Advertisement

उत्तम सहकारीका बचतकर्ताको १३ करोड ठगी प्रकरण: अध्यक्षसहित २ जना पक्राउ, ५ जना अझै फरार

0 14

Advertisement

१० चैत, काठमाडौं। काठमाडौं महानगरपालिका–३ बसुन्धारामा रहेको उत्तम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३ करोड रुपैयाँभन्दा बढी ठगी प्रकरणमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। ४१५ जना बचतकर्ताको १३ करोड रुपैयाँ भन्दा बढी ठगी गरेर सञ्चालक समितिका ५ जना फरार भएका जनाइएको छ।

पक्राउ पर्नेहरुमा सहकारीका अध्यक्ष काठमाडौं महानगरपालिका–३ की ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र लमजुङको मध्य नेपाल नगरपालिका–९ घर भइ सहकारीकी सदस्य २५ वर्षीया शीला रानाभाट छन्।

यी २ जना पक्राउ परे पनि कोषाध्यक्ष र सचिवसहित सञ्चालक समितिका ५ जना भने फरार रहेका प्रहरीले जानकारी दिएको छ। फरार हुनेहरुमा कोषाध्यक्ष लमजुङको सुन्दरबजार नगरपालिका–४ का ३८ वर्षीय दुर्गाराज न्यौपाने, सहकारीको सदस्य रहेकी काठमाडौं–१८ की ५४ वर्षीया ईश्वरी राजवाहक, सदस्य काठमाडौं–१६ बालाजुकी ४४ वर्षीया मन्दिरा राजवाहक, काठमाडौं–११ का ५५ वर्षीय बद्रीबहादुर जोशी र सचिव उदयपुरकी ४० वर्षीया छत्रकुमारी धना मगर छन्।

यो समूहले ४१५ जना बचतकर्ताको १३ करोड ७ लाख ९७ हजार ६७ रुपैयाँ ठगी गरेको पाइएको छ। उनीहरुले आकर्षक ब्याजको प्रलोभन देखाउँदै रकम जम्मा गर्न लगाएर बचत गरेको रकम लिएर फरार भएको उजुरीकर्ताले बताएका छन्।

जम्मा गरेको रकम निकाल्न जाँदा निकाल्न समेत नदिएको, जम्मा भएको रकम आफूखुसी विभिन्न ठाउँमा लगानी गरेर रकम अपचलन गरी ठगी गरेको पाइएको अनुसन्धानबाट खुलेको छ।

उक्त सहकारीमा दैनिक १८०० जना बचतकर्ताले रकम जम्मा गर्ने गरेका थिए। उनीहरुबाट दैनिक ६ लाख रुपैयाँ भन्दा बढी रकम उठ्ने गरेको, साथै निक्षेपकर्ताहरुले मुद्दती खाता समेत खोलेर २५ लाख रुपैयाँसम्म जम्मा गर्ने गरेका थिए। बचतकर्ताको उक्त रकम फिर्ता दिनुको साटो कर्जा लिन आएका व्यक्तिलाई कर्जा प्रवाह गर्ने र बाँकी रहेको रकम संस्थाको नाममा रहेको ग्लोबल आईएमईको खातामा जम्मा गर्ने गरेको पाइएको छ।

सहकारी नाफामा जाँदा उक्त रकम सञ्चालक समितिका सदस्यहरुले बिना धितो तथा बिना ब्याज २० लाखसम्म लैजाने गरेको अनुसन्धानबाट खुलेको छ। संस्था नाफामा गएको बेला बालुवाटार, माछापोखरी, नारायणस्थान र बसुन्धारा गरी ४ ठाउँमा उत्तम मार्ट समेत सञ्चालन गरेका थिए।

पछि बिना धितो लगानी गरेको कर्जा समेत नउठ्ने र कोराना माहामारीका कारण मार्ट समेत घाटामा गएर सहकारी डुबेको पक्राउ गरेकी अध्यक्ष श्रेष्ठले प्रहरी समक्षको बयानमा बताएकी छिन्।

पक्राउ परेका तथा फरार भएकाहरुले सहकारी ऐन, २०७४ को दफा १२२ को खण्ड (घ), (ङ) र (च) बमोजिमको कसुर गरेको भन्दै सोही अनुसारको कारबाहीको माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

पक्राउ परकोहरुबाट हिनामिना भएको रकम १३ करोड ७ लाख ९७ हजार ६७ रुपैयाँ बराबरको बिगो समेत भराउनुपर्ने माग गरिएको छ। त्यस्तै अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम कसुरदारबाट पीडित राहत कोषमा क्षतिपूर्ति समेत भराउनुपर्ने उल्लेख गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुमाथि अनुसन्धान सकेर मुद्दा दर्ता गराउनुपर्ने रायसहित जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो। सोहीअनुसार सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता गरेको हो।

त्यस्तै फरार भएकाहरुको हकमा पनि पक्राउ पूर्जी जारी गर्न माग गरिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.