Advertisement

डेढ अर्ब लगानीमा ठमेलमा खुल्यो होटल ‘बाराही काठमाडौं’

0 70

Advertisement

०७ जेठ, काठमाडौं । बाराही ग्रुपले काठमाडौंमा आफ्नो सेवा विस्तार गरेको छ । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा नयाँ होटल ‘बाराही काठमाडौं’ आइतबारबाट सञ्चालनमा आएको हो । चार तारे स्तरको यो होटलमा ८ सुइट र ७२ डिलक्स गरी ८० वटा कोठा रहेका छन् । डिलक्स रुमको अफर शुल्क १ सय डलर रहेको बाराही हस्पिटालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले बताए । होटलमा कफी सप, रेष्टुरेण्ट, बार, प्राइभेट डाइनिङ हल रहेका छन् । लाउन्ज र थिएटर सेटअपमा १२० जना अट्ने सभा हल केही हप्तामा तयार हुने बताइएको छ ।

केशरमहलको अगाडि चोकैमा रहेको होटलको सातौं तलामा ’इन्फिनिटी स्विमिङ पुल’ छ । स्विमिङ पुलको मोहोडा तर्फ नारायणहिटी दरबार रहेकाले मनमोहक दृश्य देखिन्छ । साढे चार फिट गहिरो स्विमिङ पुल करिब ११०० स्क्वायर फिटमा फैलिएको छ ।

बाराही ग्रुपले व्यावसायिक कम्प्लेक्ससहितको होटल निर्माण गरेको हो । कम्प्लेक्सको भुँइतलादेखि तीन तलासम्म अफिस र विभिन्न पसल रहने छन् भने बाँकी ६ तलामा होटल रहेको छ ।

काठमाडौंको मध्यविन्दुमा रहेको होटल बाराहीबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । वीर शमसेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैंचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभुति हुने होटलको भनाइ छ । घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भु तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम श्रृंखला होटेलबाटै देख्न सकिन्छ ।

सपिङ कम्प्लेक्स सहितको होटल निर्माण गर्न करिब एक अर्ब चालिस करोड रुपैयाँ खर्च भएको थापाले बताए । पसल तथा अफिसका लागि बुकिङ पनि खुल्ला गरेको छ । सपिङ कम्प्लेक्स सहित होटल रहेको बाराही प्लाजाको आर्किटेक्टको काम ‘डिजाइन सेल’का अरुण देव पन्त र अन्जन श्रेष्ठले गरेका हुन् भने इन्टेरियर डिजाइनको काम सिद्धार्थ गोपालानले गरेका हुन् ।

नेपाली पर्यटनको ’गोल्डेन ट्र्याङ्गल’ मानिएको पोखरा, चितवन र काठमाडौं मध्ये यस अगाडि पोखरा र चितवनमा बाराही ग्रुपले सेवा सञ्चालनमा ल्याइसकेको छ । बाराही काठमाडौंको सुरुवातसँगै अब बाराहीले गोल्डन ट्र्याङ्गल भरी आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।

४ दशक अगाडि पोखराको लेकसाइडमा हरिप्रसाद पौडेलले ९ कोठा प्याराडाइज गेस्ट हाउस सुरू गरेका थिए । सोही होटलमा पछि सुविधा थप गरी होटल बाराही नामाकरण गरिएको हो ।

पौडेलले हस्पिटालिटी क्षेत्रमा देखाएको बाटो पछ्याउँदै उनका छोराहरू विप्लव र वैभव सोही व्यवसायमा आवद्ध छन् । सामान्य स्तरबाट सुरू भएको बाराहीमा त्यतिबेला प्रतिकोठा १० रुपैयाँ रहेको थापाले बताए । बाराही ग्रुपको लगानीमा चितवनमा बाराही जंगल लज, पोखरामा होटल बाराही, व्यञ्जन रेस्टुरेन्ट, सराङकोट माउन्टेन लज, आवास पोखरा, द बिच बार एन्ड लज समेत सञ्चालनमा छन् ।

बाराही ग्रुपको नेतृत्वमा पोखराको सेदीमा पाँचतारे होटल निर्माणाधीन छ, जहाँ १२ सय क्षमताको सभाहल समेत बन्दैछ । पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेड सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ)मा समेत जाने थापाले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.