Advertisement

दुई महिनाको व्यापार घाटा साढे २ खर्ब, निर्यात ३४ प्रतिशतले घट्यो

0 86

Advertisement

०९ असाेज, काठमाडाैं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा नेपालको व्यापार घाटा झण्डै साढे २ खर्ब पुगेको छ । सरकारले आयातमा कडाई गर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा आयत घटेपनि निर्यातमा समेत गिरावट आएको छ ।

चालु आवको साउन र भदौ महिनामा सरकारले ३ खर्ब २ अर्ब २८ करोडको वैदेशिक व्यापार गरेको छ । जुन अघिल्लो आवको यसै अवधिको भन्दा १५.७० प्रतिशत कम हो । गत आवको पहिलो दुई महिनामा ३ खर्ब ५८ अर्ब ५५ करोड बराबरको वैदेशिक व्यापार गरेको छ ।

साउन र भदौको दुई महिना अवधिमा नेपालको व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड नाघेकोे छ । जुन गत आवको यसै अवधिको भन्दा ९।४५ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा नेपालले २ खर्ब ७० अर्ब ४७ करोड व्यापारघाटा व्यहोरेको थियो ।

चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा नेपालले २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँको वस्तु आयात गरेको भन्सार विभागको तथ्याङ्क छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा १३ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा नेपालले ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँको आयात गरेको थियो।

दशैं नजिकिँदै गर्दा साउनको तुलनामा भने भदौमा आयात बढेको भन्सार विभागले जनाएको छ । गत साउनमा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँको आयात भएकोमा भदौमा १ खर्ब ४२ अर्ब ३१ करोडको आयात भएको विभागले जनाएको छ ।

भन्सार विभागका अनुसार पछिल्लो दुई महिनामा नेपालले २८ अर्ब ६८ करोडको वस्तु निर्यात गरेको छ । जुन गत आवको यसै अवधिको भन्दा ३४।८८ प्रतिशत कम हो । गत आवको पहिलो दुई महिनामा ४४ अर्ब बराबरकोे वस्तु निर्यात गरेको थियो।

साउन र भदौमा सबैभन्दा बढी डिजेल आयात गरेको छ । दुई महिनाको अवधिमा १८ अर्ब ४२ करोड १५ लाख रुपैयाँको डिजेल, १२ अर्ब १८ करोड ९४ लाख रुपैयाँको पेट्रोल, १० अर्ब ४२ करोड ३ लाख रुपैयाँको एलपीजी ग्यास आयत भएको छ ।

त्यस्तै साउन र भदौमा ९ अर्ब ८ करोड ५४ लाख रुपैयाँको कच्चा भटमासको तेल, ७ अर्ब २७ करोड ८४ लाख रुपैयाँको फेरस प्रोडक्ट, ६ अर्ब ६१ करोड ७० लाख रुपैयाँको कच्चा पाम तेल, ६ अर्ब १८ करोड ९ लाख रुपैयाँको मोबाइलफोन, ६ अर्ब १८ करोड १ लाख रुपैयाँको आइरन तथा स्टिल र ४ अर्ब ९१ करोड ९१ लाख रुपैयाँको डण्डी आयात गरेको छ ।

नेपालले सो अवधिमा २ अर्ब ४७ करोड ४९ लाख रुपैयाँको पामोलिन तेल निर्यात गरेको छ । त्यस्तै, २ अर्ब १३ करोड ५५ लाख रुपैयाँको कार्पेट, १ अर्ब ९६ करोड ८६ लाख रुपैयाँको भटमासको तेल, ३ अर्ब २२ करोड ५ लाख रुपैयाँको पाम तेल १ अर्ब २० करोड ६६ लाख रुपैयाँको फेल्ट, ९० करोड ६९ लाख रुपैयाँको चिया, ७४ करोड ७७ लाख रुपैयाँको चिया, ६८ करोड २६ लाख रुपैयाँको धागो र ६८ करोड ९ लाख रुपैयाँको अलैंची निर्यात गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.