Advertisement

जसले लगाइदिए एआईजीको फुली, उनैलाई उछिनेर आईजी!

0 200

Advertisement

१८ बैशाख, काठमाडौं । नेपाल प्रहरीको २९औं प्रहरी महानिरीक्षक (आईजी)मा धीरजप्रताप सिंहको बढुवा भएको छ। सरकारले उनीभन्दा झण्डै डेढ वर्ष ज्येष्ठतालाई उछिनेर सिंहलाई आईजीमा बढुवा गरेको हो।

सिंहभन्दा डेढ वर्षअघि बढुवा भएका एआईजी विश्वराज पोखरेल र झण्डै एक वर्ष अघि बढुवा भएका सहकुलबहादुर थापालाई पन्छाएर सरकारले उनलाई आईजी बनाएको हो।

एआईजीको फुली लगाउनेलाई उछिनेर आईजीमा बढुवा!

चैत १ गते सरकारले प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)का थप ३ दरबन्दी सिर्जना गर्ने निर्णय गरेको थियो।

दरबन्दी थप गर्ने निर्णयपछि धीरजप्रताप सिंहसँगै अन्य दुई जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको थियो। त्यसको १६ दिनपछि चैत १७ गते एआईजीको दर्ज्यानी चिह्न (फुली) हालका आईजी सिंहले एआईजी विश्वराज पोखरेलबाटै लगाएका थिए।

संयोग कस्तो रह्यो भने आफूलाई एआईजीको फुली लगाउने पोखरेललाई उछिनेर सिंह आईजी भएका छन्।

पूर्वडीआईजी हेमन्त मल्ल भन्छन्, ‘एक/दुई नम्बरको बरियता मिचेर बढुवा गर्दा त रडाको हुन्छ। यहाँ त डेढ वर्ष ज्येष्ठताको कुरा छ। एआईजीको फुली समेत जसले लगाइदिए उनैलाई पछि पारिएको छ।’

नवनियुक्त आईजी सिंह डीआईजी हुँदा पोखरेल एआईजी भइसकेका थिए। सिंह प्रदेश २ को इन्चार्ज भएका बेला पोखरेल कार्य तथा अपराध अनुसन्धान विभागको प्रमुख थिए। सिंहले त्यसबेला आफ्ना दैनिक कामकारबाहीको रिपोर्टिङ पोखरेललाई गर्थे।

अर्को रोचक प्रसंग पनि छ– इतिहासमै पहिलोपटक तीन लटमा बढुवा भएका एआईजी आईजीको प्रतिस्पर्धी बनेका थिए। नेपाल प्रहरीको इतिहासमा सम्भवतः पहिलोपटक ३ लटमा बढुवा भएका एआईजीहरुबीच भावी आईजीका लागि प्रतिस्पर्धा भएको थियो।

पहिलो लटमा २०७७ मंसिर २४ गते बढुवा भएका विश्वराज पोखरेल, दोस्रो लटमा २०७८ असार २१ मा बढुवा भएका सहकुलबहादुर थापा र तेस्रो लट २०७८ चैत १७ गते धीरजप्रताप सिंह र रवीन्द्र धानुक एआईजीमा बढुवा भएका थिए।

यसअघि एकै मितिमा बढुवा भएका एआईजीहरुबीच प्रतिस्पर्धा हुँदै आएकोमा यसपटक भने तीन फरक–फरक मितिमा बढुवा भएका एआईजीहरुबीच प्रतिस्पर्धा भएको हो। जुन प्रतिस्पर्धमा सबैभन्दा पछि एआईजीमा बढुवा भएका सिंहले बाजी मारे।

एआईजी बढुवामा अदालतमा मुद्दा

अर्को संयोग के भने नवनियुक्त आईजीपी सिंहको एआईजी बढुवाविरुद्ध नै सर्वोच्च अदालतमा मुद्दा बिचाराधीन छ। सिंह र रवीन्द्र धानुकको एआईजी बढुवाको निर्णयविरुद्ध डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए।

आफूभन्दा जुनियरलाई बढुवा गरेको भन्दै उक्त बढुवा खारेजको माग गर्दै उनीहरुले रिट दायर गरेका थिए। पटक–पटक कारबाही स्वरुप निलम्बनमा परेका र जुनियरलाई बढुवा गरेर आफूहरुलाई छुटाइएको उनीहरुको रिटमा उल्लेख गरिएको छ।

रिटमा उल्लेख गरिएको थियो, ‘हाल पदोन्नतिको लागि सिफारिस भएका उम्मेदवारहरु विगतमा धेरैपटक विभागीय कारबाहीमा परेका र कारबाहीका क्रममा निलम्बनमा समेत रहेका कर्मचारी हुन्। कारबाहीमा परेकालाई बढुवा सूचीमा समावेश गर्ने, तर सेवा अवधिभर एउटै स्पष्टीकरण समेत दिनु नपर्ने गरी जिम्मेवारी पूरा गर्नेलाई बढुवामा छुटाइएको छ।’

एआईजी बढुवा नै के हुने भन्ने विषयको टुंगो अहिलेसम्म लागिसेकेको छैन। उक्त रिटमा अन्तरिम आदेश दिने/नदिने भन्ने विषयमा पनि टुंगो लागेको छैन। सर्वोच्च अदालतले अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको थियो।

त्यसपछि पटक–पटक पेसी सर्दै वैशाख १९ गतेलाई तोकिएको छ। आईजी बढुवाको विषयमै प्रश्न उठाएर सर्वोच्चमा मुद्दा विचाराधीन भएको अवस्थामा मुद्दाका मुख्य प्रतिवादी (विपक्षी) सिंहलाई सरकारले आईजी बढुवा गरेको छ।

फेरि मुद्दाको तयारी

सिनियरलाई पन्छाएर जुनियरलाई आईजी बढुवा गरिएको भन्दै असन्तुष्ट दुई एआईजीले सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेका छन्।

एसएसपीदेखि नै बरीयतामा आफूभन्दा पछि रहेको र डीआईजी, एआईजीमा बढुवामै छुटेका व्यक्तिलाई आईजीमा बढुवा गरिएको भन्दै एआईजी पोखरेल सर्वोच्च अदालत जाने तयारीमा लागेका छन्। यस्तै, अर्का एआईजी सहकुलबहादुर थापाले पनि आईजी बढुवाको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गर्ने तयारी गरेका छन्।

यसअघि पनि कांग्रेस र माओवादी केन्द्रको गठबन्धन सरकारले तेस्रो नम्बरका डीआईजी जयबहादुर चन्दलाई आईजीमा बढुवा गर्ने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो। सर्वोच्चले उक्त मुद्दामा अन्तरिम आदेश दिँदै ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवा गर्न निर्देशन दिएपछि प्रकाश अर्याल आईजी बनेका थिए।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.