Advertisement

युवामा सेक्स प्रति बढिरहेको अरुचि

0 2,548

Advertisement

संसारभर कम उमेरका जोडी, खासगरी विवाहित मिलेनियल्स वा युवामा सेक्सप्रति अरुचि बढिरहेको छ । 

सन् १९८० को दशकको सुरुवातदेखि १९९० को दशकको अन्त्यबीच जन्मिएका मानिसलाई मिलेनियल्स वा जेनेरेसन वाइ भनिन्छ । मानव शारीरिक सम्बन्धलाई लिएर सबैभन्दा बढी सक्रिय हुनुपर्ने उमेर हो यो । यसलाई सेक्सुअल प्राइम समय पनि भनिन्छ । तर, यसै क्रममा युवाहरूमा सेक्सको चाहना घट्दै गरेको ट्रेन्ड देखिइरहेको छ । 

इन्डियाना युनिभर्सिटीको किन्जी इन्स्टिच्युट र सेक्स टोय बेच्ने कम्पनी ‘लभ हनी’ ले सन् २०२१ मा १८ देखि ४५ वर्ष उमेरका अमेरिकी युवामाझ एक सर्वेक्षण गरेका थिए । उक्त सर्भेका अनुसार, पछिल्ला वर्ष विवाहित जोडीमा सेक्सको चाहना घट्ने समस्या सबैभन्दा बढी मिलेनियल्समा देखियो । 

विवाहित मिलेनियल्समा २५.८ प्रतिशतलाई सेक्समा रुचि कम भएको थियो । जबकि, उनीहरूपछिको पिँढी (जेनेरेसन जेट) मा १०.५ प्रतिशत र पहिलो पिँढी (जेनेरेसन एक्स) मा २१.२ प्रतिशतले यस्तै गुनासो गरेका थिए । 

सन् १९६५ देखि १९८० को बीचमा जन्मेका मान्छेलाई जेनेरेसन एक्स र सन् १९९० को दशकको अन्तिमदेखि २०१० को दशकको सुरुवातको बीचमा जन्मेकालाई जेनेरेसन जेट मानिन्छ । मनोवैज्ञानिक शिवानी मिश्री साधु दिल्लीमा कपल थेरापिस्ट अर्थात् दम्पतीहरूलाई परामर्श दिने काम गर्छिन् । उनी पनि मिलेनियल्समा सेक्सप्रति अरुचिको समस्या बढिरहेको देख्छिन् । भन्छिन्, ‘कम उमेरका विवाहित जोडी, खासगरी मिलेनियल्सले आफूमा सेक्सप्रतिको रुचि घटिरहेको र शारीरिक सम्बन्ध कम राख्ने गरेको बताउने गरेका छन् ।’

विवाहित जोडीमा शारीरिक सम्बन्ध असाध्यै कम हुनु वा बन्द हुनुलाई सेक्सलेस म्यारिज भनिन्छ । अर्थात् यस्तो विवाह, जसमा यौन सम्बन्ध हुँदैन भन्दा पनि हुन्छ । 

विशेषज्ञका अनुसार, दम्पती वर्षमा १० भन्दा कमपल्ट सेक्स गर्छन् भने यस्तो विवाहलाई सेक्सलेस मानिन्छ । किन्जी इन्स्टिच्युटका शोधार्थी जस्टिन लेहमिलर भन्छन्, ‘जब श्रीमान्–श्रीमतीमध्ये एक वा दुवैमा सेक्सको चाहना कम हुन्छ भने शारीरिक सम्बन्ध पनि कम हुन थाल्छ । सेक्सको चाहनामा आउने यो कमीले विवाहलाई सेक्सलेस बनाउन सक्छ ।’

किन बढिरहेको छ दूरी ? 

अमेरिकाको क्यालिफोर्नियामा सेक्स थेरापिस्ट क्रिस्टिन लोजानो भन्छिन्, ‘इच्छामा असन्तुलन हुनु एक यस्तो विषय हो, जसमा ध्यान दिइएन भने समयसँगै यो बढ्दै जान्छ । यदि कोही बारम्बार पहल गर्छ तर उसको साथीले वास्तै गरिदिँदैन भने उसको आत्मसम्मानमा ठेस पुग्छ । उता वास्ता नगर्ने साथीले पनि पछुताउनुपर्ने हुन्छ । यसबाट यस्तो हालत बनिदिन्छ, कामोत्तेजना प्रभावित हुन थाल्छ ।’

उनी भन्छिन्, ‘केही अन्य मेडिकल वा मानसिक कारण पनि छन्, जसमा सेक्स गर्न असम्भव, दर्दनाक, मुस्किल वा अरुचिकर हुन्छ । व्यस्तता, कामको बोझ र बच्चाका कारण पनि सेक्समा कमी आउन सक्छ । श्रीमान्–श्रीमतीबीच एकअर्काको चाहनाबारे कुराकानी नहुनु पनि एक कारण हो ।’

यस्तो समस्याको सामना कुनै एक पिँढीले मात्र गर्नुपर्ने पनि होइन । तर, विशेषज्ञहरू यस समस्यामा ठूलो परिवर्तन देखिरहेका छन् । सान फ्रान्सिस्कोमा २० वर्षदेखि सेक्स थेरापिस्ट सेलेस्ट हर्समेन भन्छिन्, ‘पहिले, विवाहको १०–१५ वर्षपछि शारीरिक सम्बन्धमा कमी आउँथ्यो । तर, अहिले ३ देखि ५ वर्षमै यस्तो भइरहेको छ ।’

यसै कुरालाई अघि बढाउँदै ३० वर्षदेखि सेक्स थेरापिस्ट र क्यालिफोर्निया युनिभर्सिटीमा मनोरोग चिकित्साको सहायक प्रोफेसर किम्बरली एन्डरसन भन्छिन्, ‘३० वर्षअघि मसँग ५० भन्दा बढी उमेरका मानिस यस्तै समस्या लिएर आउँथे । उनीहरूको यौनइच्छा उमेरसँगै हुने बिमारी वा हर्मोनमा बदलावका कारण कम हुन्थ्यो । तर, अचेल ४५ वर्षभन्दा कम उमेरका जोडीको विवाह पनि सेक्सलेस भइरहेको छ ।’

धेरै खालका परिवर्तन 

अमेरिकाको किन्जी इन्स्टिच्युटका शोधार्थी जस्टिन लेहमिलर भन्छन्, ‘धेरै तनावले पनि यौनइच्छामा गहिरो असर पारिदिन्छ । र, मिलेनियल्स आफ्नो पछिल्लो पिँढीको तुलनामा बढी तनावको सामना गर्नुपरेको छ ।’

तनावका धेरै कारण हुन सक्छन् । जस्तो कि, बेलायतको काउन्सिलिङ नेटवर्क ‘रिलेट’ को सन् २०१८ मा गरिएको सोधअनुसार, ३० देखि ४० को बीच उमेरका ६१ प्रतिशत मानिसले आफ्नो सानो बच्चाको रेखदेखका कारण धेरै सेक्स गर्न नपाएको बताएका थिए । ३१ प्रतिशतले यतिसम्म भने कि, बच्चा जन्मेपछि उनीहरूको यौन इच्छा समाप्त भएको छ ।’

यसबाहेक मिलेनियल्समाथि करिअरमा सफल र आर्थिक रूपमा बलियो हुनुपर्ने दबाब हुन्छ । कामको बोझका कारण पनि उनीहरूले तनावको सामना गर्नुपर्छ । ग्लोबल कन्सल्टिङ कम्पनी ‘डेलाइट’द्वारा ५ देशमा गरिएको अध्ययनअनुसार, ३८ प्रतिशत मिलेनियल आफूमाथि कामको दबाब असाध्यै धेरै रहेको बताउँछन् । यो तनाव झेल्नमा पुरुष ३६ प्रतिशत छन् भने महिला ४१ प्रतिशत छन् ।

जस्टिन लेहमिलरका अनुसार, धेरैजसो मिलेनियलले आफ्नो करिअरको सुरुवात मन्दीको बेला (सन् २००८) मा गरेका थिए र अहिले उनीहरूले कोभिड महामारीको मार झेलिरहेका छन् । प्रविधि पनि तीव्र रूपले विकसित भइरहेको छ । उनीहरूले पहिलाभन्दा ज्यादा मिहिनेत गर्नुपरेको छ । उनीहरू वर्कोहलिक भइसकेका छन् । धेरै काम गर्दा हालत यस्तो भइदिन्छ, दिनको अन्तिममा उनीहरू सेक्स गर्नका लागि धेरै थाकेका हुन्छन् । 

सोसल मिडिया र पोर्न 

युवाहरूको सेक्स लाइफमा सोसल मिडिया र पोर्नको असर पनि नजरअन्दाज गर्न सकिँदैन । विशेषज्ञका अनुसार, सोसल मिडियामाथि थुप्रै ब्युटी फिल्टर हुन्छन् । यस्तोमा वास्तविक जिन्दगीमा केही मानिस आफ्नो शरीरलाई लिएर हीन भावनामा आइपुग्छन् । 

काउन्सिलिङ नेटवर्क ‘रिलेट’को सर्भेअनुसार, ३० वर्षभन्दा कम उमेरका जो युवा कम सेक्स गरिरहेका थिए, तीमध्ये ३७ प्रतिशत आफ्नो शरीरलाई लिएर हीन भावनाको सिकार थिए ।

उता, न्युयोर्कका सेक्स थेरापिस्ट स्टिफ स्नाइडर भन्छन्, ‘धेरैजसो मिलेनियल जब ठूला भइरहेका थिए, तब इन्टरनेटमा पोर्नको उपलब्धता बढिरहेको थियो । अब यस्तो देखिँदै छ, केही मानिस वास्तवमा सेक्स गर्नुको साटो पोर्न हेरेर धेरै आनन्द अनुभव गर्छन् ।’

के हो समाधान ? 

तनाव दिने कारणलाई पूर्णत: जीवनबाट हटाउन सकिँदैन । न त पोर्न वा सोसल मिडियाको प्रभावलाई समाप्त गर्न सकिन्छ । उसो भए यी कारणबाट बिरामीलाई सेक्सलेस हुनबाट कसरी बचाउने त ? 

मनोवैज्ञानिक शिवानी मिश्री साधु भन्छिन्, ‘शारीरिक सम्बन्धमा श्रीमान्–श्रीमती दुवैको इच्छा हुनुपर्छ वा दुवैले सन्तुष्टि पाउनुपर्छ । आपसी संवाद, विश्वास र एकअर्काको चाहत वा सीमाको ख्याल राख्नुपर्ने हुन्छ ।  सम्बन्ध कतिपल्ट बन्छ भन्नेभन्दा बढी महत्त्वपूर्ण कुरा तपाईंबीच सम्बन्ध कसरी बनिरहेको छ भन्ने हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.