Advertisement

काठमाडौंका सडकमा फेरि किन थुप्रिन थाल्यो फोहोर ?

0 209

Advertisement

१८ जेठ काठमाडौं । काठमाडौं महानगरपालिकाको चाबहिल क्षेत्रमा बुधबार विहानै माइकिङ भयो, ‘कृपया फोहोर बोक्ने गाडी नआएसम्म घरभित्रको फोहोर बाहिर ननिकालिदिनुहोला ।’ चाबहिल क्षेत्रमा मात्रै होइन, काठमाडौं महानगरका साथै अन्य पालिकाले पनि फोहोर घरभित्रै राख्न अनुरोध गरिरहेका छन् ।

हुन त ल्यान्डफिल साइट क्षेत्र जाने सडक र सिसडोलमा भएको पटक–पटकको अवरोधका कारण काठमाडौंको फोहोर नियमित रुपमा व्यवस्थापन हुन नसकेको ४ महिनाभन्दा बढी भयो । सडक किनारमा फोहोर थुप्रिने र बेलाबेला व्यवस्थापन हुने गरेको थियो ।

सिसडोलमा फोहोर व्यवस्थापन गर्न नसक्ने अवस्था आएपछि ११ जेठदेखि बञ्चरेडाँडाको नयाँ ल्यान्डफिल साइटमा फोहोर फाल्न थालियो । त्यहाँ पनि स्थानीयले जग्गा अधिग्रहण गर्नुपर्नेदेखि विभिन्न पूर्वाधार बनाउनुपर्ने माग गर्दै अवरोध गरे ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरोकारवालासँग छलफल गर्दै बञ्चरेडाँडामा फोहोर फाल्ने सहज वातावरण बनाउन प्रयत्न गरेकी थिइन् । स्थानीयबासीको जायज माग सम्बोधन गर्ने आश्वासन दिइन् । स्थानीय प्रशासनले पनि सुरक्षाकर्मी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्दै आएको थियो ।

तर १५ जेठदेखि फोहोर बोकेका गाडी सिसडोल र बञ्चरेडाँडा दुबैतिर जान सकेको छैन ।

कतिपयले यसलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको भ्रमणसँग जोड्ने गरेका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका साह सपथ ग्रहण अगाडि नै १४ जेठमा ल्यान्डफिल साइटको अनुगमनमा पुगेका थिए ।

सिसडोल र बञ्चरेडाँडा क्षेत्र पुगेर स्थानीय वासिन्दासँग छलफल गरेका उनले स्थानीयको मुद्दा सम्बोधन गर्ने र परम्परागत विधिबाट फोहोर व्यवस्थापन नगर्ने आवश्वास दिएर फर्किए । उनले अव्यवस्थित तरिकाले फोहोर विसर्जन गरेका कारण सिसडोल क्षेत्रको हरेक घरमा क्यान्सर, छाला रोगका बिरामी भएको भन्दै अब यस्तो पाप नगर्ने बताउने गरेका छन् ।

सोमबार पदबहाली गरेकै दिन कार्यपालिका बैठक राखेर दीर्घकालीन उपाय खोजी गर्न भन्दै मेयर, उपमेयरसहित वडाध्यक्षहरु राखेर कार्यदल गठन गर्ने निर्णय पनि गराएका छन् ।

एकातिर स्थानीयको आन्दोलन, अर्कोतिर फोहोर फाल्ने विषयमा नीति के हुने भन्ने स्पष्ट नभएपछि महानगरको वातावरण विभागले फोहोर उठाउन बन्द गरेको छ । शहरी विकास मन्त्रालयका अधिकारीहरुका अनुसार १४ जेठबाट महानगरले आफूहरुसँग समन्वय नै गर्न छाडेको बताउँछन् ।

‘मेयरसा’बले सिसडोल गएर त्यहाँ मानवीय अपराध भइरहेको बताएपछि हामीले महानगरमा अब फोहोर कसरी लैजाने भन्नेबारे सोधेका थियौं,’ मन्त्रालयका एक अधिकारी भन्छन् ‘तर, उहाँहरु मेयरसा’बको निर्देशन नआएको भन्दै अलमलमा पर्नुभयो । प्रहरीहरु पनि फर्किएपछि महानगरले शहरभित्र फोहोर नै उठाउन छोड्यो ।’

काठमाडौं महानगरपालिकाको वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोल भने अहिले भइरहेकै विधिबाट फोहोर व्यवस्थापन गर्दै दीर्घकालीन उपाय खोज्नुपर्ने बताउँछन् ।

‘घरभित्रै फोहोर राख्नुस्, हामी दीर्घकालसम्मका लागि उपाय खोज्छौं भनेर हुँदैन,’ उनी भन्छन्, ‘सिसडोलका स्थानीयलाई समस्या छ, तर तत्कालको अप्ठ्यारो फुकाउँदै अरु उपायको खोजी गर्नुपर्छ ।’

उनका अनुसार फोहोर व्यवस्थापनबारे समन्वय गर्न शहरी विकासमन्त्रीको अध्यक्षतामा एउटा समिति छ । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत संयोजकत्वको अर्को कार्यदल पनि छ । वडाध्यक्ष डंगोल भन्छन्, ‘महानगरपालिकाले बनाएको नयाँ कार्यदलले सबै पक्षसँग छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्छ, फोहोर पनि त उठ्नुपर्छ ।’

विगतलाई दोष देखाएर मात्रै समस्या समाधान नहुने भन्दै दीर्घकालीन उपायको खोजी खोजेर त्यसका लागि पूर्वाधार तयार नगरेसम्म हालसम्मकै विधिबाट नियमित फोहोर उठाउनुपर्ने पर्ने डंगोलले बताए ।

उनका अनुसार कार्यदलले कहिलेसम्म फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोजी गर्छ भन्ने निश्चित छैन । तर वर्षायाम सुरु हुनै लाग्दा फोहोर नउठेर काठमाडौंका सडक, गल्ली र चोकहरुमा फोहोरको चाङ लाग्न थालेको छ ।

‘फोहोर घरभित्रै राखेर वा सडकमा थुप्रो लगाएर यो, ऊ गर्छौं भनेर हुँदैन,’ डंगोलले भने, ‘नियमित फोहोर पनि उठाउँदै सबैको समस्या हल हुने गरी समाधान खोज्नुपर्छ ।’
शहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्मा भने काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि आवश्यक पहल गरिरहेको बताउँछन् ।

ल्यान्डफिल साइट क्षेत्रका कतिपय मुद्दा महानगरपालिकाले नै सम्बोधन गर्नुपर्ने भन्दै उनले भने, ‘नयाँ मेयर सा’ब पनि त्यहाँ छलफल गर्न पुग्नु भएको थियो । समस्या समाधान गरेर फोहोर फाल्ने वातावरण बनाउनैपर्छ ।’

महानगरपालिका स्रोतका अनुसार मेयर साह अहिले फोहोरको दीर्घकालीन व्यवस्थापनबारे छलफलमा छन् । तर फोहोर व्यवस्थापनबारे वातावरण विभागलाई स्पष्ट निर्देशन दिएका छैनन् । फोहोर किन नउठाएको भनेर सोध्दा मेयरसा’बको निर्देशन कुरिरहेका छौं भन्ने गरेको एक अधिकारीले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.