नगर सभापतिका लागि उम्मेदवारी घोषणा
३१ भदौ, भक्तपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै भक्तपुरमा हुने नगर अधिवेशनमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।
कांग्रेसले जिल्लाका सबै वडा अधिवेशन सम्पन्न गरेसँगै नगर सभापतिका आकांक्षीले उम्मेदवारी घोषणा गर्न थालेका हुन् । नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले दुई प्यानल खडा गरेर आफ्नो उम्मेदवारी दिने भएको छ । दुई समूहले उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारमा समेत जुटेका छन् ।
सूर्यविनायक नगर समिति सभापतिमा कांग्रेस जिल्ला सचिव निशान ढुङ्गेलले प्यानल नै बनाएर उम्मेदवारी घोषणा गर्नुभएको छ । त्यस्तै सूर्यविनायक नगर समितिका उपसभापति रवि राणाले पनि प्यानल नै बनाएर उम्मेदवारी घोषणा गर्नुभएको छ । ढुङ्गेल नेतृत्वको प्यानलबाट उपसभापतिमा रमण कायष्ठ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढुङ्गाना र सुरेश केसी, क्षेत्रीय प्रतिनिधिमा अम्बिका थापा र शशी बस्नेतले उम्मेदवारी दिने जनाउनुभएको छ ।