मेसी लगातार दोस्रो पटक एमएलएस गोल्डेन बुट जित्ने पहिलो खेलाडी

२३ कात्तिक, काठमाडौँ । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी मेजर लिग सकर (एमएलएस)मा लगातार दुई सिजन गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन् । उनको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीले इस्टर्न कन्फरेन्समा दोस्रो स्थान हासिल गरेको छ ।

एमएलएसको साविक विजेता मियामीले नियमित सिजनको अन्तिम खेलमा शनिबार चार्लोटसँग ३–३ गोलको बराबरी खेल्यो । उक्त खेलमा मेसीले गोल गर्न नसके पनि दुई गोलका लागि अवसर सिर्जना गरे । उनले दुवै अवसर कर्नर प्रहारमार्फत जुटाएका थिए ।

यससँगै मियामीले प्लेअफका सुरुवाती दुई चरणमा घरेलु मैदानमा खेल्ने अवसर पक्का गरेको छ । इन्टर मियामीका लागि इयान फ्रे, लुइस सुआरेज र रोड्रिगो डी पलले पहिलो हाफमा तीन गोल गरेका थिए । तर दोस्रो हाफको सुरुवातमै लियल अबादाले दुई गोल गर्दै चार्लोटलाई खेलमा फर्काए। खेलको अन्तिम समयमा रोडोल्फो अलोकोले बराबरी गोल गरे ।

यता, शीर्ष स्थानको न्यासभिलले सिनसिनाटीलाई २–० गोलले हराउँदै एकै सिजनमा सर्वाधिक अंक जोड्ने एमएलएसको कीर्तिमान बनाएको छ । न्यासभिलले २३ जित, तीन हार र आठ बराबरीसहित ७७ अंक जोड्यो । यसअघि सन् २०२४ मा मियामीले बनाएको ७४ अंकको कीर्तिमान न्यासभिलले तोडेको हो ।

मियामी ६० अंकसहित पूर्वी क्षेत्रको दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानको न्यु इङ्ल्यान्डले भने ओरलान्डोसँग अप्रत्याशित रूपमा १–० गोलको हार बेहोरेपछि ५८ अंकमै सीमित भयो ।

चार्लोटविरुद्धको खेलमा मेसीले १४औँ मिनेटमा प्रहार गरेको कर्नर बल चार्लोटका लुका डे ला टोरे हुँदै इयान फ्रेको अगाडि पुगेको थियो । फ्रेले त्यसलाई गोलमा परिणत गर्दै मियामीलाई अग्रता दिलाए ।

३३औँ मिनेटमा मेसीकै अर्को कर्नर प्रहारमा लुइस सुआरेजले हेडरमार्फत गोल गरेपछि मियामीले अग्रता दोब्बर बनायो । पहिलो हाफ सकिनुअघि डी पाउलले तेस्रो गोल थपे । तर दोस्रो हाफमा अबादाले लगातार दुई गोल गर्दै खेललाई ३–२ को अवस्थामा पुर्‍याए । ५५औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

खेलको ९०औँ मिनेटमा अलोकोले बराबरी गोल गरे । त्यसपछि इन्जुरी समयमा मेसीको प्रहार पोस्टमा लागेर फर्कियो । अन्तिम क्षणमा अलोकोले शक्तिशाली प्रहार गरे पनि बल पोस्टको बाहिरी जालीमा लागेर बाहिरियो ।

यस सिजन मेसीले २६ गोल गरेका छन् । यही प्रदर्शनका आधारमा उनी लगातार दोस्रो पटक लिगका सर्वाधिक गोलकर्ता बनेका हुन् । डल्लासका पेटार मुसा २२ गोलसहित दोस्रो स्थानमा रहे । उनले कोलोराडोविरुद्ध आफ्नो टोलीले ३-१ को जित निकालेको खेलमा भने गोल गर्न सकेनन् ।

३९ वर्षीय मेसीले अघिल्लो सिजन २९ गोल गरेका थिए । यससँगै उनी एमएलएसको इतिहासमा लगातार दुई सिजन कम्तीमा २५ गोल गर्ने दोस्रो खेलाडी बनेका थिए ।

सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिनाका कप्तान मेसीले हालै २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल करियरबाट सन्न्यास लिएका थिए । उनले इन्टर मियामीसँगको सम्झौता भने सन् २०२८ सम्मका लागि थप गरेका छन् ।

मेसी आबद्ध मियामीले सन् २०२५ मा एमएलएस कप जितेको थियो । क्लबमा मेसीको दोस्रो सिजनमै टोलीले उक्त उपाधि हात पारेको थियो । यस सिजनको एमएलएस कप प्लेअफ नोभेम्बर १९ देखि सुरु हुनेछ । मियामीले पहिलो खेलमा कोलम्बससँग प्रतिस्पर्धा गर्नेछ ।

पूर्वी क्षेत्रका अन्य खेलमा न्यु इङ्ल्यान्डले फिलाडेल्फिया, चार्लोटले शिकागो तथा शीर्ष स्थानको न्यासभिलले वाइल्ड कार्ड चरणबाट आउने ओरलान्डो वा सिनसिनाटीमध्ये एक टोलीसँग खेल्नेछन् । सिनसिनाटीको हारको फाइदा उठाउँदै कोलम्बसले शिकागोलाई ४–३ गोलले पराजित गरेको छ । सातौँ स्थानमा रहँदै कोलम्बसले वाइल्ड कार्ड चरण खेल्नुपर्ने अवस्थाबाट जोगिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours