जताततै पाइन्छन् अवैध पटका, रातभर निदाउन सक्दैनन उपत्यकाबासी

२४ कार्तिक, काठमाडौँ । दीपावलीको अवसरमा पटका पड्काउँदा पर्सामा पाँच वर्षीय बालकले ज्यान गुमाएका छन् । सोमबार पकाहा मैनपुर गाउँपालिका–२ मधुबनी घर भएका मखु सहनीका पाँच वर्षीय छोराको पटका पड्काउने क्रममा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

भारतीय बजार रक्सौल हुँदै वीरगञ्ज र तराई क्षेत्रमा पटका भित्रिने गरेको छ । नेपालमा पटका आयात गर्न प्रतिबन्ध लगाएको भए पनि रक्सौल र अन्य भारतीय बजारबाट सीमानाका हुँदै पटका काठमाडौँसम्म आइपुग्छ । भारतबाट आउने पटका पहाडी जिल्लामा समेत पुग्छ ।

तिहार र छठपर्वमा पटका पड्काउने चलन छ । यो स्वास्थ्य र वातावरण दुवैका लागि हानिकारक हो । नयाँ वर्षलाई स्वागत गर्दा पनि आकाशमा भव्य आतिशबाजी गर्ने प्रचलन छ । पटका विष्फोटक पदार्थको प्रयोग गरेर बनाइने हुनाले त्यसले स्वास्थ्यमा असर गर्छ । ध्वनि प्रदूषण अत्यधिक हुन्छ ।

आयात गर्न प्रतिबन्ध लगाइ एपनि असोज १६ भन्दा पछि जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहतका प्रहरी युनिटहरूले ७ लाख १२ हजार मूल्य बराबरको पटका बरामद गरेका छन् । चाडपर्वलक्षित सुरक्षा योजना लागु भएपछि ७ लाखभन्दा बढी मूल्यका पटका बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलिप घिमिरेले रातोपाटीलाई बताए । काठमाडौँ प्रहरीले पटका ओसरपसारमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

ललितपुर प्रहरीले पछिल्लो समय ३ हजार पिस पटका बरामद गरेको छ । चाडपर्व सुरक्षा योजना लागु भएसँगै सातदोबाटो क्षेत्रबाट ३ हजार पिस पटका बरामद गरिएको ललितपुरका एसएसपी तुल बहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘पटका ओसारपसार गर्ने ३ जनालाई मुद्दा चलाएका छौँ ।’ पटकासहित पक्राउ परेकाहरूलाई प्रहरीले विष्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा चलाउने गरेको छ ।

चाडबाडमा क्षणिक मनोरञ्जनका लागि पड्काइने पटका सामान्य देखिन सक्छ, तर यसले निम्त्याउने मानवीय तथा वातावरणीय क्षति निकै गम्भीर हुने गर्छ । हरेक वर्ष तिहार र छठका बेला पटकाकै कारण ठुला दुर्घटना हुने गरेका छन् । बालबालिका तथा सर्वसाधारण घाइते तथा मृत्युसम्म हुने गरेको छ ।

Asian Paints
भक्तपुरबाट पनि प्रहरीले केही पटका बरामद गरेको छ । लुकाइछिपाइ ल्याएको पटका भक्तपुरका विभिन्न स्थान र किराना पसलहरुबाट समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दिपक कुमार कार्कीले रातोपाटीलाई बताए ।

Nabil bank
प्रतिबन्धित हुँदा पनि कसरी पटका उपत्यकामा आयो भन्ने प्रश्नमा भक्तपुर परिसरका डीएसपी कार्की भन्छन्, ‘तराईको जिल्लाबाट लुकाइ छिपाइ ल्याएको देखिन्छ ।’

काठमाडौँका एसएसपी दिलिप घिमिरेले यस वर्ष पटका ओसारपसार निकै कम भएको दाबी गरे । उनले भने, ‘काठमाडौँमा पटका लुकिछिपी आउँछ, कसैले व्यक्तिगत रूपमा थोरै परिमाण र प्राइभेट गाडीहरूमा ल्याउँछन् ।’

पटका ल्याउन निषेध भए पनि उपत्यकामा रातभर पटका पड्केको आवाज सुनिन्छ । कोटेश्वर बस्दै आएका सुनिल तामाङ भन्छन्, ‘प्रहरीको गाडीको साइरन सुनेपछि केहीबेर शान्त हुने र फेरि पड्किने क्रम केही दिनदेखि रोकिएको छैन ।’ सुनिलजस्तै त्यस वरवर बस्ने अन्यले पनि पटाकाकै कारण रातभर निदाउन नसकेको गुनासो गरिरहेका छन् ।

सार्वजनिक गाडीमा पनि थोरै–थोरै परिमाणमा पटका काठमाडौँ भित्रिरहेको एसएसपी घिमिरे बताउँछन् । ‘हामीले भेटेसम्म बरामद गरेका छौँ, कडाइ गरिरहेका छौँ ।’

उत्सवको उज्यालोलाई धुवाँ र बारुदको कालो छायाले ढाकिन नदिन सुरक्षा निकायको सक्रियता जति आवश्यक छ, त्यत्तिकै खाँचो नागरिक सचेतनाको पनि हुन्छ । कानुनले प्रतिबन्ध लगाएको पटका खरिद–बिक्री र प्रयोग रोक्न सीमावर्ती कडाइका साथै समाजका हरेक तहबाट खबरदारी आवश्यक देखिन्छ; ताकि चाडपर्व साँच्चिकै सुरक्षित, उज्यालो र दुर्घटनामुक्त बन्न सकोस् ।

सशस्त्रको फन्दामा सवा करोडको पटका

तिहार र छठ पर्वको अवसरमा गाउँदेखि सहरसम्म उज्यालो र उमंगको रौनक छाएको छ । तर, यही उल्लासमय माहोलको आडमा सीमापारिबाट भित्रिने अवैध बारुद ‘पटका’ ले सुरक्षा, जनधन र वातावरणमा भने गम्भीर जोखिम निम्त्याइरहेको हुन्छ । उत्सवको नाममा कानुन छल्दै भित्र्याइने यस्ता विस्फोटक सामग्री नियन्त्रण गर्न सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले आफ्नो सक्रियता तीव्र पारेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २० गतेसम्मको अवधिमै सशस्त्र प्रहरीले देशका विभिन्न नाका तथा स्थानहरूबाट १ करोड २१ लाख २८ हजार ६ सय ६९ रुपैयाँ बराबरको पटका बरामद गरिसकेको छ । चाडपर्वलक्षित विशेष सुरक्षा अभियानअन्तर्गत पटका बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै भइरहेको तस्करी मधेसमा सबैभन्दा बढी देखिएको छ । मधेस प्रदेशबाट ७४ लाख ३१ हजार, लुम्बिनी प्रदेशबाट १८ लाख, सुदूरपश्चिम प्रदेशबाट १४ लाख, कोशी प्रदेशबाट ११ लाख ४९ हजार र बागमतीबाट सशस्त्रले २ लाख ३५ हजार रुपैयाँको पटका बरामद गरेको छ ।

प्रदेशगत तथ्यांकले सीमावर्ती तराईका जिल्लाहरू पटका तस्करीको प्रमुख मार्ग बनिरहेको देखाउँछ भने त्यहाँबाट राजधानी र अन्य पहाडी जिल्लाहरूसम्म पुगिरहेका छन् ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार अवैध पटकाको प्रयोगले आगलागी र जनधनको क्षतिसँगै वायु र ध्वनि प्रदूषणको जोखिम अत्यधिक बढाउँछ । उनी भन्छन्, ‘चाडपर्वको समयमा गैरकानुनी रूपमा पटका भित्र्याउने र ओसारपसार गर्ने तथा बिक्री वितरण गर्ने गतिविधि नियन्त्रण गर्न सीमा क्षेत्रमा चेकजाँच तथा कडा निगरानी बढाइएको छ ।’

यस्ता जोखिमपूर्ण गतिविधि नियन्त्रणका लागि सशस्त्रले निगरानी अभियान निरन्तर जारी राख्ने डीएसपी थापाले बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours