Advertisement

भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना संक्रमण

0 18

Advertisement

०७ वैशाख, महेन्द्रनगर । पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना संक्रमण दर वृद्धि भइरहेको छ।

सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका साथै पहाडी जिल्लाका नेपाल–भारत सीमा नाकामा पाँच वटा स्थानमा हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षण गर्दै आएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले सीमानाकामा कोरोना परीक्षणमा संक्रमण पुष्टि हुने क्रम दुई सातायता बढ्दै गइरहेको बताए।

कञ्चनपुरको गड्डाचौकी नाका, कैलालीको त्रिनगर र खक्रौला, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा भारतबाट फर्किनेको स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरिएको उनले जानकारी दिए। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा पीसीआर विधिमा ३ र एन्टिजेनमा २७ गरी ३० जनामा संक्रमण देखिएको छ।

यहाँ बुधबार चार सय ११ जनालाई एन्टिजेन र २२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो। जसमध्ये कञ्चनपुरका मात्रै बुधबार दश जनाको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ। स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले यहाँ दश जनाको संक्रमण देखिएको बताए।

उनका अनुसार गड्डाचौकीमा चार, बेलौरीमा चार र दोधारा चाँदनी र कृष्णपुर नगरपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी कैलालीको धनगढीस्थित त्रिनगर हेल्थ डेस्कमा परीक्षण गर्दा तीन जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति जोशीले जानकारी दिए।

बुधबार मात्रै सिमाना गड्डाचौकीमा दुई सय आठ, बैतडीको झुलाघाटमा १९, टीकापुर खक्रौला नाकामा ४२, त्रिनगर भन्सारमा एक सय ९७ र दार्चुलाको पुलघाटमा नौ जनाको कोरोना परीक्षण गरिएको थियो। ‘कोभिडको खोप लगाएका छौँ भनेर मात्रै पुग्दैन,’ जोशीले भने, ‘स्वास्थ्य मापदण्डको पनि ख्याल गर्दै स्वास्थ्यप्रति सजग रहन आवश्यक छ।’ उनले सीमानाकामा एन्टिजेन र प्रादेशिक एवं जिल्ला अस्पतालमा पीसीआर विधिबाट कोरोना परीक्षण हुँदै आएको जानकारी दिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.