Advertisement

पुष्प व्यवसायमा युवाको आकर्षण

0 261

Advertisement

०९ कात्तिक, चितवन । जिल्लामा पछिल्लो समय पुष्प व्यवसाय गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ । यो व्यवसायमा यहाँका युवा आकर्षित भएका छन् । भरतपुर महानगरपालिका–७ मा दुई युवा मिलेर जग्गा भाडामा लिई पुष्प व्यवसाय गर्दै आएका छन् । अजय यादव र सागर कार्कीले संयुक्तरूपमा एक बिघा १० कठ्ठा जग्गा भाडामा लिएर २१ कठ्ठा जग्गामा फूलखेती गर्नुभएको छ ।

अहिले उहाँहरूको बारीमा सयपत्री फूल ढकमक्क फुलेका छन् । कृर्षिमा अध्ययन गर्नुभएका यादव र इञ्जीनियरीङ पढ्नु भएका कार्की विगत चार वर्षदेखि पुष्पखेतीमा लाग्नुभएको हो । सुरुआती वर्ष प्रयोगका लागि १०० वटा बिरुवा रोपेर व्यवसाय सुरु गर्नुभएका यादव र कार्की अहिले एक बिघाभन्दा बढी क्षेत्रफलमा पुष्पखेती गर्दै आउनुभएको छ ।

भाडामा लिएको जग्गामध्ये २१ कठ्ठामा उहाँहरूले व्यावसायिकरूपमा सयपत्री पुष्प व्यवसाय गर्नुभएको छ भने अन्यमा नर्सरी र अध्ययनका लागि काम गरिरहनुभएको छ । यादवका अनुसार माली दाइ एग्रो इनोभेशन प्रालि नाम दिएर उहाँहरूले कुन मौसममा सयपत्री फूललाई कसरी लगाउन सकिन्छ भन्ने विषयमा अध्ययन गरिरहनुभएको छ । यादवले भन्नुभयो, “व्यावसायिकरूपमा खेती गर्दा अध्ययन आवश्यक भएकाले अध्ययनको काम पनि सँगै अघि लगिएको छ ।”

अध्ययन गर्ने क्रममा करोडौँको फूल नेपाल भित्रने भन्ने सुनेपछि आफूहरूले त्यसको बजार प्रतिस्थापनका लागि यो व्यवसाय अँगालेको उहाँले बताउनुभयो । उहाँले सम्झनुभयो, “एक सय बिरुवाबाट सुरुआतीमा रु १० हजार नाफा भएको थियो । त्यसैको प्रेरणाले अहिले व्यावसायिकरूपमा गरियो ।” उहाँहरूले दोस्रो वर्ष तीन कठ्ठा जग्गामा र तेस्रो वर्ष छ कठ्ठा जग्गामा पुष्प व्यवसाय गर्नुभएको थियो । दोस्रो वर्षमा रु एक लाख र तेस्रो वर्षमा रु दुई लाख नाफा भएपछि उहाँहरूलाई यो व्यवसाय गर्न प्रोत्साहन मिलेको यादवले बताउनुभयो ।

कार्कीका अनुसार सयपत्री फूलमा अहिलेको चार महिनामात्रै व्यापार हुने गरेको छ । यसलाई १२ महिना नै व्यवसाय कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न लागिएको छ । यस कम्पनीले अहिले १० हजार मालाको व्यापार गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो । यहाँबाट फूलका बिरुवासमेत बिक्री वितरण गरिएको थियो । पुष्प व्यवसायमा शीतभण्डार नहुँदा यसलाई लामो समयसम्म राख्न नसक्नु मुख्य समस्याका रूपमा रहेको व्यवसायीले बताएका छन् ।

फ्लोरिकल्चार एशोसिएशन नेपाल चितवनका कोषाध्यक्ष शुलभ श्रेष्ठ अहिले यो व्यवसायमा युवापुस्ताको आकर्षण बढेको बताउनुहुन्छ । विगत आठ वर्षदेखि उज्ज्वल नर्सरीको नाममा पुष्प व्यवसाय गर्दै आउनुभएका श्रेष्ठले अहिले तीन बिघा क्षेत्रफलमा फूलखेती गर्नुभएको छ । उहाँले भन्नुभयो, “अहिले व्यावसायिकरूपमा भन्दा पनि मौषमीरूपमा यो खेती गर्नेको सङ्ख्या बढ्दै गएको छ ।” अहिले आफ्नो थोरै बारीमा समेत तिहारलक्षित गर्दै पुष्पखेती गर्नेहरूको सङ्ख्या बढेको भन्दै उहाँले यो व्यवसायमा युवापुस्ता अघि सरेको बताउनुभयो । उहाँले भन्नुभयो, “चार दिनका लागि फूल लगाउने धेरै भए । अब यसलाई निरन्तरता दिनसके हुन्थ्यो ।”

एशोसिएशनका अध्यक्ष अमर घलेले तिहारलाई लक्ष्य गर्दै जिल्लामा अहिले ४० बिघा क्षेत्रफलमा पुष्पखेती भइरहेको बताउनुभयो । यसमा अहिले नियमित यही व्यवसायमा लागेका भन्दा आंशिकरूपमा खेती गर्ने बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि व्यावसायिकरूपमा गर्ने ५५ जना कृषक हुनुहुन्छ । अरु सबै आंशिकरूपमा हो ।” गत वर्षभन्दा अहिले फूलखेतीको क्षेत्रफल र खेती गर्नेको सङ्ख्या पनि बढेको उहाँको भनाइ छ । खेती गर्ने अधिकांश युवा रहेका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत विद्यार्थीले पनि समूह बनाएर तिहारलक्षित फूलखेती गर्दै आएका छन् । जिल्लामा अहिले १० लाख बिरुवा लगाइएको भन्दै उहाँले भन्नुभयो, “हामीले चितवनको बजारमा अहिले दुई लाख माला पु¥याउने लक्ष्य लिएका छौँ ।” यहाँ पाँच लाख माला खपत हुने उहाँको अनुमान छ । जसमध्ये एक लाख ५० हजार माला भारतबाट आयात हुने उहाँले जानकारी दिनुभयो । अन्य छिमेकी जिल्लाबाट आउने उहाँले बताउनुभयो ।

आंशिकरूपमा व्यवसाय गर्नेका कारण बजार मूल्यमा एकरुपता नआउने डर बढेको उहाँको भनाइ छ । अहिले बजारमा मालाको मूल्य रु ८० र एक किलो फूलको रु २५० भन्दामाथि नजाने उहाँले जानकारी दिनुभयो । अहिले व्यावसायिकरूपमा खेती गरेका व्यवसायीले बिक्री वितरणका लागि आफ्नै स्टल खोलेर बिक्री वितरण गर्ने योजनामा रहेका छन् । यहाँको फूलको बजार चितवन, काठमाडौँ, पोखरालगायतका ठूला सहर छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.