Advertisement

उपत्यकामा बढ्दो सवारी दुर्घटना : तीन वर्षमा ४ सय ८४ जनाको मृत्यु

0 17

Advertisement

१० चैत, काठमाडाैं । पछिल्लोे तीन वर्षको तथ्यांक अनुसार काठमाण्डौं उपत्यकाभित्र सवारी साधन दुर्घटनाबाट चार सय ८४ जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७७\७८ मा नौ हजार पाँच सय ४५ सवारी साधन दुर्घटनाबाट एक सय ६६ जनाको मृत्यु भएको छ भने २२९ जना गम्भीर घाइते तथा सात हजार ९५ जना सामान्य घाइते भएका छन् ।

आर्थिक वर्ष २०७८\७९ मा १० हजार सात सय ३३ सवारी साधन दुर्घटनामा परेर एक सय ९१ जनाको मृत्यु भएको छ भने दुई सय ५७ गम्भीर घाइते र आठ हजार दुई सय ८१ जना सामान्य घाइते भएका छन् ।

काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्ममा काठमाण्डौं उपत्यकाभित्र छ हजार आठ सय तीन सवारी साधन दुर्घटनाबाट एक सय २७ जनाको मृत्यु भएको छ । यस्तै, एक सय ५४ जना गम्भीर घाइते भएका छन् भने पाँच हजार एक सय २७ जना सामान्य घाइते भएका छन् ।

पछिल्लो समय काठमाण्डौं उपत्यकाभित्र सवारी दुर्घटनाका कारण बर्सेनि सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् । आफूले ठीक ढङ्गबाट सवारी साधन चलाउँदा चलाउँदै पनि अर्को सवारी साधनका कारण अकालमा ज्यान गुमाउनुपरेको छ ।

काठमाण्डौं उपत्यकामा सवारी साधन दुर्घटनाको अवस्था कहालीलाग्दो छ । काठमाण्डौं उपत्यकामा सवारी साधन दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक र पैदलयात्रु बढी छन् ।

काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट उपत्यकाभित्र हुने सवारी साधन दुर्घटनालाई कम गर्न ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमलाई अगाडि सारेको बताउँछन् । “दुर्घटनालाई कम गर्न मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ, तीव्र गतिलाई नियन्त्रण गर्न प्रतिघण्टा ५० किलोमिटरभन्दा बढीको गतीमा सवारी साधन चलाउन नपाइने नियम, सवारी साधनको स्थिती जाँच, लामो दूरीका सवारी साधनमा दुई चालक छन् या छैनलगायत विषयलाई विशेष निगरानी गर्दै आएका छौँ”, उनी भन्छन् ।

साँघुरो बाटो र धेरै सवारी साधन भएकाले बढी दुर्घटना हुने गरेको प्रवक्ता भट्टको भनाइ छ । काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाण्डौं उपत्यकाभित्रको सवारी व्यवस्थापनका लागि प्रहरी नायव महानिरीक्षकको नेतृत्वमा एक हजार सात सय ट्राफिक प्रहरी परिचालित छन् । लामो समयसम्म काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा काम गरेका पूर्व प्रहरी उपरीक्षक जगतमान श्रेष्ठ ९० प्रतिशतभन्दा बढी दुर्घटना मानवीय कारणले हुने गरेको बताउँछन् ।

“चालक, पैदलयात्रु र यात्रुका कारण धेरै दुर्घटना हुने गरेका छन्”, उनी भन्छन् । हाल देशभर ४० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । तीमध्ये काठमाण्डौं उपत्यकामा मात्र १८ लाखदेखि २० लाख सवारी साधन सञ्चालनमा छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.