१७ कार्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा ६४० जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८२ जना कसुरदार रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कात्तिक ९ गतेदेखि १६ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउपर्नेमा ५५९ पुरुष, ७८ महिला र तीन जना अन्य रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८२ जना तथा चालु मुद्दामा फरार रहेका २० जना प्रतिवादी रहेका छन् । उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
विशेष अभियानअन्तर्गत सार्वजनिकस्थल, सार्वजनिक यातायात, सरकारी कार्यालय आसपास, बसपार्क, व्यस्त बजार तथा बढी भिडभाड हुने क्षेत्रमा निगरानी र जाँचलाई तीव्र पारिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्नुका साथै सम्भावित आपराधिक गतिविधि रोकथाम र नियन्त्रण गर्न विशेष प्रहरी टोली परिचालन गरिएको जानकारी दिए।
अनुसार बसपार्क, सार्वजनिक यातायात, व्यस्त बजार तथा सेवाग्राहीको बढी उपस्थिति रहने सरकारी कार्यालय आसपास चोरी, लुटपाट, दुव्र्यवहार र बिचौलियाका गतिविधि हुनसक्ने भएकाले त्यस्ता क्षेत्रमा विशेष निगरानी बढाइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ परेका व्यक्तिमाथि लागेका आरोप तथा उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले अपराध नियन्त्रण र नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्न विशेष निगरानी तथा जाँच अभियानलाई निरन्तरता दिने जनाएको छ।


+ There are no comments
Add yours