२५ कार्तिक, काठमाडौँ । आज तिहारको मुख्य दिन भाइटीकामा देशका अधिकांश स्थानको मौसम अनुकूल रहने देखिएको छ। मौसम पूर्वानुमानअनुसार दिउँसो तराईका अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। ती प्रदेशका केही हिमाली स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकीका पहाडी भू-भागका साथै मधेश र कोशी प्रदेशका तराईका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ।
आज भाइटीकाका लागि दिदीबहिनी तथा दाजुभाइको आवतजावत र टीका लगाउने कार्यक्रमलाई ध्यानमा राख्दै वर्षाको सम्भावना रहेका पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ। समग्रमा भने देशका अधिकांश स्थानमा भाइटीका मनाउन मौसमले साथ दिने देखिएको छ।


+ There are no comments
Add yours