Advertisement

वीरगञ्ज पुगेर अर्थमन्त्रीले भने– निजगढ विमानस्थल बन्छ, यो मेरो प्रतिबद्धता भयो

0 183

Advertisement

२१ जेठ, वीरगञ्ज । अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता जनाएका छन्। शनिबार वीरगञ्ज उद्योग वाणिज्य संघको ४६औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो प्रतिवद्धता जनाएका हुन्।

‘निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ। यो जनार्दन शर्माको प्रतिबद्धता भयो,’ उनले भने, ‘यो सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।’
उनले त्रिभुवन विमानस्थलको वैकल्पिक रुपमा मात्र नभएर मधेश र मुलुकै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ विमानस्थल चाहिएको बताए।

उनले निजगढ विमानस्थल र काठमाडौं–तराई द्रुत मार्गलाई सँगसँगै जोड्नु आवश्यक रहेको उल्लेख गरे। ‘मधेशलाई काठमाडौंसँग छोटो दूरीमा जोड्ने द्रुत मार्ग बनिरहेको छ । यसमा केवल गाडी मात्र कुदाउने होइन, सो द्रुतमार्गमा राष्ट्रिय–अन्तर्राष्ट्रिय यात्रुहरुलाई पनि आवात–जावत गराउने हो’, उनले भने।

त्यस्तै वीरगञ्ज चिनी कारखाना सञ्चालनका लागि आवश्यक प्रकृया अघि बढाउने पनि उनले जानकारी दिए। वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भूपाल बराललगायतको टोलीले शनिबार बिहान वीरगञ्ज चिनी उद्योगको निरिक्षण गरेका थिए। उक्त अवसरमा कार्यरत कर्मचारीले चिनी मिल सञ्चालनयोग्य रहेको जानकारी दिएका थिए।

‘वीरगञ्ज चिनी मिल चलाउने भनेर बजेटबाटै कुरा उठाइएको छ, यो कुनै मजाक गरेको होइन,’ उनले भने, ‘६–७ महिनादेखि निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा कार्यक्रम राखिएको हो ।’ उनले चिनी मिल सञ्चालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन बीरगञ्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने बताए।

उनले बजेट तथा सरकारको नीति–कार्यक्रमबाट वीरगञ्ज क्षेत्रका उद्योगी व्यवसायीलाई धेरै सम्बोधन गरेको विश्वास दिलाए। कार्यक्रममा सो क्षेत्रका व्यवसायी र जनप्रतिनिधिले वीरगञ्जलाई वेवास्ता गरेको गुनासो गरेका थिए।

मन्त्री शर्माले पथलैया–बीरगञ्ज करिडोर, निजगढ विमानस्थल र द्रुत मार्ग, चिनी कारखाना खोल्ने विषय, सुख्खा बन्दरगाह, एकीकृत भन्सार जाँच चौकी निर्माणलगायतका माध्यमबाट वीरगञ्जका उद्योगीलाई सम्बोधन गरिरहेको बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.