Advertisement

प्रहरीकै सहयोगमा तस्करी, सर्वसाधारणलाई सास्ती, तस्करलाई मस्ती

0 980

Advertisement

०४ असोज, जनकपुरधाम । बिहानको ६ बजेतिर दुईवटा साइकल तीव्र गतिमा कुदाइँदै थिए। जनकपुरधाम उपमहानगरपालिका-४ आनन्दनगरको गल्ली भएर गुडाइएका ती साइकलमा दुई जना बलेकिया (सामान ओसारपसार गर्ने व्यक्ति) तस्करीको सामान राखेर कुदाइरहेका थिए। ती बलेकियाहरूलाई हर्न बजाउँदै मोटरसाइकलमा आएका एक प्रहरी कर्मचारीले पछाडिबाट रोके। उनीहरूले प्रहरीको हातमा केही रकम राखिदिए। प्रहरीले उनीहरूलाई जान इसारा गरे। त्यो सबै दृश्य घरको छतबाट एक व्यक्तिले मोबाइलमा भिडियो रेकर्ड गरे।

‘सर यस्तो नगरिदिनुस् यस्तो त भइरहन्छ,’ प्रहरीले भिडियो बनाउने व्यक्तिलाई भने। भिडियो बनाउनेले जवाफ फर्काए, ‘यो बाटोबाट बिहानै सधैं बलेकियाहरू जान्छन्। तपाईं प्रहरी भएर तस्करलाई यसरी छाड्न मिल्छ ?’ प्रहरीले भने, ‘के गर्ने उनीहरूको पनि रोजिरोटी छ, फेरि मलाई पनि माथिबाट फोन गरेर उनीहरूलाई छाड्ने निर्देशन आएकोले छाडिदिएको हुँ। तर, तपाईं यो भिडियो डिलिट गर्नुस्।’ भिडियो बनाउनेले भिडियो डिलिट गर्ने आश्वासन दिएपछि प्रहरी कर्मचारी बाटो लागे।

नगर प्रवेश गर्ने मुख्य बाटोहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी २४ सैं घण्टा रहे पनि तस्करहरू बिहान–बेलुका विभिन्न गल्लीबाट सामान ओसारपसार गरेको सजिलै भेटिन्छन्। कोरोना महामारीको नाममा नेपाल भारत बोर्डर आधिकारिक रूपमै सर्वसाधारणको लागि बन्द छ। तर, तस्करका लागि भने न त बोर्डर बन्द छ न प्रहरीको निगरानीले फरक पारेको छ।

सर्वसाधारणलाई सास्ती, तस्करलाई मस्ती

गत बिहीबार सिरहाको माडर भन्सार कार्यालय अगाडिको नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्न ढाट नखुलाउँदा एक महिलाको मृत्यु नै भयो। सिरहा नगरपालिका—४ कि ४० वर्षीया बहिदा खातुनको माडर नाकामा राति साढे ३ बजे सडकमै छट्पटिएर मृत्यु भयो। आफन्तको बिहेमा सहभागी भई भारतको गोरखपुरबाट फर्किने क्रममा खातुन बिरामी परेकी थिइन्।

मधुमेह र उच्च रक्तचापका बिरामी खातुन घर फर्किने क्रममा अटोमै बिरामी परिन्। उनको साथमा रहेकी छोरी वरिदा खातुनले मामा नुरे आलमलाई फोन गरिन्। ‘राति अढाइ बजे एम्बुलेन्स खोज्दा नभेटेपछि दुई वटा टेम्पो लिएर माडरको ढाट नजिक पुगँे,’ नुरे आलमले भने। भन्सार नाकामा ड्युटीमा रहेका सशस्त्र प्रहरीलाई दिदीको अवस्था नाजुक रहेको बताउँदै टेम्पो नेपाल जान दिन बिन्ती गरे। तर, प्रहरीले टेम्पो जान दिएनन्। ‘दिदीको अवस्था नाजुक बन्दै गयो र उनी बाटोमै छट्पटिएर मरिन्,’ नुरेले भने, ‘एकातर्फ बिरामीलाई जान नदिएका सशस्त्र प्रहरीकै अगाडि भारतबाट तस्करीको सामान लिएर नेपाल छिरिरहेका तस्करहरूलाई प्रहरीले कुनै रोकटोक गरेको थिएन। दिदी गुमाएका आलमले ती तस्करहरू नेपाल सहजै छिरेको भिडियो मोबाइलमा कैद गरी सामाजिक सञ्जालमा पोस्टसमेत गरे। सर्वसाधारणको ज्यान जाँदासमेत नाकाको ढाट नखोल्ने प्रहरीले तस्करलाई सहजै प्रवेश दिने गरेको थुप्रै प्रमाणहरू छन्।

रातमा खुल्छ तस्करीको बाटो

प्रदेश २ को सीमानाकासँग जोडिएका अधिकांश गाउँहरूमा रातिको समय निकै चहलपहल हुन्छ। विशेषगरी मुख्य नाका छेऊका खेत वा कच्ची बाटो भएर तस्करहरू नेपाल प्रवेश गर्छन्। महोत्तरीको भिठ्ठामोड, सिरहाको माडर, रौतहटको गौरलगायतका नाकाहरूमा राति ड्युटीमा खटिएका प्रहरी सामु नै मोटरसाइकल र साइकलमा तस्करीको सामान ओसारपसार गर्नेहरूको लाम लाग्ने गर्छ।

दुई वर्षदेखि सीमानाका बन्द भए पनि चोरीनिकासी र तस्करी कायमै

नेपालभारत सीमाभन्दा ३ किलोमिटरभित्र धनुषाको कमला नगरपालिका लगमाबाट भन्सार कार्यालयका कर्मचारीले गत साता राजस्व छलि गरी ल्याएको ३ लाखभन्दा बढी मूल्यका कपडासहितको सामान नियन्त्रणमा लिए। लगमाबाट सामान नियन्त्रणमा लिएको एक दिन नबित्दै धनुषाकै भररिया नाकाबाट चोरी पैठारी गरी ल्याउँदै गरेको ८ लाख मूल्य बराबरको अवैध सामग्री भन्सार कर्मचारीले समाते। ‘बोर्डर बन्द भए पनि सीमापारिबाट तस्करी गरी कहिले लत्ताकपडा, त कहिले खाद्यान सामग्री, मोटर पार्टस्सहितका अवैध सामानहरू निरन्तर पक्राउ परिरहेको हुन्छ,’ धनुषा भन्सार कार्यालयका प्रमुख प्रमोद दास बताउँछन्।

सीमा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट र नेपाल प्रहरीको इकाइ कार्यालय हुँदाहुँदै पनि भन्सारका कर्मचारीले नेपाल भित्रिसकेको अवैध सामानहरू नियन्त्रणमा लिएको यी दुई प्रतिनिधि घटनाहरू मात्रै हुन्। दुई वर्षदेखि सीमानाका बन्द भए पनि चोरी निकासी र तस्करी रोकिएको छैन।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.