उत्तरी हुम्लामा बाक्लो हिमपात

११ असोज, हुम्ला । उत्तरी हुम्लाका हिल्सा नाका र नारा लेकमा दुईदेखि तीन फिटसम्म हिउँ परेको छ । सीमाक्षेत्र हिल्सामा दुई फिट र नारा लेकमा तीन फिट हिउँ जमेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा प्रहरी चौकी (बिओपी) हिल्साका सशस्त्र प्रहरी निरीक्षक केदार सापकोटाले जानकारी दिनुभयो । हिमपातपछि जनजीवन प्रभावित भएसँगै यातायात सेवासमेत पूर्ण रूपमा अवरुद्ध भएको छ । “नारा र हिल्सा क्षेत्रको तापक्रम माइनसमा झरेको छ । हिमपात भइरहेको छ । दाउराको समस्या हुने हिल्सामा आगो तापेर कार्यालय कुर्नु परेको छ,” उहाँले भन्नुभयो ।

हिल्साका होटेल व्यवसायी पेमा लामाका अनुसार यस वर्ष छिट्टै हिमपात सुरु भएको छ । यसअघि कात्तिक महिनापछि मात्रै हिउँ पर्न सुरु हुन्थ्यो ।

यस्तै चीनको पुलान काउन्टीको ताक्लाकोटसम्म हिमपात भएका कारण हिल्साका स्थानीयलाई व्यापार व्यवसाय गर्न कठिनाइ भएको छ । हाल हिल्सामा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, यारी नाका भन्सार कार्यालय, अध्यागमन कार्यालयमा कार्यरत कर्मचारी, होटेल व्यवसायी र स्थानीय व्यापारी बस्दै आएका छन् । नारा लेकमा जमेको हिउँ एक्साभेटरले नपन्छाएसम्म पूर्ण रूपमा हिल्साबाट सिमकोट र सिमकोटबाट हिल्साका लागि यातायात सेवा सञ्चालन गर्न कठिन हुने प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर खड्काले बताउनुभयो ।

दसैँतिहार नजिकिएसँगै ताक्लाकोटमा रहेका हुम्लाका स्थानीयलाई घर फिर्ता हुन समस्या हुने भएको छ । यसै गरी उवा नाफल, तोरी, केराउलगायतका बाली पाक्ने समयमा हिउँ परेकाले भित्र्याउन कठिनाइ हुने यारीका स्थानीय नाम्ग्याल तामाङले बताउनुभयो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours