Advertisement

महानगर सहित केही ठूला शहरमा स्वतन्त्र उम्मेदवारको अग्रता

0 209

Advertisement

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगर सहित केही ठूला शहरमा स्वतन्त्र उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । काठमाडौं महानगर, धरान उपमहानगर, धनगढी उपमहानगर, जनकपुर उपमहानगर, धुलिखेललगायत नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

राजधानी उपत्यका रहेको काठमाडौंको प्रारम्भिक नतिजा अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन् । साहले ४८० मत ल्याउँदा नेपाली कांग्रेसका सिर्जना श्रेष्ठले २८० र नेकपा एमालेका केशव स्थापितले २०० मत ल्याएका छन् ।

धनगढी उपमहानगर पालिकामा शुरुवाति नतिजामै गोपाल हमालले फराकिलो अग्रता बनाएका छन् । १०० मत गणना हुँदा हमालले ५५ मत पाएका छन् । नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन् ।

१०० मत नै गणना हुँदा धरान उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् । उनले ३३ मत ल्याउँदा नेपाली कांग्रेसका किशोर राईले ३१, नेकपा एमालेकी मञ्जु भण्डारीले १६ र राप्रपाका नरेश शाक्यले ३ मत पाएका छन् ।

धुलिखेलका स्वतन्त्र उम्मेदवार बिदुरबहादुर बस्नेत

जनकपुर उपमहानगर पालिकामा पनि स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साहले अग्रता लिएका छन् । साहले २५९ मत सहित अग्रता लिदा गठबन्धनका उम्मेदवार लालकिशोर साहले ३६ मत मात्रै पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवारी दिएका लालकिशोर निवर्तमान मेयर हुन् ।

कांग्रेसले जसपाका उम्मेदवारलाई समर्थन गरेपछि मनोज स्वतन्त्र उम्मेदवार बनेका थिए । जकपुरकै जस्तो नतिजा धुलिखेल नगरपालिकामा पनि आएको छ ।

प्रारम्भिक नतिजा अनुसार, धुलिखेलमा स्वतन्त्र उम्मेदवार बिदुरबहादुर बस्नेतले ५७२ मत सहित अग्रता लिएका छन् । उनलाई निवर्तमान मेयर अशोककुमार ब्याञ्जुले पछ्याइरहेका छन् । ब्याञ्जु एमालेका उम्मेद्वार हुन् । गठबन्धनबाट भने नेकपा एकीकृत समाजवादीका दयासागर श्रेष्ठ उम्मेदवार छन् । उनले १८ मत मात्रै पाएका छन् ।

महोत्तरीको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका प्रलादकुमार क्षेत्रीले अग्रता लिएका छन् । कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका क्षेत्रीले ३४५ मत ल्याउँदा कांग्रेसको उम्मेदवार चिरञ्जिवी हमालले भने १० मत मात्रै पाएका छन् । क्षेत्रीलाई एमाले उम्मेदवार टेकबहादुर बलम्पाकीले १५६ मत सहित पछ्याइरहेका छन् ।

जुम्लाको एकमात्र नगरपालिका चन्दनाथमा पनि स्वतन्त्र उम्मेदवारले फराकिलो अग्रता लिएका छन् । स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले ९४७ मत गणना हुँदा ३६७ मत ल्याएर अग्रसस्थानमा छन् ।

दोस्रोमा रहेका कांग्रेसका पदमबहादुर शाहीले १९२, माओवादीका जीवनबहादुर बुढ्थापाले १६१ र एमालेका धर्मेन्द्र रोकायाले ७६ मत पाएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.