पोखरा विमानस्थलमा ‘आरएनपी एआर’ जडान हुँदै

काठमाडौँ, असोज ३० गते । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसम र कमजोर दृश्य क्षमता (भिजिबिलिटी) मा पनि उडान सञ्चालन गर्न भूउपग्रहमा आधारित प्रविधि (आरएनपी एआर) जडानको प्रक्रिया अघि बढेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, डाइभर्ट र उडान रद्द हुने समस्या न्यूनीकरण गर्न भूउपग्रहमा आधारित आधुनिक हवाई मार्गनिर्देशन प्रणाली जडान गर्न प्राविधिक अध्ययन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले पोखराको हवाई सेवालाई थप सुरक्षित, नियमित र विश्वसनीय बनाउन भूउपग्रहमा आधारित प्रविधि प्रयोगमा ल्याउने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर अवतरण प्रक्रिया कार्यान्वयनको प्रक्रिया अघि बढेको छ । यसबाट प्रतिकूल मौसम र कम दृश्य क्षमताका कारण हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने अवस्था तथा उडान रद्द हुने समस्या घटाउन सहयोग पुग्ने छ ।”

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल पोखरा विमानस्थलमा रेडियो सङ्केतमा उडान–अवतरण हुँदै आएको छ । विमानस्थलको भौगोलिक अवस्थिति, आसपासका पहाडी भूबनोट तथा प्राविधिक र सञ्चालनसम्बन्धी सीमितताका कारण प्रतिकूल मौसम र कम दृश्यक्षमता भएका बेला उडान सञ्चालनमा चुनौती उत्पन्न हुने गरेकाले प्राधिकरणले भूउपग्रहमा आधारित प्रणाली जडानका लागि प्रारम्भिक अध्ययन अघि बढाएको हो ।

उक्त प्रणाली कार्यान्वयनमा ल्याउन विस्तृत प्रक्रिया डिजाइन, प्राविधिक प्रमाणीकरण, सुरक्षा मूल्याङ्कन तथा प्रचलित नियामकीय मापदण्ड अनुसार आवश्यक स्वीकृति प्राप्त गर्नुपर्ने छ । यी प्रक्रिया पूरा भएपछि कम दृश्यता भएका अवस्थामा समेत हवाई उडान सञ्चालन गर्न सहज हुने जनाइएको छ ।

उक्त प्रणाली सञ्चालनमा आएपछि प्रतिकूल मौसमका कारण उडानलाई अन्य विमानस्थलमा मोड्नुपर्ने, अवतरण प्रक्रिया पूरा गर्न नसकी पुनः प्रयास गर्नुपर्ने तथा उडान रद्द गर्नुपर्ने अवस्थामा कमी आउने छ । यसले यात्रुलाई थप नियमित, भरपर्दो र सुरक्षित हवाईसेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours