Advertisement

संविधानका त्रुटिलाई सच्याउनुपर्छ: अर्जुन नरसिंह केसी

0 11

Advertisement

०४ चैत, काठमाडाैं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले संविधानमा रहेका केही अस्पष्ट व्यवस्थालाई परिवर्तन गर्नुपर्ने अवस्था आएको बताएका छन्।

अहिलेको विकृति र जनगुनासोलाई हेर्दा संविधानमा देखिएका कतिपय व्यवस्था फेर्नु पर्ने देखिएको उनले बताए।

नेपाल प्रेस युनियन रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता केसीले जहाँ-जहाँ कमी कमजोरी देखिन्छन् त्यसलाई सुधार गर्दै जानुपर्ने बताए।

भर्खरै भएको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट बाहिर आएका गुनासो बारेको प्रसंग कोट्याउँदै केसीले समानुपातिक प्रतिनिधित्वको सवालमा गम्भिरतापूर्वक सोच्नु पर्ने आवश्यकता औंल्याए।

‘राष्ट्रपति र उपराष्ट्रपति बनाउने विषयमा फरक लिंग वा फरक समुदाय भनेकाले फरक समुदाय भएकोले ठिक छ भनियो, एउटा पदमा महिला नै हुनुपर्छ भनेर तोकिएको भए बाध्यकारी हुने थियो,’ केसीले भने, ‘संविधानमै यस्तै अस्पष्टता रहेका कारण राष्ट्रपती र उपराष्ट्रपति दुबै पदमा पुरूष बन्नका लागि बाटो खोलिदियो।’

केसीले यस्तो अस्पष्टता र कमजोरीलाई अब सच्याउनुपर्ने बताए। उनले निर्वाचन पद्दति बारे पनि सोच्नुपर्ने र समानुपातिक सिटमा पनि निर्वाचन हुनुपर्ने बताए।

सर्वसाधारणका गुनासा जसरी आउने गर्छन् त्यसैका आधारमा संविधानमा भएका गल्ती कमजोरीलाई सच्याउँदै र परिवर्तन गर्दै जानुपर्ने उनको भनाई छ।

‘यो हामीले नै बनाएको संविधान हो, त्यसका प्रति गुनासाहरू आउन थाले भने सोच्नु पर्छ,’ केसीले भने।

नेता केसीले प्रदेश र स्थानीय सरकार संघीय सरकारसँगको समन्वयका आधारमा चल्ने विधि भएपनि त्यसमा कमजोरी देखिएको र त्यसैका कारण पनि संघीयता प्रति जनताका गुनासा आएको बताए।

पूर्वमन्त्रीसमेत रहेका केसीले सरकार टिकाउने नाममा उपप्रधानमन्त्रीको हुल बनाउने परिपाटी गलत भएको टिप्पणी गरे।

‘राजनीतिक गठबन्धन र सत्ता टिकाउने खिचातानीकै कारण उपप्रधानमन्त्रीहरूको हुल बनाउने गलत परिपाटी बसालिएको छ, अब सत्ता स्वार्थभन्दा माथि उठेर देशकोबारे सोच्नुपर्ने बेला आएको छ,’ केसीले भने।

नेता केसीले दण्डहीनता र अराजकताले देशलाई थप समस्यामा पारेको उल्लेख गर्दै सरकारलाई ऋणमा चलाउनु मुलुककै लागि दुर्भाग्य भएको बताए।

‘दातृ निकायको सहयोग र ऋणमा सरकार चल्नुको संकेत राम्रो होइन। २१ खर्ब ऋणको भार बोकेकै कारण देश आर्थिक संकटमा पर्दै गएको छ,’ नेता केसीले देश आर्थिक रूपले संकटमा परेको बताए।

नेता केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्रै सरकारले पुर्णता पाउने र नेपाली कांग्रेसको तर्फबाट कसले नेतृत्व गर्ने भन्ने विषयमा छलफल हुने बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.