पुराना लोकभाकादेखि नयाँ पुस्ताका सङ्गीतसम्म, तिहारको उल्लास देउसी–भैलो र गीतबिनाको कल्पना गर्न कठिन छ
२३ कात्तिक, धरान । साँझ पर्दै जाँदा घरका झ्याल, ढोका र छतमा झिलिमिली बत्ती बल्न थाल्छन्। आँगनमा सयपत्री र मखमलीका माला सजिन्छन्। कतै मादलको ताल सुनिन्छ, कतै गीतको धुनमा देउसी–भैलो खेल्ने समूहको स्वर मिसिन्छ। गाउँदेखि सहरसम्मका टोल र गल्लीमा फैलिएको यो दृश्यले तिहार आएको आभास गराउँछ।
तिहार केवल दीपावली र पूजाआराधनाको पर्व होइन, नेपाली समाजको सांस्कृतिक जीवनमा गीत–सङ्गीतसँग जोडिएको आत्मीय उत्सव पनि हो। काग तिहारदेखि भाइटीकासम्मका पाँच दिन घरपरिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई नजिक ल्याउने अवसर बन्छन्। यही अवसरमा गुञ्जिने देउसी–भैलोका भाकाले पर्वको रौनकलाई थप जीवन्त बनाउँछन्।
तिहारको सम्झना गर्दा धेरैको मनमा सबैभन्दा पहिले एउटा पुरानो गीतको धुन आउँछ-‘तिहारै आयो लौ झिलिमिली, ए सुन हजुर भैलेनी आए आँगन।’ यादव खरेलको शब्द, लोचन भट्टराई र नूतन प्रधानको स्वरमा सजिएको चलचित्र ‘स्वर्ग’को यो गीत दशकौँ बितिसक्दा पनि उत्तिकै लोकप्रिय छ। तिहारको मौसम सुरु भएसँगै बजार, पसल, घर र सार्वजनिक स्थलमा यो गीत सुनिन थाल्छ। गीतको धुनले नै धेरैका लागि तिहारको आगमनको सङ्केत गर्छ।
त्यस्तै, अरुण उपत्यका समूहका नवीनकुमार खड्का, पुस्तका खड्का र बलराम समालको स्वरमा रहेको ‘सिमल बारुलै’ पनि तिहारको अर्को परिचित लोकभाका हो। पूर्वेली लय, रमाइला संवाद र देउसीको मौलिक शैलीले सजिएको यो गीतले पुस्तान्तरण हुँदै लोकप्रियता कायम राखेको छ। युवा पुस्तादेखि वृद्धवृद्धासम्मले रुचाउने यो गीत अहिले पनि चोक, बजार र गल्लीमा उत्तिकै सुनिन्छ।
तिहारमा गुञ्जिने गीतको सूची यतिमै सीमित छैन। ‘राँको’ चलचित्रको ‘दियो बाली साँझको’, ‘अन्याय’ चलचित्रको ‘अधरमा आज उनकै गीत’, सिन्धु मल्लको ‘झिली र मिली’, राजु लामाको ‘भाइटीकामा भेट्न आउँला’ तथा प्रमोद खरेल र अञ्जु पन्तको स्वरमा रहेको ‘यसपालिको तिहारै रमाइलो’ पनि पर्वसँग जोडिएका चर्चित गीत हुन्। यी गीतका शब्द र धुनले तिहारलाई धार्मिक अनुष्ठानभन्दा पर लगेर मनोरञ्जन, आत्मीयता र सांस्कृतिक पहिचानसँग जोड्ने काम गरेका छन्।
समयसँगै तिहार मनाउने शैली फेरिएको छ। पहिले मादल, खैँजडी र तालीको भरमा घरघर पुगेर देउसी-भैलो खेल्ने चलन थियो। समूहका अगुवाले भट्याउने र अरूले लय समातेर साथ दिने परम्पराले टोलमा छुट्टै उत्साह सिर्जना गर्थ्यो। अहिले त्यसमा आधुनिक बाजागाजा, गिटार, ध्वनि उपकरण र रेकर्ड गरिएका गीत थपिएका छन्। कतिपय समूहले गीतको धुनमा नृत्य र सांस्कृतिक प्रस्तुति पनि समेट्न थालेका छन्।
प्रविधिले तिहारका गीतलाई घरघरमा पुर्याउने माध्यमसमेत फराकिलो बनाएको छ। युट्युब, फेसबुक, टिकटक र विभिन्न डिजिटल माध्यमबाट नयाँ गीत सार्वजनिक हुने क्रम बढेको छ। नयाँ पुस्ताका कलाकारले आधुनिक सङ्गीत संयोजन र दृश्य प्रस्तुतिमार्फत तिहारका गीतमा नयाँपन थपिरहेका छन्। तर प्रविधिको यो विस्तारले पुराना गीतको महत्त्व भने घटाउन सकेको छैन। बरु नयाँ र पुराना पुस्तालाई एउटै लयमा जोड्ने माध्यम बनेका छन् ती गीत।
तिहारका गीतको अर्को विशेषता तिनले सिर्जना गर्ने भावनात्मक सम्बन्ध हो। रोजगारी, अध्ययन र विभिन्न कारणले घरबाट टाढा रहेका नेपालीका लागि तिहारका गीत घर, परिवार र बाल्यकालको सम्झना बनेर आउँछन्। सयपत्री र मखमलीको माला, दिदीबहिनीको टीका, देउसी–भैलोको आवाज र परिचित धुनले प्रवासमा रहेकालाई पनि आफ्नै आँगनमा पुगेको अनुभूति गराउँछन्।
primire college
गीत–सङ्गीतले तिहारलाई मनोरञ्जनमा मात्र सीमित राखेको छैन। यसले नेपाली समाजको मौलिकता, सामूहिकता र सांस्कृतिक निरन्तरताको प्रतिनिधित्व गर्छ। देउसी–भैलोका माध्यमबाट घरघर पुग्ने समूहले शुभकामना साटासाट गर्छन्। आपसी सद्भाव र सम्बन्धलाई बलियो बनाउँछन्। कतिपय ठाउँमा देउसीबाट सङ्कलित रकम सामाजिक तथा सामुदायिक काममा समेत उपयोग गरिन्छ।
national life
वर्षैपिच्छे नयाँ गीत थपिन्छन्, सङ्गीतको शैली फेरिन्छ र देउसी–भैलो खेल्ने तरिका पनि बदलिन्छ। तर तिहारको आत्मीयता बोकेका पुराना भाकाहरू हराएका छैनन्। बरु पुस्तौँदेखि सुनिँदै आएका ती धुनले नयाँ पुस्तालाई पनि आफ्नो संस्कृति र परम्परासँग जोडिरहेका छन्।
झिलिमिली बत्तीले घर उज्यालो बनाउँछ, फूलका मालाले आँगन सजाउँछन्। तर तिहारलाई साँच्चिकै जीवन्त बनाउने त घरआँगनमा गुञ्जिने गीत, सामूहिक स्वर र आपसी आत्मीयता नै हुन्। त्यसैले तिहार आउँदा नेपाली मनमा एउटा परिचित धुन आफैँ बज्न थाल्छ-‘तिहारै आयो लौ झिलिमिली…’


+ There are no comments
Add yours