इमरान खानलाई भारत छाड्न दिइएको आदेशमा उच्च अदालतको रोक

११ कार्तिक, मुम्बई । बलिउड अभिनेता इमरान खानलाई मुम्बई प्रहरीले अक्टोबर २८ भित्र भारत छाड्न दिएको नोटिसमा बम्बे उच्च अदालतले तत्कालका लागि रोक लगाएको छ। 

भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भएको विरोध प्रदर्शनमा सहभागी भएपछि प्रहरीले उनलाई देश छाड्ने सूचना दिएको थियो।

मङ्गलबार बम्बे उच्च अदालतका मुख्य न्यायाधीश महेशचन्द्र त्रिपाठी र न्यायाधीश अद्वैत सेठनाको संयुक्त इजलासले खानको रिट निवेदनमाथि सुनुवाइ गर्दै भारत छाड्ने सूचनामा नोभेम्बर २ सम्मका लागि रोक लगाएको हो। यसअघि सोमबारका लागि तोकिएको सुनुवाइ स्थगित भएर मंगलबार भएको थियो। अदालतले यस मामिलाको अर्को सुनुवाइ पनि नोभेम्बर २ का लागि नै तोकेको छ।

केही दिनअघि मुम्बईको अगस्ट क्रान्ति मैदानमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको विरोध प्रदर्शनमा अभिनेता खान सहभागी भएका थिए। सो क्रममा मुम्बई प्रहरीले उनलाई हिरासतमा लिएको थियो। भारतीय नागरिक नभईकन पनि राजनीतिक तथा आन्तरिक विरोध प्रदर्शनमा सहभागी भएको भन्दै उनीमाथि अध्यागमन ऐनको दफा ७ र २९ अन्तर्गत कारबाही अघि बढाइएको हो।

अभिनेता इमरान खानसँग भारतीय नागरिकता छैन, उनी अमेरिकी नागरिक हुन्। उनी ओभरसिज सिटिजन अफ इन्डिया (ओसीआई) कार्डमार्फत भारतमा बस्दै आएका छन्। प्रहरीले भारत छाड्न आदेश दिएपछि खानले आफ्ना वकिल जुल्फिकार मेमन र कानुनी टोलीमार्फत बम्बे उच्च अदालतमा प्रहरीको सूचनालाई गैरकानुनी र कानुनविपरीत भन्दै रिट दायर गरेका थिए।

वर्तमान कानुनमा ओसीआई कार्डवाहकलाई शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुनबाट रोक्ने कुनै प्रावधान नरहेको उनको जिकिर छ। साथै देश छाड्ने जस्तो गम्भीर सूचना जारी गर्नुअघि आफूलाई कुनै स्पष्ट कारण नदिइएको र आफ्नो पक्ष राख्ने मौका समेत नदिइएको भन्दै उनले उक्त सूचना खारेज गर्न अदालतसमक्ष माग गरेका थिए।

You May Also Like

More From Author

+ There are no comments

Add yours