Advertisement

दश महिनापछि लाम्पाटा–दरवाङ सडक निर्माण सुरु

0 41

Advertisement

२८ फागुन, म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (लाम्पाटा–दरवाङ) खण्डका ठेकेदार १० महिनापछि काममा फर्किएका छन्।

२०७९ वैशाखदेखि रोकिएको म्याग्दीको लाइफ लाइन मानिएको सो सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो।

गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत् सञ्चालित सडक निर्माणमा भएको ढिलाइले यात्रुलाई सास्ती भएको थियो। ठेकेदार कम्पनी बिरुवा–क्याराभानका आधिकारिक प्रतिनिधि सोमनाथ थकालीले रणवाङमा नाली र पर्खाल निर्माणको काम तीव्रगतिका साथ भइरहेको बताए।

‘बर्खा, चुनाव, नदीजन्य निर्माण सामग्रीको अभावले नियमित काम गर्न समस्या भयो’, उनले भने, ‘आठ किलोमिटरमध्ये लाम्पाटाबाट तोलावाङसम्मको करिब चार किलोमिटर सडक चालु आर्थिक वर्षभित्रै कालोपत्र गर्ने लक्ष्यसहित उपकरण, मजदुर परिचालन र निर्माण सामग्री जुटाएका छौँ।’

मङ्गला गाउँपालिकाको लाम्पाटाबाट मालिकाको केन्द्र दरवाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो। २०७८ जेठमा सकिनुपर्ने सडक निर्माणको भौतिक प्रगति ५५ प्रतिशत छ। आगामी २०८० असारसम्म म्याद थपिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए।

‘जमानी बसेको बैंकलाई पत्राचार गरेर जमानत जफत र कारबाहीको प्रक्रिया थालेपछि बल्ल काममा आएका छन्’, उनले भने, ‘पर्याप्त मजदुर, उपकरण परिचालन गरेर सडक निर्माणलाई तीव्रता दिन ताकेता गरेका छौँ।’

सो खण्डमा पर्ने बाङ्गेपहिरो क्षेत्र पहिरोग्रस्त र जोखियुक्त छ। ताकेता र दबाबपछि १० महिनादेखि रोकिएको काम सुरु भएपछि अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने आशा गरेको मङ्गला गाउँपालिका–२ रणवाङका श्रीराम पौडेलले बताए।

स्थानीयवासीले पूर्वाधार विकास कार्यालय, जिल्ला प्रशासन, प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली, प्रदेश सांसद हरिबहादुर भण्डारी, विमला गौचनमार्फत् दबाब दिएका थिए। मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यो सडक २०६३ मा मार्ग खुलेको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.