के हो स्किनकेयरको नयाँ ट्रेन्ड ‘स्लगिङ’? जान्नुहोस् क-कसले गर्नुहुँदैन

१६ कार्तिक, काठमाडौँ । सामाजिक सञ्जालमा छालाको हेरचाहसम्बन्धी धेरै ट्रेन्डहरू आइरहन्छन्, ‘स्लगिङ’ पनि यस्तै एउटा ट्रेन्ड हो। 

यो कोरियन ब्युटी रुटिनको एउटा हिस्सा हो। यसमा राति सुत्नुअघि अनुहारमा भ्यासलिन वा पेट्रोलियम जेलीको बाक्लो पत्र लगाइन्छ। 

यसको मुख्य उद्देश्य छालामा नमी (मोइस्चर) कायम राख्नु भए तापनि यो सबैका लागि प्रभावकारी उपाय भने होइन। यहाँ हामी ‘स्लगिङ’ के हो र यसका साइड इफेक्टहरू के-के हुन् भन्नेबारे जानकारी दिनेछौँ।

‘स्लगिङ’ गर्नाले बिहान उठ्दा छाला मुलायम, चम्किलो र हाइड्रेटेड देखिन्छ भन्ने मान्यता छ। विशेषगरी सुक्खा र फुस्रो छाला भएका मानिसहरूले यसबाट फाइदा लिन सक्छन्। 

यद्यपि, सबै प्रकारको छालाका लागि यो उपयुक्त हुँदैन। कतिपय मानिसहरूमा यो तरिकाले डन्डीफोर आउने, पोर्स बन्द हुने र छाला पोल्ने समस्या निम्त्याउन सक्छ। त्यसैले, यो तरिका अपनाउनुअघि कस्ता मानिसहरूले यस ट्रेन्डबाट टाढै रहनुपर्छ भन्ने कुरा जान्न जरुरी छ।

  • के हो ‘स्लगिङ’?

‘स्लगिङ’मा पेट्रोलियम जेलीको बाक्लो पत्र लगाएर छालामा एउटा सुरक्षात्मक कवच बनाइन्छ। यसले छालाबाट नमीलाई बाहिर निस्कन दिँदैन। यस्तो गर्दा छाला अझ बढी हाइड्रेटेड, मुलायम र चम्किलो देखिन्छ। जाडो मौसममा यो उपाय निकै लाभदायक साबित हुन सक्छ।

यी ४ प्रकारका मानिसले गर्नुहुँदैन ‘स्लगिङ’:

१. यदि तपाईंको छाला चिल्लो (ओइली) छ वा अनुहारमा बारम्बार डन्डीफोर आइरहन्छ भने ‘स्लगिङ’बाट बच्नुपर्छ। भ्यासलिनको बाक्लो पत्रले छालामा रहेको तेल, पसिना र मृत कोषिकाहरूलाई भित्रै रोक्न सक्छ। यसले गर्दा डन्डीफोरको समस्या बढ्न सक्छ र दुख्ने खटिराहरू आउन सक्छन्।

२. यदि तपाईं राति रेटिनोल, ट्रेटिनोइन, ग्लाइकोलिक एसिड, स्यालिसिलिक एसिड वा भिटामिन ‘सी’ युक्त उत्पादनहरू लगाउनुहुन्छ भने त्यसको माथि भ्यासलिन लगाउनुहुँदैन। यसो गर्दा यी सक्रिय तत्त्वहरूको प्रभाव बढ्न जान्छ र छाला पोल्ने, रातो हुने तथा छालाको पत्र उप्किने जस्ता समस्या देखा पर्न सक्छन्।

३. छालामा आउने साना सेता दाना हुन्छन्, जसमा केराटिन जम्मा भएको हुन्छ। विशेषगरी आँखाको वरिपरि र गालामा यी दानाहरू देखिन्छन्। भ्यासलिन जस्ता भारी उत्पादनहरूले कतिपय मानिसमा यो समस्या झन् बढाउन सक्छन्।

४. यदि अनुहारमा पाकेका डन्डीफोर, खटिरा, घाउ वा कोल्ड सोर अर्थात् भाइरल इन्फेक्सन छ भने ‘स्लगिङ’ गर्नुहुँदैन। यस्तो अवस्थामा प्रभावित ठाउँमा ब्याक्टेरिया वा भाइरस फस्न सक्छन् र सङ्क्रमण बढ्ने खतरा हुन्छ।

‘स्लगिङ’को सट्टा यी विकल्पहरू अपनाउनुहोस्:

  • नियासिनामाइड, ह्यालुरोनिक एसिड र सेन्टेला एसियाटिका युक्त हल्का जेल मोइस्चराइजर लगाउनुहोस्।
  • सेरामाइड्स, स्क्वालेन र फ्याटी एसिडयुक्त मोइस्चराइजर प्रयोग गर्नुहोस्।
  • मारुला ओइल र रोजहिप सिड ओइल जस्ता विकल्पहरू पनि छनोट गर्न सक्नुहुन्छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours