नीति तथा कार्यक्रम आउने दिन नै सेयर बजारमा उत्साह, नेप्सेसँगै ३८.१९ अङ्कले बढ्दा ४ अर्बमाथिको कारोबार

२८ वैशाख, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक (नेप्से) परिसूचक ३८ दशमलव १९ अङ्कले उकालो लागेर २ हजार ७८३ दशमलव ८५ मा पुगेको छ । यो एक दशमलव ३९ प्रतिशतको वृद्धि हो ।

बजेट अधिवेशन सोमबारदेखि नै सुरु भएको छ । आज अपरान्ह ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछन् । नीति तथा कार्यक्रम आउने दिन नै लगानीकर्ता सकारात्मक हुँदा बजार बढेको देखिन्छ । यद्यपि, नीति तथा कार्यक्रम र बजेटले सेयर बजारलाई कसरी सम्बोधन गर्छ त्यो भने हेर्न बाँकी नै छ । सरकारले ल्याउने नीतिले बजारमा प्रत्यक्ष असर गर्दै आएको छ । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले लगानीकर्ताको हितमा काम गर्ने र बजारको फोहोर सफा गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।

जसको परिणामस्वरूप केही लगानीकर्ता र व्यवसायी पक्राउको घटनाले निरन्तर ओरालो लागेको बजारले आज भने लय समातेको हो । बजार बढेसँगै ठुला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ६ दशमलव शून्य ८ अङ्कले उकालो लागेर ४७३ दशमलव ४१ मा पुगेको छ । कारोबार भएकामध्ये कूल २४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको ओरालो लागेको छ । यस्तै, चार कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।

कूल १ करोड ४ लाख ३९ हजार ४३२ कित्ता शेयर ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६ सय ३५ रुपैयाँमा कारोबार भयो ।

उच्च कारोबारका आधारमा रिलायन्स स्पिनिङ मिल्स, नेशनल हाइड्रोपावर कम्पनी, एसवाई प्यानल नेपाल, रिडी पावर कम्पनी र साहस ऊर्जा लिमिटेड शीर्ष स्थानमा रहेको छ ।

यस्तै, फस्र्ट माइक्रो फाइनान्स लघुवित्त, कुमारी धनवृद्धि योजना, डोलटी पावर कम्पनी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र मेछ्याङ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।

त्रिशूली जलविद्युत् कम्पनी, एनएमबी–५०, लक्ष्मी बैंकको ऋणपत्र, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो र प्राइम बैंकको ऋणपत्रका लगानीकर्ताले भने गुमाएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours