कलाकार रमेश दुलालले यसपालि पनि कागको आवाज निकालेर गरे काग सम्मेलन

२१ कात्तिक, काठमाडौँ। यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर कलाकार रमेश दुलालले यस वर्ष पनि काठमाडौँमा २३औँ काग सम्मेलन सम्पन्न गरेका छन्। आफ्नो मुखबाट कागको हुबहु आवाज निकालेर काग भेला पार्ने अनौठो कलाका कारण चर्चामा रहने दुलालले शनिबार बिहान नारायणहिटी दरबारमार्ग परिसरमा सम्मेलन आयोजना गरेका हुन्।

राष्ट्रिय संगीतकर्मी संघ र इलामको सन्दकपुर गाउँपालिकाको आयोजनामा सम्पन्न सम्मेलनमा दुलालले मुखबाट कागको आवाज निकालेपछि आकाशमा सयौँ काग भेला भएका थिए। उनले आवाज निकाल्न थालेको केही समयमै टाढाटाढाबाट कागहरू उडेर कार्यक्रममा आइपुगेका थिए।

करिब १०० प्रकारका आवाज हुबहु निकाल्न सक्ने क्षमता भएका दुलालले २३ वर्षदेखि निरन्तर काग तिहारको दिन काग सम्मेलन गरिरहेका छन्। राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्षसमेत रहेका उनले सम्मेलनको २५औँ संस्करणलाई विशेष र भव्य बनाउने योजना सुनाए।

त्यस अवसरमा ठुलो स्टेज निर्माण गरी कार्यक्रमलाई अझ व्यवस्थित र आकर्षक रूपमा आयोजना गर्ने उनको तयारी छ। काग सम्मेलनमार्फत उनले मनोरञ्जनसँगै समसामयिक राजनीतिक सन्देश पनि दिएका छन्।

नयाँ पुस्ताका नेताहरूले देशलाई चाँडोभन्दा चाँडो विकासको गतिमा अघि बढाउनेमा आफू आशावादी रहेको उनले बताए।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवालसहित विभिन्न कलाकार तथा संगीतकर्मीहरूको सहभागिता थियो।

हरेक वर्ष काग तिहारलाई विशेष बनाइरहेका दुलालको यो अनौठो कला र काग सम्मेलनले तिहारको सांस्कृतिक र मनोरञ्जनात्मक पक्षलाई समेत थप रोचक बनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours