एक साता पनि टिकेन बजारमा कार्ययोजनाको प्रभाव

११ असोज, काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ल्याएको सेयर बजारसम्बन्धी २१ बुँदे सुदृढीकरण कार्ययोजनाको प्रभावले अघिल्लो साता सेयर बजार केही बढाए पनि गत सातामा आइपुग्दा त्यो टिक्न सकेन। कार्ययोजनाले सेयर बजारमा सकारात्मक प्रभाव दिएर अब नेप्सेको ओरालो यात्रा रोकिएलाकि भन्ने विश्लेषण गलत सावित गरी दिएको छ।

असोजको दोस्रो साताको सोमबार नेप्सेको डेटा सेन्टरमा प्राविधिक समस्या भएर सेयर कारोबार हुन सकेन। शुक्रबार पनि इन्द्रजात्रा पर्व परेकाले उपत्यका बिदाले गर्दा सेयर कारोबार यस साता ३ दिन भएकोमा नेप्से २ दिन बढेर १ दिन घट्यो। अघिल्लो साता भने ५ दिन कारोबार भएकोमा नेप्से ४ दिन बढेर १ दिनमात्रै घटेको थियोे।

अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २६४७.२२ अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन मंगलबार सामान्य अंकले बढ्यो। त्यसदिन नेप्से ७.०६ अंकले बढेर २६५४.२८ विन्दुमा पुग्यो। बुधबार भने नेप्से उच्च अंकले घट्यो। त्यसदिन ३६.२५ अंकले घटेको थियो। साताको अन्तिम कारोबारको दिन बिहीबार ११.७७ अंकले बढेर नेप्से २६२९.६१ विन्दुमा पुगेर बन्द भयोे।

सातामा २ दिनको कारोबारमा नेप्से १८.८३ अंकले बढ्ने र एक दिनको कारोबारमा ३६.२५ अंकले घट्दा नेप्सेमा १७.४२ अंकले गिरावट आयो। अघिल्लो सातामा भने नेप्से ८७.७१ अंकले बढेको थियो। यस सातामा मंगलबार न्यून विन्दु २६०५.३२ मा र बुधबार उच्च विन्दु २६७१.०४ अंकसम्म नेप्से बढेर सेयर कारोबार भयो।

यस साता सबैभन्दा कम बुधबार ३ सय ५२ वटा कम्पनीको कारोबार भएकोमा मंगलबार र बिहीबार साताकै सबैभन्दा बढी ३ सय ५६ स्क्रिप्टको कारोबार भयो। अघिल्लो साता बढीमा ३ सय ५० स्क्रिप्टसम्मको मात्रै कारोबार भएको थियो। यस साता सबैभन्दा कम सेयर कारोबार बिहीबार ५ अर्ब ४४ करोड ७३ लाख र सबैभन्दा बढी मंगलबार ७ अर्ब ५ करोड ३ लाख रुपैयाँको भयो। साताभरिमा ३ दिनको कारोबारमा १८ अर्ब ८५ करोड ४२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो। यसबाट औसतमा दैनिक ६ अर्ब २८ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको देखाउँछ।

अघिल्लो साता भने ३० अर्ब ६१ करोड ३० लाख मात्रैको कारोबार हुँदा औसतमा दैनिक ६ अर्ब १२ करोड २६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो। यसले सातामा औसत दैनिक सेयर कारोबार लगभग २.६५ प्रतिशतले बढेको देखाउँछ। अघिल्लो साता पनि औसत दैनिक सेयर कारोबार करिब ८७ प्रतिशतले बढेकै थियो।

नेप्सेको कुल बजार पुँजीकरण शुक्रबार ४५ खर्ब २३ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो साताको अन्तिम दिन शुक्रबार बजार पुँजीकरण ४५ खर्ब ५३ अर्ब ५५ करोड रुपैयाँ थियो। साताभरमा नेप्से १७.४२ अंकले घट्दा कुल बजार पुँजीकरण पनि २९ अर्ब ९४ करोड रुपैयाँले घट्न पुग्यो। अघिल्लो साता भने कुल बजार पुँजीकरण १ खर्ब ५० अर्ब ८९ करोड रुपैयाँले बढेको थियो।

यस साता मिड सोलु हाइड्रोपावर र धौलागिरि लघुवित्त वित्तीय संस्थाको एक दिन सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यस साता सर्वाधिक बढी कारोबार हुनेमा मंगलबार हाथवे इन्भेस्टमेन्टको ४४ करोड ४० लाख, बुधबार र बिहीबार शिवम् सिमेन्टको क्रमशः ३८ करोड ३४ लाख र ३५ करोड ८१ लाख रुपैयाँ छ।

नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये ११ को घट्यो, एउटाको बढ्यो भने एउटाको स्थिर रह्यो। म्यानुफ्याचरिङ एन्ड प्रोसेसिङको बढेको थियो भने म्युचुअल फन्ड समूहको स्थिर रहेको थियो। अघिल्लो साता भने १३ वटै उपसमूह बढेका थिए।
यस साता सेन्सेटिभ इन्डेक्स १.२८ अंक, फ्लोट इन्डेक्स २.०६ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९६ अंकले घटेका थिए। अघिल्लो साता भने सेन्सेटिभ इन्डेक्स १७.९२ अंक, फ्लोट इन्डेक्स ६.७६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ६.११ अंकले बढेका थिए।

सेयर ‘बाइब्याक’

सूचीकृत कम्पनीले जारी गरेको सेयर आफैंले बजारबाट खरिद गर्ने प्रक्रियालाई ‘बाइब्याक’ भनिन्छ। सामान्यतया कम्पनीहरूले पुँजी जुटाउन सर्वसाधारणका लागि सेयर जारी गर्छन्। ‘बाइब्याक’मा भने कम्पनीले अतिरिक्त नगद वा स्रोत प्रयोग गरेर सेयर बजारमा रहेको आफ्नो सेयर आफैंले किन्ने गर्छन्।

यसबाट उक्त कम्पनीको कुल सेयर संख्या घट्छ र प्रतिकित्ता आम्दानी बढ्न सक्ने अनुमान गरिन्छ। बजारमा मागभन्दा सेयर सप्लाई बढी भएको अवस्थामा बाइब्याक’ले सप्लाई घटाउने भूमिका खेल्छ।

कम्पनीहरूले पुँजी विस्तारका लागि बोनस, हकप्रद आदिबाट सेयरको संख्या बढाउँदै लगेको अवस्थामा बजारमा सेयरको आपूर्ति घटाउने ‘बाइब्याक’ एक उचित उपाय हो। त्यसैले, सरकारले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना,२०८३ मार्फत ‘बाइब्याक’ सम्बन्धमा नीति नियम र पूर्वाधार तयारमा लागेको जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours