Advertisement

झुठो विवरण पेश गरी नागरिकता लिने ‘आमा–छोरा’पक्राउ

0 9

Advertisement

१३ जेठ,पर्सा। किर्ते गरी नागरिकता लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले दुईजनालाई पक्राउ गरेको छ ।

झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने वीरगञ्जका दुई जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । किर्ते गरी नागरिकता लिएका आमा छोरालाई प्रहरी चौकी आदर्शनगरले शुक्रवार पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर बस्ने अमन जलान भन्ने अमन चौधरी(अग्रवाल) र उनकी आमा अञ्जु चौधरी रहेकी छन् । २०८० साउन २३ गतेको मन्त्रिपरिषद्को बैठकले अमन चौधरी (अग्रवाल) ले झुठो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय पर्साबाट लिएको नागरिकता रद्द गरी कानुनी कारबाही अगाडि बढाउन आदेश दिएको थियो ।

नागरिकता सम्बन्धी ऐन, २०६३ को दफा (१४)१ बमोजिम सरकारले उनको नागरिकता प्रमाणपत्र रद्द गरी संलग्न व्यक्तिहरुलाई कारबाही गर्न मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७७ कार्तिक २५ मा अमनले वंशजको आधारमा नेपाली नागरिकता लिएका थिए । मन्त्रिपरिषद्को निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय पर्साले २०८० भदौ ३१ मा भारतीय नागरिक अमन चौधरी (अग्रवाल) को नागरिकता रद्द गरेको सूचना अग्रवाललाई समेत दिएको थियो ।

अग्रवालले पर्सा जिल्लाबाट २०७७ साल कात्र्तिक २५ गते नागरिकता लिएका थिए । तर उनकी आमा सोफिया रुथ भण्डारीले कास्की जिल्ला प्रशासन कार्यालयबाट २०७९ साउन २६ गते वंशजको आधारमा नागरिकता लिएकी थिईन् । सोफियाको नामबाट नागरिकता बनाएकी अमन अग्रवालकी आमाको वास्तविक नाम अञ्जु चौधरी रहेको छ । उनको नागरिकता पनि नागरिकता सम्बन्धी ऐन, २०६३ को दफा (१४)१ बमोजिम सरकारले रद्द गरेको थियो ।

सरकारले नागरिकता रद्द गर्ने बैठकबाटै संलग्न व्यक्तिहरुलाई कारबाही गर्ने निर्णय पनि गरेको थियो । अमनलाई जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत अर्जुन पौडेलले नागरिकता को प्रमाण–पत्र दिएका थिए । उनीहरु विरुद्ध असोज २०८० मा पक्राउ पुर्जी जारी भएको थियो । नेपाल प्रहरीको फरार प्रतिवादी सूचीमा रहेका अग्रवाललाई प्रहरीले पक्राउ गरेको थिएन् ।

शुक्रवार बिहान प्रहरी चौकी आदर्शनगरले आमा र छोरा दुवैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता समेत रहेका डीएसपी केशर कुमार न्यौपानेले जनाएका छन् । दुवै जनाविरुद्ध नागरिकता सम्बन्धी कसूरमा कारवाही प्रक्रिया अघि बढाइएको उनले बताए । प्रहरीले नागरिकता किर्ते गरेको कसुरमा आमा छोरालाई पक्राउ गरे पनि नागरिकता जारी गर्ने प्रशासकीय अधिकृत पौडेल, त्यसको जन्मदर्ता र नागरिकताका लागि सिफारिस गर्ने वडा कार्यालयलाई कारबाहीको दायरामा ल्याइएको छैन् ।

त्यस्तै कास्की प्रहरीले पनि नाम र अन्य विवरण ढाँटेर नागरिकताको माग गर्नेलाई वंशजको आधारमा नागरिकता प्रमाण पत्र उपलब्ध गराउने प्रशासकीय अधिकृत, जन्मदर्ता र सिफारिस गर्ने वडा कार्यालयलाई कारबाहीको दायरामा ल्याएको छैन् । चौधरी आमा छोराले वंशजको किर्ते गरी वंशजको नागरिकता प्रक्रियागत रुपमा प्राप्त गरेको देखिदैन् ।

नागरिकता प्रमाण–पत्र बनाउन उनीहरुले पर्याप्त धनराशी खर्च गरेको देखिन्छ । अञ्जुले सोफियाको नामबाट नागरिकता लिन कायम गरेकी आमावुवा पनि नक्कली नै रहेको देखिन्छ । सोफिया रुथ भण्डारीका पिता र आमा पनि कारबाहीको दायरामा पर्ने सरकारको निर्णय छ । तर चौधरी आमा छोरालाई मात्र प्रहरीले झण्डै ९ महिनापछि पक्राउ गरेको छ ।

आदर्शनगरमा घर र वीरगञ्जमा व्यवसाय गर्ने चौधरी परिवारवारे यतिको दिन सम्म प्रहरी अनभिज्ञ पनि थिएन् । स्रोतहरुका अनुसार प्रहरीसित सेंटिंग गरी अमन र अंजु निर्भिक रुपमा आफना काममा लागेका थिए । त्यस वापत उनीहरुले प्रहरीलाई ‘राम्रो सेवा’गर्दै आएको स्थानीयहरु बताउँछन् । अमन र अञ्जुलाई कारबाही गरिए पनि किर्ते नागरिकता लिएका कयौं मानिस प्रहरी र प्रशासनसित मिलोमतो गरी कारबाहीको दायरामा आएका छैनन् । त्यस्ता नागरिक प्रहरीको नियमित ‘आयस्रोत’ रहेको आरोप लाग्दै आएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.