Advertisement

आजको खेलकुद गतिविधी

0 381

Advertisement

२१ असोज, काठमाडौं ।

सन्जोग र शिभाली पहिलो


सन्जोग ब्लोन र शिभाली गुरुङ दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगितामा बुधबार पहिलो भएका छन् । सन्जोग यु–९ ब्वाइज सिंगल्स तथा शिभाली यु–१० गल्र्स सिंगल्समा पहिलो भएका हुन् ।


धापासीस्थित आयोजक टिम टेनिस नेपालको कोर्टमा भइरहेको प्रतियोगिताको यु–९ ब्वाइज सिंगल्स फाइनलमा सन्जोगले साम्खाहाङ राईलाई ५–४ (५), ४–५ (५) र १०–१ ले पराजित गरे । सोही उमेरसमूहको स्पर्धामा आयुश्री हजुर घले र मेरिशा थापाले फाइनलमा स्थान पक्का गरे ।
यु–१० गल्र्स सिंगल्सको उपाधि भिडन्तमा शिभालीले आयुशा जिसीलाई ६–१ र ६–० को सोझो सेटमा हराइन् । यु–१४ गल्र्स सिंगल्समा सुनिरा थापा, जेनी खड्का, आध्या पौडेल र प्रशंसा मोक्तान सेमिफाइनलमा पुगे । यु–१२ गल्र्स सिंगल्समा नाला मास्के, कर्मिस्था श्रेष्ठ, समृद्धि महर्जन र प्राज्ना मानन्धरले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।


यु–१२ ब्वाइज सिंगल्समा दर्शिल श्रेष्ठ, निशाद जोशी, श्रृजन भट्टराई र बोरिस अधिकारीले सेमिफाइनल यात्रा तय गरे । प्रणव मानन्धर, निश्चल कायश्थ, आयुशमान हजुर घले र राजवीर प्रधानले यु–१४ ब्वाइज सिंगल्सतर्फ सेमिफाइनलमा स्थान पक्का गरे ।

गलाकका भोला च्याम्पियन


गलाक मुवाँथाइ क्लबका भोलाकुमार राई प्रथम गलाक मुवाँथाई फाइटको पुरुष ६० केजीमा बुधबार च्याम्पियन बनेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भोलाले फ्रेन्डसिप वेल्फेयरका विवेक गडाललाई पराजित गरे ।
राष्ट्रिय मुवाँथाई संघ नेपाल र गलाक द लाइफ स्टायल प्रा.लि. द्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५४ केजीमा गोकर्णेश्वर मुवाँथाइ क्लबका लाक्पा तामाङले सुकेधारा मुवाँथाइ क्लबका आनन्द राईलाई हराए । पुरुष ५६ केजीमा केन्द्रीय मुवाँथाइ क्लबका सन्दिप तामाङले गोकर्णेश्वरका दावा फुन्जु शेर्पालाई पाखा लगाए । पुरुष ६३ केजीमा जिमखानाका करण वज्राचार्यले गोकर्णेश्वरका अब्राहम राईको चुनौती पन्छाए ।
पुरुष ५१ केजीमा सुकेधाराका तेज मगरले सुकेधाराकै यमन मोक्तान, ७२ केजीमा गोकर्णेश्वरका नवराज पराजुलीले गलाकका सलोन लेप्चा तथा ६५ केजीमा सुकेधाराका प्रवेश घिसिङले केन्द्रीयका एमडी रायनलाई पराजित गरे ।
एकदिने फाइटअन्तर्गत पुरुषतर्फ मात्र ७ स्पर्धामा भिडन्त भएको थियो । प्रतिस्पर्धालाई स्तरीय बनाउन प्रत्येक स्पर्धामा समान २–२ खेलाडीबीच प्रतिस्पर्धा गराइएको आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई काठमाडौंमै ३ महिनापछि हुने गलाक ग्रान्ड च्याम्पियनसिपका लागि छनोट गरिने छ । त्यस्तै उत्कृष्ट २ खेलाडीलाई गलाकले अनुबन्ध गर्ने अध्यक्ष कक्षपतिले बताए ।

प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ कात्तिकमा


नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता कात्तिक २९ गतेदेखि हुने भएको छ ।


प्रतियोगितामा तीन विभागीय टिमसहित करिब २५० खेलाडीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक बक्सिङ संघका अध्यक्ष राम अवालेले जानकारी गराए । पुरुषमा १३ र महिलामा ८ गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका प्रवक्ता श्यामकाजी अवालेले जानकारी दिए ।


प्रत्येक तौलसमूहमा कम्तीमा १० हजार नगद पुरस्कार राखिएको छ । प्रायोजक बढेमा पुरस्कार राशीमा पनि बृद्धि गर्न हुन सक्ने आयोजकले जनाएको छ ।


प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा गर्ने तयारी रहेपनि यकिन भइ नसकेको बताइएको छ । कभर्डहलमा सम्भव नभए काठमाडौंमै प्रतियोगिता हुने छ ।


विश्व बक्सिङका लागि खेलाडी सार्वजनिक


पत्रकार सम्मेलनमा बक्सिङ संघले सर्बियाको बेलग्रेडमा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी सार्वजनिक गरेको छ ।


अक्टोबर २५ देखि नोभेम्बर ६ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुने ४ खेलाडी घोषण गरियो । खेलाडी छनोट गर्न नेपाल बक्सिङ संघले असोज १ देखि ४ गतेसम्म सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खुला छनोट प्रतियोगिता आयोजना गरेको थियो । उक्त छनोटको आ–आफ्नो ५ तौलसमूहमा पहिलो भएका पाँच खेलाडी मध्येबाट ४ खेलाडी छनोट गरिएको हो ।
विश्व बक्सिङका लागि छनोट हुनेमा ४८ केजीमा रविन थापा, ५७ केजीमा पुरन राई, ६७ केजीमा सनिल शाही र ६३.५ केजीमा भुपेन्द्र थापा मगर रहेका छन् । सनिल र भुपेन्द्र १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् ।

सामाग्री वितरण


काठमाडौं जिल्ला तेक्वान्दो संघले डोजाङ र स्कुल गरी २२ संस्थालाई बुधबार खेल सामाग्री प्रदान गरेको छ । सामाखुशीस्थित स्टार रेस्ट्रो बैंक्युटमा विजयादशमीका अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सामाग्री वितरण गरिएको हो । प्रत्येकलाई २ थानका दरले कुल ३९ हजार ६ सय रुपैयाँ बराबरको किकिङ प्याड प्रदान गरियो ।
राष्ट्रिय खेलकुद परिषद्की बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेल, तेक्वान्दो संघका सदस्यद्वय राम गिरी र कुमार लामा घिसिङ, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्कालगायतले खेल सामाग्री हस्तान्तरण गरे ।

प्रज्ज्वललाई स्वर्ण


त्रिकोण उसु क्वानका प्रज्ज्वल लामाले प्रथम कालभैरव खुला जुनियर उसु प्रतियोगिताको पुरुष थाइची छ्वानमा बुधबार स्वर्ण जितेका छन् । निन्जा उसु क्वानका लब्सन आले मगर दोश्रो भए ।


कालभैरव उसु क्वानद्वारा आयोजित प्रतियोगिताको महिला थाइची छ्वानमा ड्रागन उसु क्वानकी डिना तामाङले काठमाडौं उसु क्वानकी ऐश्वरी भट्टलाई पछि पार्दै स्वर्ण जितिन् ।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत छाङ छ्वानको पुरुषमा त्रिकोणका विजय श्रेष्ठ र महिलामा ड्रागनकी सारा तामाङ, छुची छाङ छ्वानको पुरुषमा पशुपति कैलाश उसु क्वानका निशान थापा मगर र महिलामा ड्रागनकी लाक्पा डोल्मा लामा तथा छुची नान् छ्वानको पुरुषमा ड्रागन पासाङ लामा र महिलामा काठमाडौंकी ममता सुनुवार राईले पहिलो स्थान हात पारे ।


प्रतियोगिताको नेपाली कांग्रेसका युवा नेता पूर्व मन्त्री गगनकुमार थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । थाउलोमा १८ तथा सान्सौंमा २० गरी ३८ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । दुईदिने प्रतियोगितामा २ सय १० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.