Advertisement

आईजी कमेन्डेसनले सशस्त्रमा विवाद, पुरस्कार थाप्न पुगेकाहरु रित्तो हात फिर्ता!

0 21

Advertisement

२३ माघ, काठमाडौं । सशस्त्र प्रहरी बलमा अहिले पुरस्कारको विषयलाई लिएर विवाद उत्कर्षमा पुगेको छ। सशस्त्र प्रहरीको २३औं वार्षिकोत्सवका अवसरमा माघ ९ गते पुरस्कार लिन भनेर हेडक्वाटर हल्चोक पुगेकाहरु रित्तो हात फर्किएपछि सुरु भएको पुरस्कारको विवाद अहिलेसम्म साम्य हुन सकेको छैन।

पुरस्कारको सूचीमा नाम समावेश भएकाहरुले अहिलेसम्म न पुरस्कार पाउन सकेका छन् न हेडक्वाटरले पुरस्कार नै खारेज गर्न सकेको छ। अहिलेसम्म पुरस्कारका बारेमा सशस्त्र हेडक्वाटर ‘वेट एन्ड सी’ कै रणनीतिमा रहेर आन्तरिक छानबिनमा जुटेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

गत वर्षबाट आईजी राजु अर्यालले आईजी कमेन्डेनस अवार्डको सुरुवात गरेका थिए। सशस्त्र प्रहरी भित्र सबैभन्दा उत्कृष्ट काम गर्ने सुरक्षाकर्मीलाई उत्कृष्ट अवार्ड दिइने भएकाले आन्तरिक अवार्डमध्येकै सबैभन्दा ठूलो पुरस्कार आईजी कमेन्डेसनलाई लिने गरिन्छ। सोही आईजी कमेन्डेसन भने सुरुवात गरेको दोस्रो वर्षबाटै विवादमा परेको छ।

एआईजी सीपी (चन्द्रप्रकाश) गौतमको संयोजकत्वमा पुरस्कार छनोट समिति बनेको थियो। उक्त समितिले वर्षभरि गरेका काम-कारबाहीको मूल्यांकनमा १५ जनालाई पुरस्कारका लागि छनोट गरेको थियो। छनोट भएका १५ जनालाई पुरस्कार लिनका लागि समेत उपस्थित हुन समेत भनिएको थियो।

तर, सशस्त्र प्रहरी दिवसको अघिल्लो रात भने ८२ जनालाई आईजी कमेन्डेसन दिने भन्दै ८२ जनाको नाम सार्वजनिक गर्दै अवार्ड लिनका लागि माघ ९ गते बिहान सशस्त्र हेडक्वटर हल्चोकमा उपस्थित हुन सबै युनिटहरुमा परिपत्र गरिएको थियो।

सोही अनुसार पुरस्कारमा नाम समावेश भएकाहरुले अवार्ड थाप्न भन्दै सशस्त्र प्रहरी दिवसका दिन बिहानै हल्चोक पुगेका थिए। तर पुरस्कार थाप्न पुगेकाहरु भने रित्तो हात फर्कनु परेको थियो।

पहिलो चरणमा नाम सार्वजनिक भएका १५ युनिट तथा अफिसरहरुले आईजी राजु अर्यालबाट पुरस्कार थापेका थिए भने पछिल्लो चरणमा रातारात नाम समावेश भएका ८२ जना भने रित्तो हात फर्केका थिए।

अघिल्लो राति नाम सार्वजनिक गरिएकाहरुमध्ये ७५ जना त सशस्त्र हेडक्वाटरमै रहेका थिए। बाँकी ७ जना मात्रै बाहिरी युनिटमा कार्यरत थिए। उनीहरुले कुन हैसियतले पुरस्कार पाउनका लागि योग्य भए? कुन मापदण्ड पूरा भयो? उनीहरुले गरेका उत्कृष्ट कामहरु के–के हुन् भन्ने कुनै जानकारी बिनै अघिल्लो रात एकाएक ८२ जनाको नाम सार्वजनिक भएको भन्दै आईजी अर्यालले ८२ जनाकै अवार्ड रोकेका थिए।

पुरस्कार लागि रातारात सिफारिस भएकाहरु अधिकांश पहुँच भएकाहरु, हेडक्वाटरमा बसेका र सिनियर प्रहरी अधिकृतहरुको मात्रै सूची थियो। सिपाही, हवल्दार भने पुरस्कारमा समेटिन सकेका थिएनन्। जसका कारण विवादमा परेको उक्त पुरस्कार अहिलेसम्म विवादमै छ। सुरुमा नाम सिफारिस भएका १५ जना बाहेक अहिलेसम्म उक्त अवार्ड कसैलाई पनि दिइएको छैन।

यता सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले भने पुरस्कारको विषय विवादमा ल्याउने विषय नै नभएको बताए। उनले भने, ‘विभागले आफ्नो संगठनमा उत्कृष्ट काम गरेकाहरुलाई पुरस्कार दिने गर्छ। यो विषयलाई विवादमा ल्याउनु राम्रो होइन।’

पुरस्कारका लागि नाम सिफारिस भएकाहरुमध्ये केही त पटकपटक विवादमा परेकाहरु र कमाण्ड कमजोर भनेर तानिएकाहरु समेत सिफारिस भएको सशस्त्र प्रहरी स्रोत बताउँछ।

सशस्त्र प्रहरीमा बढुवाका लागि पुरस्कारको अंक जोडिँदैन। पुरस्कारको अंक नजोडिए पनि त्यही पुरस्कारलाई भजाएर उत्कृष्ट काम गरेको भन्दै बढुवा तथा आकर्षक पोस्टिङ पाउनका लागि भने लविइङ गर्ने हतियार हुने भएकाले पुरस्कार लिनका लागि चर्को लविइङ हुँदै आएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.