनुसन्धानले लुटिएको रकम कहाँकहाँ पुग्यो भन्ने विवरणसमेत फेला पारेको छ।

लुटिएको रकममध्ये करिब दुई करोड ७५ लाख पाकिस्तानी रुपैयाँ स्थानीय एक व्यवसायीको बैंक खाताबाट कारोबार भएको खुलेको छ।

ती व्यवसायीले उक्त कारोबार स्वीकार गरेको र मजिस्ट्रेटसमक्ष बयानसमेत दिएको अनुसन्धान अधिकारीले बताएका छन्।

लुटिएको रकमको केही हिस्सा व्यावसायिक गतिविधिमा लगानी गरिएको थियो। त्यही रकमबाट चार करोड पाकिस्तानी रुपैयाँभन्दा बढी मूल्यका गाडी र अन्य सामग्री खरिद गरिएको प्रहरीको भनाइ छ।

प्रहरीले तीमध्ये केही सामान बरामद गरिसकेको छ। बाँकी रकम र सम्पत्ति खोज्ने काम भइरहेको छ।

पक्राउ परेका अभियुक्तका मोबाइल फोनको फरेन्सिक परीक्षणसमेत गरिएको छ। थप प्रमाण जुटाउन ती फोन पन्जाबस्थित फरेन्सिक प्रयोगशालामा पठाइएको छ।

पक्राउ परेका अभियुक्तलाई १४ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गरेपछि न्यायिक हिरासतमा पठाइसकिएको एसएसपी पन्दरानीले बताएका छन्।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी रहेको एसएसपी पन्दरानीले बिबिसीलाई बताएका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours