Advertisement

नेपाल–भारत परराष्ट्र सचिव वार्ता : सीमा समस्याबारे द्विपक्षीय संयन्त्रमा छलफल गर्ने

0 88

Advertisement

२९ भदौ, काठमाडौं । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठकमा दुई देशबीच बाँकी रहेका सीमाका कामलाई द्विपक्षीय संयन्त्रमार्फत टुंग्याउने विषयमा छलफल भएको छ ।

भारतको नयाँ दिल्लीमा मंगलबार सम्पन्न दुई देशका परराष्ट्र सचिवहरूको बैठकले उक्त निर्णय गरेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

‘बैठकमा उहाँहरूबीच सीमाका विषयमा छलफल भयो । उहाँहरूले द्विपक्षीय संयन्त्रमार्फत सीमाका बाँकी काम पूरा गर्ने विषयमा विचार आदान–प्रदान गर्नुभयो’, नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा सीमाका बाँकी काम पूरा गर्ने भनिए पनि पछिल्लो समय चर्किएको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र तथा सुस्ताका विषयमा छलफल भएको वा नभएको विषयमा स्पष्ट पारिएको छैन ।

भारतीय विदेशसचिव विनयमोहन क्वात्राको निमन्त्रणमा परराष्ट्र सचिव भरतराज पौड्याल मंगलबारदेखि भारतको तीन दिने औपचारिक भ्रमणमा छन् । भ्रमणको पहिलो दिन नै दिल्लीस्थित हैदरावाद हाउसमा परराष्ट्र सचिवहरू र प्रतिनिधिमण्डल स्तरीय छुट्टाछुट्टै बैठक बसेको थियो ।

बैठकमा सीमा, कनेक्टिभिटी, पूर्वाधार विकास, व्यापार, संस्कृति, विद्युत सहकार्य र नागरिकस्तरको सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । बैठकमा अमलेखगञ्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन र भारतको मोतीहारीदेखि चितवनसम्म एलपी ग्यासको पाइपलाइन तीव्र रुपमा विस्तार गर्ने सहमति भएको छ ।

‘अमलेखगञ्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने र मोतीहारीदेखि चितवनसम्म एलपीजी पाइपलाइन निर्माण गर्ने कार्यलाई तीव्रता दिन दुवै पक्ष सहमत भएका छन्’, भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, दुवै पक्ष नागरिक–नागरिकबीचको सम्बन्ध सुदृढीकरणका लागि रामायण सर्किटको परियोजनालाई तीव्र रूपमा अगाडि बढाउन पनि सहमत भएका छन् ।

बैकठले प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा घोषणा गरिएका परियोजना तथा पहलहरूको समेत समीक्षा गरेको जनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला ऊर्जा क्षेत्रमा सहयोगसम्बन्धी संयुक्त ‘भिजन स्टेटमेन्टका’ आधारमा सहकार्य सुदृढ बनाउने सहमति भएको थियो ।

यस्तै कनेक्टिभिटी परियोजनाहरू जयनगर–बर्दिबास, कुर्था–बिजलपुरा खण्ड र जोगबनी–विराटनगरलगायत खण्डको सञ्चालनमा भइरहेको प्रगतिको समेत परराष्ट्र सचिवहरूबीचको बैठकमा समीक्षा भएको विज्ञप्तिमा जनाइएको छ ।

साथै, रासायनिक मल आपूर्ति, गहुँ, चिनी, धान र चामलको निर्यातमा प्रतिबन्ध हटाउने विषयमा पनि छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

बैकठमा नेपालले भारतीय कम्पनीलाई निर्माणका लागि दिएको पश्चिम सेती र सेती–६ परियोजनाका विषयमा भारतीय पक्षले चासो व्यक्त गरेको थियो । यससँगै नेपालले कोरोना महामारीमा गरेको सहयोगको प्रशंसा गर्दै लकडाउनमा पनि व्यापारको आपूर्ति खुला राखेकोमा भारतलाई धन्यवाद दिएको थियो ।

भारतीय विदेश सचिव क्वात्राले भ्रमणमा रहेका नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा रात्रीभोजको आयोजना गरेका थिए । परराष्ट्रसचिव पौड्यालले भारतीय विदेशमन्त्री एस. जयशंकरलाई नेपाल भ्रमणको निम्तो समेत दिएको दूतावासले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.