३० असाेज, काठमाडौँ । काठमाडौँ महाराजगन्जकी तुलसा थपलियालाई बाथरोगले सताएको १५ वर्ष भयो । रोगबाट मुक्ति पाउने आशामा उहाँ उपचारका लागि भारतसम्म पुग्नुभयो । नेपालमा उहाँले काठमाडौँस्थित नेसनल बाथरोग सेन्टरमा उपचार गराइरहनुभएको छ । एक दशकभन्दा बढी समयदेखि उपचाररत थपलियाले अझै नियमित औषधी सेवन गरिरहनुभएको छ । जाडो मौसममा बिहान उठ्नै नसक्ने, हातखुट्टा कक्रयाककुक्रुक पर्ने जस्ता समस्या देखा पर्छन् ।
समयमै रोगको पहिचान र उचित उपचार हुन नसक्दा बाथका बिरामीले लामो समयसम्म औषधी सेवन गर्नुपर्ने बाध्यता रहेको छ । नेपालमा हाडजोर्नी, मांसपेशी तथा शरीरका अन्य अङ्गमा असर गर्ने बाथरोगबाट प्रभावितको सङ्ख्या धेरै छ ।
वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनीत वैद्य समयमै पहिचान नहुनु बाथरोगको प्रमुख चुनौती बताउनुहुन्छ । उहाँले धेरै बिरामीले सुरुमा देखिने लक्षणलाई सामान्य दुखाइ सम्झेर बेवास्ता गर्ने र समस्या बढेपछि मात्र स्वास्थ्य संस्थामा पुग्ने गरेका बताउनुभयो । यसले रोग जटिल बन्ने जोखिम बढाउने डा. वैद्यको भनाइ छ ।
बाथरोग एउटै रोग नभई विभिन्न प्रकारका रोगको समूह हो । यसले जोर्नी, हड्डी र मांसपेशीमा असर गर्नुका साथै कतिपय अवस्थामा मुटु, फोक्सो तथा मिर्गौलासमेत प्रभावित पार्न सक्छ । औँलाका जोर्नी दुख्ने वा सुन्निने, बिहान उठ्दा हातखुट्टा कक्रयाक्क पर्ने, जोर्नी चलाउन कठिन हुने र शरीरका विभिन्न भाग सुन्निने यसका सम्भावित लक्षण हुन् । बाथरोगको उपचारमा आर्थिक अवस्थाले पनि प्रभाव पारिरहेको छ ।
बाथरोग विशेषज्ञ डा. सुधीर कर्माचार्यले दीर्घकालीन प्रकृतिका कारण बिरामीले लामो समयसम्म औषधी सेवन, परीक्षण र चिकित्सकीय निगरानीमा रहनुपर्ने बताउनुभयो । उहाँले यसले आर्थिक रूपमा कमजोर बिरामीलाई उपचार निरन्तरता दिन कठिन बनाउने बताउनुभयो ।
सरकारी अस्पतालमा बाथरोग विशेषज्ञको दरबन्दी नहुँदा पनि बिरामीले सहज रूपमा सेवा पाउन सकेका छैनन् । धेरै अस्पतालमा जनरल फिजिसियनबाटै उपचार व्यवस्थापन गर्नुपर्ने अवस्था छ । विशेषज्ञ सेवा सीमित हुँदा बिरामीले लामो समय कुर्नुपर्ने, निजी स्वास्थ्य संस्थामा जानुपर्ने वा उपचारका लागि अन्यत्र धाउनुपर्ने समस्या देखिन्छ । रोगको व्यापकता, जोखिम समूह, उपचारको पहुँच र बिरामीले भोग्ने आर्थिक भारबारे विस्तृत अध्ययन नहुँदा प्रभावकारी नीति तथा कार्यक्रम बनाउन कठिन भएको छ ।
डा. कर्माचार्यले बाथरोगको प्रभावकारी व्यवस्थापनका लागि प्रत्येक प्रदेशमा विशेषज्ञ सेवा विस्तार गर्नुपर्ने बताउनुभयो । बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मीले आवश्यक औषधीको उपलब्धता, स्वास्थ्यकर्मीलाई तालिम र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
डा. नकर्मीले रोगको समयमै पहिचान, सहज विशेषज्ञ सेवा र निरन्तर उपचारको व्यवस्था गर्न सके बिरामीले भोग्ने कठिनाइ कम गर्न सकिने बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार १० प्रतिशत नेपालीमा बाथरोग रहेको छ । सङ्गठनको तथ्याङ्कलाई आधार मान्दा ३० लाख मानिस बाथरोगबाट प्रभावित छन् ।


+ There are no comments
Add yours