११ कार्तिक, भोजपुर। गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन थालेपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन कामदार पाउन मुस्किल हुन थालेको छ।
खेतीपातीका लागि आवश्यक जनशक्ति अभाव हुँदा किसानले पाकेको धान समयमै भित्र्याउन समस्या भोग्नुपरेको छ।
धान खेतीका लागि वर्षभरि मेहनत गरेका किसानलाई बाली भित्र्याउने समयमा कामदार खोज्नुपर्ने बाध्यता परेको छ। वैदेशिक रोजगारी तथा अन्य कामका लागि गाउँबाट युवा बाहिरिएपछि किसानलाई मर्का परेको छ।
धान काट्ने, बिटा बाँध्ने, खेतबाट बोकेर खलोमा पुर्याउने, झाँट्ने, बत्ताउने र घरसम्म बोकेर लैजाने काममा शारीरिक रूपमा बलियो जनशक्ति आवश्यक पर्ने भएकाले युवा अभावले किसानलाई समस्या भएको स्थानीय किसानको भनाइ छ।
टेम्केमैयुङ गाउँपालिका–६ का किसान बलबहादुर राईले वैदेशिक रोजगारी तथा सहर केन्द्रित बसाइँसराइका कारण गाउँमा युवा जनशक्ति अभाव हुँदै गएको बताए। पहिले गाउँघरमै पर्याप्त जनशक्ति पाइने गरेकामा अहिले धान थन्क्याउने समयमा कामदार खोज्न मुस्किल हुने गरेको उनको भनाइ छ।
“गाउँमा खेती गर्ने युवा घट्दै गएका छन्। धान पाकेपछि काट्ने, बिटा बाँध्ने, बोकेर खलोमा पुर्याउने र झाँटेर घरसम्म भित्र्याउने काममा बलियो जनशक्ति चाहिन्छ। तर, अहिले गाउँमा युवा नहुँदा यी काम गर्न कठिन भएको छ,” उनले भने।
हतुवागढी गाउँपालिका–२ लुङ्गिनका स्थानीय किसान जयबहादुर थापाले खेतीपातीको काम महिला र ज्येष्ठ नागरिककै भरमा गर्नुपर्ने अवस्था रहेको बताए। युवा जनशक्ति गाउँमा नहुँदा परिवारका सदस्य मिलेर खेतीको काम धान्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
शारीरिक श्रम बढी लाग्ने भएकाले महिला र ज्येष्ठ नागरिकलाई कठिन हुने गरेको किसान बताउँछन्। जनशक्ति अभावमा परिवारकै सदस्यले बढी मेहनत गर्नुपर्ने र काम सम्पन्न गर्न समय लाग्ने गरेको छ।
परम्परागत रूपमा गाउँघरमा एकअर्काको खेतीमा सघाउने चलन रहे पनि पछिल्लो समय युवा जनशक्ति घट्दै जाँदा मेलापातबाट काम सम्पन्न गर्न कठिन हुन थालेको छ। पहिले छिमेकी र आफन्त मिलेर पालैपालो धान काट्ने तथा थन्क्याउने गरिए पनि अहिले काम गर्ने मानिसको अभावले किसानले थप समस्या झेल्नुपरेको किसानको भनाइ छ।
स्थानीय सरकारले युवालाई गाउँमै राख्न सक्दो पहल गर्नुपर्ने र आधुनिक कृषि प्रणाली अवलम्बन गर्न प्रेरित गर्नुपर्ने स्थानीय किसानको भनाइ छ।


+ There are no comments
Add yours