Advertisement

सेतीको खोच सम्पदा कम र खतरा बढी

0 20

Advertisement

फडिन्द्र अधिकारी

१५ वैशाख, लेखनाथ । 
पोखरा उपत्यकालाई मध्य भागबाट चिरेर बग्ने सेती नदीले पोखरावासीलाई बारम्बार स्तब्ध बनाइरहन्छ । कतै देखिएर र कतै लुकेर बग्ने सेतीको खोच पोखरेलीलाई सम्पदा कम र खतरा बढी साबित भएको छ । 

अघिल्लो वर्ष यो खोचमा आठ जनाले ज्यान गुमाए । चालु आर्थिक वर्षको हालसम्ममा १० जनाको जीवन खोचमै समाप्त भएको छ । 

गाईघाटबाट करिब सात किलोमिटर महानगरको मुख्य बस्ती हुँदै बग्ने सेती नदी सीतापाइलामा पुगेपछि खुला देखिन्छ । यो नदी गाईघाट, फूलबारी, रामघाटदेखि सीतापाइलासम्म गरी तीन ठाउँमा गहिरो गल्छी बनाएर बगेको छ । 

नदी आसपास पूर्वाधार बनाउन महानगरले मापदण्ड त बनाएको छ तर किनारबाटै घर ठडिएका छन् । ठाउँ ठाउँमा भूमिहीनका बाक्ला अव्यवस्थित बस्तीसमेत छन् । किनारका घरले फोहोर पानी र घरायसी फोहोरसमेत नदीमै विसर्जन गरिरहेका छन् । 

घटना र दुर्घटना

१२ वर्षअघि वैशाख २३ गते आएको सेती नदीको बाढीमा परी ६५ जनाले ज्यान गुमाएका थिए । गत वर्ष यही नदीको गहिरो गल्छीमा यति एयरको विमान खस्दा ७२ जनाको ज्यान गएको थियो । 

२०३८ सालको चर्चित नमिता सुनिता काण्डको घटनास्थल पनि यही खोच हो । काठमाडौँबाट पोखरा घुम्न आएका नमिता र सुनिता बेपत्ता भएको दुई साताभित्र शव भेटिएको थियो । देशैभर तरङ्ग सिर्जना गरेको नमिता सुनिता काण्ड जस्तो चर्चा नभए पनि बारम्बार सेतीमा घटना हुने गरेका छन् । 

२०६५ असार १० गते साढे दुई वर्षीया बालिका आराधना प्रधान सेती खोचमा खस्नुभयो । ६० फिट गहिरो खोचबाट १२ वर्षीय बालक कमल नेपालीले उहाँलाई निकाल्नुभएको थियो । सेतीमा खस्ने विरलैको भाग्य मात्र आराधनाको जस्तो हुन्छ, धेरैजसोको मृत्यु हुने गरेको छ । 

मानिस सेती खोचमा खसेको सूचना आएपछि प्रहरीले खोजी त सुरु गर्छ तर प्रहरीसँग यसका लागि छुट्टै तालिमप्राप्त उद्धार टोली छैन । प्रदेश प्रहरी गणको उद्धार टोलीलाई अनुरोध गर्ने गरिएको छ । त्यहाँ उद्धारका लागि सशस्त्र र नेपाली सेनाको टोलीलाई समेत अनुरोध गरी संयुक्त रूपमा उद्धार गरिँदै आएको छ । सेतीका खोच यति साँघुरा छन् कि धेरैजसो ठाउँमा दुवै किनारका रुखले छोपेर नदी नै देख्न मुस्किल पर्छ । नदीछेउमा ठाउँ ठाउँमा गहिरा भ्वाङ छन् । 

सेतीमा खसेका एकाधबाहेकलाई उद्धार टोलीले मृत निकाल्ने गरेको छ । खोजी गर्न प्रहरीले बारम्बार सेती नदीको बाँध खोली पानीको बहाव बढाउनुपरेको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले भन्नुभयो, “केही साताअघि हामीले एक बालकले पुलबाट हामफालेको सिसी क्यामेरामा देख्यौँ । तल बजारिएको ठाउँमा रगत र गिदी पनि भेटियो, शव फेला परेन ।” करिब दुई किमी खोच क्षेत्र ढाकिए यस्ता घटना धेरै हदसम्म कम हुने उहाँले औँल्याउनुभयो । 

संरक्षण र सौन्दर्यीकरणको खाँचो

भूगोलविद् प्राडा कृष्ण केसीले सेती नदीको खोच, खुला ठाउँ र वरिपरिको क्षेत्रलाई संरक्षणपछि सौन्दर्यीकरण गर्नुपर्नेमा जोड दिनुभयो । “पहिला यसको संरक्षण जरुरी छ । त्यसपछि सौन्दर्यीकरण गर्नु पर्छ । यो आकर्षक र अद्वितीय पर्यटकीय गन्तव्य बन्न सक्छ,” उहाँले थप्नुभयो । अमेरिकी नागरिक डेनियल सी टेलर र जेनिफर इडले सन् १९७१ मा सेती नदीमा ¥याफ्टिङ गरेपछि नदी र खोचतिर मानिसको दृष्टि पुगेको थियो । 

प्रहरी प्रमुख थापाले खुला र असुरक्षित सेती खोच चुनौती बनेको बताउनुभयो । “सेतीमा एउटाको खोजी गर्दा अर्काको लास पनि भेटिएका छन् । बजारको बिचमा खुला छाडिएको गल्छीले बारम्बार दुःख दिइरहेको छ । खोच छोपिदिए, सामुदायिक साइरन राख्न सके मानिसको ज्यान बच्थ्यो,” उहाँले भन्नुभयो ।

अन्नपूर्ण हिमालबाट उत्पन्न भएर दक्षिण पूर्वतर्फ बग्ने सेती केही घाटमा नदीजन्य पदार्थ निकाली मानिसको जीविकाको माध्यम बनेको छ । यो खोचलाई पर्यटकीय गन्तव्य बनाउनुपर्ने बारम्बार कुरा उठे पनि त्यसका लागि काम भएको देखिन्न । पोखरा महानगरपालिका–१७, रातोपहिरोमा सेतीको केही खुला खोचमा बनेको गो बन्जी नेपालले मात्र यसको उपयोग गरेको छ । सेतीको गल्छी बन्जीको सौन्दर्य र आकर्षण बनेको स्थानीय मीना बराल लामाले बताउनुभयो ।  



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.