रासस आलेख : जन्मदिवसमा संस्कृतिको संरक्षण र सिर्जनशीलताको अपेक्षा
१२ मंसिर, कर्णाली । यस मङ्सिरको सिरेटो, दिनहुँको घट्दो तापक्रम, बढ्दो जाडो, माटाले बनेका घरहरूको बाडो (लहरै जोडिएका घर), ओटालो (आँगन)मा तिला गाउँपालिका –४ जुम्लाका महिलाहरू छ दिनअघि घामको ताप लिँदै दुःखसुखका कुरा गर्दै थिए । त्यति नै बेला १०० वर्षीया कालुदेवी शाही बिहानको पाहारिलो घाममा न्हट्टो (पिँठ्यू) सेकाउन त्यहीँ आउनुभयो ।
कालुदेवी चिसाले सुत्न नसकेको दुखेसो गर्दै हुनुहुन्थ्यो । कुराकै सन्दर्भमा उहाँले “भाउअ(नानी, बाबु) ! यो ‘ह्याप्पी बर्थ डे’ भन्या के हो हँ ? नातिनीले आज मेरो ‘ह्याप्पी बर्थ डे’ हो, केक ल्याइदेऊ भनेर बिहानदेखि दुःख दिएकी छे”, नजिकै बसेकी सपना शाहीलाई सोध्नुभयो । गाउँभन्दा आधा घण्टाको दूरीको विद्यालयमा कक्षा ९ की छात्रा सपना शाहीले ‘बर्थ डे’ भनेको जन्मदिन भनेर अथ्र्याउनुभयो ।
ए ! जन्मदिन हो ? नातिनीले त्यही भने त भैगोथ्यो नि ! तेईले (त्यसले) ‘ह्याप्पी बर्थ डे’ भन्या हामी क्या थापाउ(थाहा पाऊँ) त ?” कालुदेवीले झर्किँदै आफ्नै भाषामा प्रतिक्रिया दिनुभयो । एक शताब्दीको जीवनकालमा कहिले पनि जन्मदिन नमनाउनुभएका उहाँलाई ‘बर्थ डे’बारे थाहा हुने कुरा पनि भएन । पतिको ज्यान कालापहाडमै गएदेखि आफ्नो जीवनकालको ५० वर्षदेखि एकल जीवन व्यतीत गर्दै आउनुभएका कालुदेवीले सबै ट्वाटिकी (केटाकेटी) ले ‘ह्याप्पी बर्थ डे’ भनेको सुन्दा दिक्क लागेको सुनाउनुभयो ।
एकहत्तर वर्षीय स्थानीय वीरबहादुर शाही शहर गाउँ पसिसकेको तर्क गर्नुहुुन्छ । “हेर त भाउअ ! अहिले त शहरको नाङ्गो संस्कृति गाउँ पसेछ । आजभोलिका केटोकटीको रहनसहन र पहिरन हेर्दा आफैँले मुख ढाक्नुपर्छ । यस्तो त हिजो हामी टिभीमा वा शहर जाँदा देख्थ्यौंँ”, उहाँले भन्नुभयो, “हिजो कपडा च्यातिँदा हामी सात पटक भए पनि टालो टाल्थ्यौंँ तर आजको पुस्ताले नयाँ कपडा च्यातेर लगाएको देख्दा उदेक लाग्छ ।”
वीरबहादुर आफू जन्मेको दिन आफूहरूलाई नै थाहा नभएको तर अहिलेका केटाकेटीले अरू कहिले जन्मे भनेर हेक्का राख्ने गरेकामा अचम्म मान्नुहुन्छ । “जन्मदिनमा मीठो परिकार खानुका साटो भ–नभको खाने, रक्सी पिएर गीत गाउने, जिउ देखाएर नाच्ने, यो कस्तो प्रकारको संस्कार ?”, उहाँ प्रश्न गर्नुहुन्छ ।
जन्मोत्सव मनाउने संस्कृति अहिले एउटा फेसनका रुपमा विस्तार हुन थालेको छ । यहाँ कसैले मष्टो पुजून् वा शिव, बुद्ध पुजून् वा अल्लाह, जन्मदिनमा प्रायः सबैले केक काटेकै देखिन्छ । बालबालिकादेखि वृद्ध, कार्यकर्ता तहदेखि राजनीतिक नेतृत्व, पूर्वीय चिन्तकदेखि पश्चिमा संस्कृतिका आलोचक सबैले केक काट्दै र ‘ह्याप्पी बर्थ डे’ गीत गाउँदै आएका छन् ।
खासगरी यसअघि प्रतिष्ठित र उच्च ओहोदामा रहेका व्यक्तिले मनाउने जन्मदिन आज हरेकले मनाउन थालेका छन् । आफू जन्मेको महत्वपूर्ण बनाउन थोरैले यसलाई सामाजिक सेवा, परोपकार र सहयोगी कार्य गर्ने अवसरका रूपमा लिएका छन् । केहीले जन्मदिनमा रुख रोप्ने तथा ज्येष्ठ नागरिक–अनाथ बालबालिकालाई सहयोग र नयाँ कामका लागि आर्थिक सहयोग गर्छन् । धेरैले भने यसलाई भड्किलो रूपमा मनाउँदै आएका छन् । यसलाई फजुल खर्चको माध्यम बनाएर उरन्ठेउलो मनोरञ्जन लिने तथा सामाजिक, सांस्कृतिक मौलिकता विस्थापन गर्ने गतिविधिका साथ हाम्रो नेपालीपन हराउँदै गएको छ ।
यो सामाजिक विकृतिका रुपमा फैलिँदै गएको उदाहरण खोज्न धेरै टाढा जानुपर्दैन । गत कात्तिक २८ गते परेको जन्मदिनलाई मूल अवसर बनाएर चन्दननाथ नगरपालिका– ५ जुम्लाका शिक्षाप्रेमी तथा एशिया इन्टरनेशनल स्कुलका संस्थापक मनोज बुढाथोकी मगरले रु १० लाख कोषसहितको ‘गङ्गामाननिली अभिनवन केन्द्र’ स्थापना गर्नुभयो ।
आफ्नो जन्मोत्सवमा युवक बुढाथोकीले गरेको नवप्रवत्र्तनात्मक कामले नयाँ पुस्तालाई सिर्जनशील काम गर्ने प्रेरणा दियो । त्यसको भोलिपल्ट भने मोरङ, बूढीगङ्गा –६ कोयलपुरमा स्थानीयवासी नानी लिम्बूको भतिजीको जन्मदिन मनाइँदै गरेको भोजमा खुकुरी प्रहार भयो । हिंस्रक झडपबाट धनकुटा पाख्रीबास घर भएका २६ वर्षीय रिजन दाहालको मृत्यु भएको खबर नेपालका विभिन्न मिडियामा प्रकाशन तथा प्रसारण भयो ।
सुखद्पूर्ण तरिकाले मनाइने जन्मदिनमा भिडन्त गरिनु निकै दुःखद् भएको कर्णालीका नवराज न्यौपाने बताउनुहुन्छ । “जन्मदिवस मात्र होइन, अहिले त हाम्रा वेशभूषा, रहनसहन, खानपिन, दिनहुँको शैली र संस्कार बदलिएको छ”, संस्कृतिसम्बन्धी जानकार उहाँले भन्नुभयो, “पछिल्ला जन्मदिवसहरू मदिरामय बनेको देखिन्छ ।
रसायनमिश्रित केक, स्नो स्पे्र, बर्थ डे क्याण्डिल वा मैनबत्ती बाल्ने अनि फुकेर निभाउने, बियर, ह्विस्की, हुक्का, चुरोट खाएर मनाइने जन्मदिवसबाट सामाजिक संस्कार ध्वंस हुन्छ ।” नेपाली संस्कृतिमा त सेलरोटी हाल्ने, खीर पकाउने, चामलमा बेसार मिसाएर टीका लगाउने तथा दियो बालेर समाजमा सधैँ उज्यालो दिइरहनू भनेर आशीष दिइने गरेको स्मरण पनि उहाँले गर्नुभयो ।
कर्णाली संस्कृतिविद् रमानन्द आचार्य पनि जन्मदिन भनेकै ‘केक’ हो भनेर बुझ्ने मनोविज्ञान, ‘जन्मदिनको शुभकामना’ भन्नु भन्दा ‘ह्याप्पी बर्थडे’ भनेर गरिने उच्चारण, दियो बाल्नेभन्दा फुकेर क्याण्डिल निभाउने, नेपाली टोपी लगाउन छाडेर कागजको चुच्चे टोपी पहिरने संस्कारबाट मौलिक संस्कृति हराउँदै गएकामा चिन्ता व्यक्त गर्नुहुन्छ ।
भाषासेवी आचार्यले भन्नुभयो, “जन्मदिन मनाउनु राम्रो हो तर नमनाउँदा पनि केही बिग्रँदैन । यस अवसरमा शुभकामना, आशीष आदि प्रकट गरे मात्र पनि काफी हुन्छ । यसलाई अतिरञ्जित र अनुत्पादक बनाउन आवश्यक छैन ।
”पोषणविद् डा अरुणा उप्रेतीले ‘केकसँगै काटिँदै संस्कृति’ शीर्षकमा लेख्नुभएको छ, “हाम्रो संस्कृतिमा जन्मदिनमा घरआँगन र मन्दिरमा दियो बाल्ने चलन छ । अचेल हामी केकमा मैनबत्ती बाल्ने अनि निभाउने संस्कृतिमा भिजेका छौंँ । हाम्रो आफ्नो चलन मास्दै छौंँ । योसँगै जीवनका सुन्दर पक्ष पनि नष्ट पार्दै छौँ ।”
(सेतोपाटी अनलाइन, २०७५ असार २१) केक संस्कृति आत्मसात् गर्ने नेपालीले नै नेपालको हजारौंँ वर्षको संस्कृति प्रशंसा गर्दै यसको जगेर्ना गर्न लामो भाषण दिने गरेकामा व्यङ्ग्य गर्दै उहाँले सो लेखमा संस्कृति फलाउन–फुलाउन व्यावहारिक रुपमा पनि अवलम्बन गर्नुपर्ने तथा नेतृत्वमा बसेकाले यसको उदाहरण दिनुपर्ने र समाजलाई सिकाउनुपर्ने सुझाव दिनुभएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शिक्षाध्यक्ष डा निरेश थापा देख्दा सुन्दर लाग्ने तर शरीरका लागि बेफाइदाजनक रसायनमिश्रित केक पछिल्लो पुस्ताका लागि आकर्षणको वस्तु बनिरहेकामा चिन्ता व्यक्त गर्नुभयो । शुरुका दिनमा हुने –खानेहरूले मनाउने जन्मदिन अहिले देखासिकीमा परिणत भएको जनाउँदै उहाँले केक काट्ने, बर्थडे क्याण्डिल बाल्ने, स्नो स्प्रेसहित बढी खर्च गर्दा निकै गौरव र सान ठान्ने संस्कृतिले नेपाली मौलिकतामाथि नै आक्रमण गरेको बताउनुभयो ।
“जन्मदिन अनुत्पादक र फजुल खर्चको माध्यम बनेको छ,”, डा थापाले भन्नुभयो, “यसले गर्दा हाम्रो मौलिक संस्कृति, संस्कारका विषयमा पछिल्लो समयमा नकारात्मक टीकाटिप्पणी हुन थालेको छ ।” जन्मदिनमा फजुल खर्च गर्ने र मदिरामय बनाउने शैलीले समाजमा विकृति बढ्दै गएको तर्क गर्दै उहाँले यस अवसरलाई अर्थपूर्ण बनाउनका लागि समाजमा केही नवप्रवत्र्तनात्मक काम गर्न नवपुस्तालाई आग्रह गर्नुभयो ।
विशेषतः कर्णाली देवतावादी संस्कारमा बढी विश्वास गर्छ । कुनै नयाँ काम पर्दा होस् या शुभसाइत वा भाकल गर्दा, केही समस्या, अप्ठ्यारो हुँदा देवता गुहार्ने चलन अहिले पनि जीवितै रहेको संस्कृतिविद् बताउनुहुन्छ । मष्टो देवता मान्ने परम्परागत धार्मिक संस्कृति आयातीत संस्कृतिले विस्थापित हुने हो कि भन्ने चिन्ता उहाँहरूको छ । नेपाली सम्पदाका रुपमा रहेका सबैखाले संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा जोड दिन तीन वटै तहका सरकारदेखि सरोकार पक्षले ध्यान दिनुपर्ने सुझाव पनि उहाँहरूले दिनुभएको छ ।