Advertisement

उम्मेदवार हुन प्रतिस्पर्धा मात्रै होइन, त्याग पनि चाहिन्छ : गृहमन्त्री खाण

0 87

Advertisement

०८ असाेज, बुटवल । गृहमन्त्री बालकृष्ण खाणले उम्मेदवार बन्नका लागि प्रतिस्पर्धा मात्रै गरेर नपुग्ने भन्दै त्यसका लागि पार्टीमा त्याग पनि आवश्यक भएको बताए।

शनिबार भैरहवामा शान्ति बुद्ध गुम्बा उद्घाटनका क्रममा बोल्दै गृहमन्त्री खाणले यस्तो बताएका हुन्। उनले अहिले हुन गइरहेको निर्वाचनमा नेताहरुमा प्रतिस्पर्धा भइरहेको र सबैलाई टिकट दिन नसिकिने बताए।

‘यो संवेदनशील बेलामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नुपर्ने, नयाँ जनादेशले नयाँ राजनैतिक उचाई छुनुपर्ने संकल्पमा आफ्नो भूमिकाको खोजी गर्नु स्वाभाविक हो’, उनले भने, ‘तथापि कहिलेकाहीँ मुलुकका लागि, विचारका लागि एक कदम पछाडि पनि हट्नुपर्ने हुन्छ।’

उनले बुद्धको शिक्षा आत्मसात् गर्नुपर्ने सबैको दायित्व रहेको बताए। मन्त्री खाणले सिद्धार्थ गौतमले पनि त्याग नगरेको भए बुद्ध बन्न नसक्ने जिकिर गर्दै अहिलेको त्यागले भविष्यमा अझै राम्रो स्थान दिलाउन सहयोग गर्ने जिकिर गरे।

मानव जीवनको सुरुआतमा खराबी भए पनि अन्तिममा शान्तिमार्गमा लाग्नुपर्ने बुद्धको शिक्षा अहिले पनि उत्तिकै अपरिहार्य रहेको उनको भनाइ छ। साथै गृहमन्त्री खाणले शताब्दी पुरुष सत्यमोहन जोशीको आजीवन रेखदेख, औषधोपचार सरकारले गर्ने बताए।

‘उचित रेखदेखका लागि सरकारले बजेट व्यवस्थापन गरेर उहाँको जीवन सहज बनाउने निर्णय गरिएको छ’, उनले भने। कार्यक्रममा लुम्बिनी प्रदेशका ग्रामीण, सहरी विकास एवम् पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीयस्थलको प्रवर्द्धनमा सरकार लागेको बताए।

यसका साथै प्रदेशमा रहेका विभिन्न धार्मिकस्थलको विकास र यसको प्रवर्द्धनमा प्रदेश सरकारले लगानी गरिरहेको उनको भनाइ थियो।

लुम्बिनी प्रदेशका ग्रामीण, सहरी विकास एवम् पर्यटन मन्त्रालयको १५ लाख, सिद्धार्थनगर नगरपालिकाको पाँच लाख र अन्य दाताबाट गरी ३० लाखभन्दा बढीको लागतमा भैरहवामा रहेको शान्ति बुद्ध गुम्बामा छात्रावास निर्माण भएको हो। गुम्बामा अहिले ३५ विद्यार्थी, आनी एवम् लामा गुरु आठजना रहेको गुम्बाका अध्यक्ष आसबहादुर गुरुङले जानकारी दिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.