Advertisement

सात लघुवित्त कम्पनीको अझै लागेन साधारण सभाको टुङ्गो

0 6

Advertisement

०२ वैशाख, काठमाडाैं । नेप्सेमा सूचीकृत रहेका ५५ ओटा लघुवित्त कम्पनीमध्ये सात ओटा कम्पनीले अझै साधारण सभा सकाएका छैनन् । चालु आर्थिक वर्षको ९ महीना अवधिमा सकिएपनि उनीहरुले गत आर्थिक वर्ष २०७९–८० को सभा आह्वान गर्न सकेका छैनन् । ४८ ओटाले भने हालसम्म साधारण सभा सम्पन्न गरेका छन् ।

यसरी हालसम्म पनि साधारण सभा नसकाउने लघुवित्त कम्पनीहरुमा सूर्योदय वोमी लघुवित्त, एनएमबि लघुवित्त, आशा लघुवित्त, विजय लघुवित्त, अभियान लघुवित्त, समाज लघुवित्त र श्रृजनशील लघुवित्त रहेका छन् ।

साधारण सभा आह्वान नगरेका सातमध्ये सूर्योदय वोमी लघुवित्तले चुक्ता पुँजीको १४.०७७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । एनएमबि लघुवित्त, आशा लघुवित्तले लाभांश नदिने घोषणा गरिसकेका छन् । बाँकी चार कम्पनीहरु विजय लघुवित्त, अभियान लघुवित्त, समाज लघुवित्त र श्रृजनशील लघुवित्तले भने लाभांश वितरण गर्ने सम्बन्धमा सञ्चालक समितिबाट कुनपनि निर्णय गराइसकेका छैनन् ।

पब्लिक कम्पनीमा सूचीकृत कम्पनीहरुले हरेक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र गत आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था छ । यस समयमा साधारण सभा सम्पनन नगर्ने कम्पनीहरुलाई कम्पनी रजिष्ट्रारको कार्यालयले जरीवाना समेत तिराउने गर्दछ । तर साधारण सभाबाट निर्वाचित भई कम्पनी सञ्चालनको जिम्मेवारी लिएर सञ्चालक बनेकाहरुले तोकिएको समयभित्र साधारण सभा सम्पन्न गर्नेगरी काम गर्नुभन्दा आफू चाँही सञ्चालकले पाउने भत्ता पचाउने तर कम्पनीलाई जरीवाना तिर्न तयार बनाउने गरेका छन् । समयमा काम गर्न नसक्ने सञ्चालकहरुलाई कारवार्हीको व्यवस्था नहुँदा सूचीकृत झण्डै आधा कम्पनीहरु तोकिएको समयमा एजीएम सम्पन्न गर्न असफल बन्ने गरेका छन् ।

अर्कोतर्फ बजार सञ्चालनको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हरेक त्रैमासमा गर्ने कम्पनी वर्गिकरणको सूची प्रकाशन गर्ने गरेको छ । यसरी दोस्रो त्रैमास अर्थात पुस मसान्तभित्र गत आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनीलाई नेप्सेले गर्ने वर्गिकरणको सूचीमा ‘ए’ वर्गमा राख्दैन । अर्थात तोकिएको समयभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनी खराब वर्ग अर्थात ‘ए’ भन्दा कमजोर मानिने ‘बि’ ‘जी’ ‘जेड’ वर्गतिर समेटिने गर्दछन् । यद्यपी अझैपनि कम्पनीहरु सेयरधनी र आफ्नो साख वृद्धि गर्न पुसभित्रै साधारण सभा सम्पन्न गर्नबाट चुक्दै आएका छन् ।

अन्तर्राष्ट्रिय अभ्यासमा कतिपय कम्पनीहरुले साधारण सभाको मिति नै तोकेर हरेक वर्ष एकैदिन साधारण सभा सम्पन्न गर्ने गरेको समेत भेटिन्छ । नेपालमा भने यस्तो अभ्यास हालसम्म एउटा पनि कम्पनीमा देख्न पाइएको छैन ।

प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महीनाभित्र वार्षिक साधारण सभा सकाउनुपर्ने कानुनी व्यवस्था रहेपनि नियामकीय कडाई नहुँदा कम्पनीहरुले सो व्यवस्था पालना गर्ने गरेका छैनन् । आर्थिक जरिवाना तिर्न तयार हुने तर समयमा नै साधारण सभा नसकाउने प्रवृत्तिले कम्पनीमा संस्थागत सुशासन समेत कमजोर हुने हुँदा यसमा नियामकले कडा निर्देशन सहित समयमा नै सभा सकाउन लगानुपर्नेमा सरोकारवालहरुको जोड रहँदै आएको छ । यद्यपी कम्पनीहरुले ९ महीना सकिँदासम्म साधारण सभा समेत आह्वान नगरी सो व्यवस्थाको खिल्ली उडाइरहेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.