Advertisement

सडक विस्तार गर्न भत्काइयो शहीदगेट

0 18

Advertisement

१६ जेठ, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको शहीदगेट भत्काइएको छ। पृथ्वीराजमार्ग विस्तार गर्न लागि मंगलबार बिहान उक्त शहीदगेट भत्काइएको हो।

मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त शहीदगेट भत्काएको इञ्जीनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। नेकपा (माओवादी) केन्द्रले उक्त शहीदगेटको निर्माण गरेको थियो। शहीदगेटमा तनहुँ जिल्लामा विभिन्न समयमा सहादत प्राप्त गरेका सहिदको विवरण समेटिएको थियो।

मुग्लिन–पोखरा सडकखण्डलाई ४ लेनमा विस्तार गर्न काम भइरहेको छ। मुग्लिनबाट पोखरासम्मको खण्डलाई दुई भागमा ठेक्का सम्झौता गरी काम भइरहेको छ।

सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि आगामी आर्थिक वर्षमा रु पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार संघीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सडक विस्तारका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए।

मुग्लिनबाट पोखरासम्म सडक ४ लेनमा विस्तार गर्नका लागि काम भइरहेकामा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री महतले बताए। मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ। आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा २५ र जामुनेबाट कोत्रेसम्मको पश्चिम खण्डमा छ दशमलव शून्य पाँच प्रतिशत प्रगति हासिल भएको छ।

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रका लागि परीक्षण सुरु भइसकेको छ। चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई अगाडि बढाइएको आयोजना प्रमुख नरेन्द्र सुवेदीले बताए।

आँबुखैरेनी गाउँपालिका–१ स्थित बरादीस्थित सडकमा दुई सय मिटर दूरीमा परीक्षण गरिएको सुवेदीले बताए। उनले भने, ‘यसको जाँच गर्ने काम सुरु भएको छ, यसको मोटाइलगायतका पक्षको जाँचको प्रतिवेदन आएपछि कालोपत्र नै सुरु गर्ने तयारीमा छौँ।’ वैशाखमै कालोपत्र गर्ने तयारी गरिए पनि प्राविधिक कारणवश ढिलाइ भएको उहाँको भनाइ छ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि सुरु भएको थियो। ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ। पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ।

२०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.